पोखरा । सेलवेजको २९औं शाखा बिहीबार उद्घाटन गरिएको छ । पोखराको शान्तिनगरमा स्थापना गरिएको शाखाको सेलवेज ग्रुपका अध्यक्ष सुशीलदेव प्रधानाङगले उद्घाटन गरे । सेलवेजको नयाँ शाखामा पहिलो दिन ग्राहकको आकर्षण देखिएकोे सेलवेज ग्रुपका गण्डकी प्रदेश मुख्य व्यवस्थापक दयाल गिरीले आर्थिक आवाजलाई जानकारी दिए ।
‘नयाँ शाखामा पहिलो दिन ग्राहकको अत्याधिक आकर्षण देखिएको छ,’ गिरीले भने, ‘आगामी दिनमा पनि यो आकर्षण निरन्तर कायम रहनेमा हामी विश्वस्त छौं ।’ शाखा शुभारम्भको अवसरमा ग्राहकको सुविधालाई ध्यानमा राख्दै १० प्रतिशत छुट प्रदान गरिएको गिरीले जानकारी दिए । ‘निःशुल्क होम डेलिभरीको सुविधा पनि उपलब्ध छ,’ उनले भने । नयाँ शोरुममा भुईं तलामा खाद्य तथा सौन्दर्य सामग्री, पहिलो तलामा इलेक्टोनिक्स तथा घरायसी प्रयोजनका सामग्री र दोस्रो तलामा आधुनिक फर्निचरका सामग्रीहरु राखिएका छन् ।
पोखरामा सेलवेजको छैटौं शाखा हो । यस अगाडि पोखराको चिप्लेढुंगा, लेकसाइड, बिरौटा, भद्रकाली र बगरबाट सेलवेजले सेवा प्रदान गर्दै आइरहेको छ । सेलवेजको नयाँ शोरुममा करिब ८ करोड रुपैयाँ लगानी भएको छ । नयाँ शाखाबाट खाद्य सामग्रीका सम्पूर्ण सामानसहित स्थानीय उपभोक्ता तथा लेकसाइड क्षेत्रका होटल तथा रेष्टुरेन्टका लागि आवश्यक पर्ने सामग्रीहरु सुपथ मूल्यमा बिक्री वितरण सुरु भएको छ।

सन् १९९३ मा पोखराको चिप्लेढुंगाबाट खाद्य पसलका रुपमा व्यावसायिक यात्रा सुरुवात गरेको सेलवेजले अहिले पोखरा र काठमाडौंका विभिन्न ठाउँमा आधुनिक सुपरमार्केटहरुबाट सेवा प्रदान गरिरहेको छ । यो ग्रुपले सेलवेज र सेल्सबेरी नामबाट उपभोक्ता तथा ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।
सन् २००४ बाट काठमाडौं प्रवेश गरेको सेलवेज सन् २०१४ बाट सेल्सबेरी नामबाट पनि सञ्चालनमा आएको हो । यी दुई कम्पनी सिस्टर कम्पनीका रुपमा सञ्चालनमा छन् । काठमाडौंमा सातदोबोटो, सीतापाइला, महाराजगन्ज, चक्रपथ, झम्सीखेल, बत्तिसपुतली, इमाडोल, कोटेश्वर, लोकन्थली, नयाँबस्ती, पेप्सीकोला, मुलपानी, मैजुबहाल, ककनी, सुकेधारा, हात्तीगौंडा, धापासी, पुरानोबानेश्वर, बनेपा, बालुवाटार, भक्तपुर, भैसेपाटीबाट सेवा प्रदान हुँदै आइरहेको छ । यो समूहले सन् २०७९ बाट काठमाडौंको महाराजगञ्जमा अन्तर्राष्ट्रियस्तरको सुविधासम्पन्न मल सञ्चालनको तयारी गरिरहेको छ । पोखराको लेखनाथमा पनि शाखा विस्तारको तयारी छ ।




Comments are closed.