माझी बस्ती नमूना गाउँ: दैनिकी फेरिने आश

तारानाथ आचार्य, बलेवा । कहिले कालिगण्डकी किनारमा माछाको खोजी त कहिले मजदूरीका लागि भौँतारिने गुमा माझीले शुक्रबार आफ्नै आँगनमा बाख्राको पाठी प्राप्त गरिन् ।

माझी पोशाकमा सजिएकी उनीको पोशाक र अनुहारमा चमक थियो । गण्डकी प्रदेश पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्माले उन्नत जातको बाख्राको पाठी बाँधेको दाम्लो गुमाको हातमा थमाउँदा उनी हर्षविभोर थिइन् । सबै चाँजोपाँजो मिलाएको थियो ‘लायन्स क्लव डिस्टिक ३२५ ‘बि वन’ले ।

माछाको खोजी र मजदूरी गर्दाका जोखिम छलेर बाख्रापालन गर्ने गुमाको सोच छ । आम्दानीको स्रोत परिवर्तन गर्न पाउँदा उनी दङ्ग छिन् । अब उनको घरमा मात्रै होइन बागलुङ नगरपालिका–१ कालिगण्डकी किनारमा रहेको माझी समुदाय सबै घरमा बाख्राका पाठी हुर्किनेछन् । बगाल बढ्ने छ, बागलुङ बजारले माझी बस्तीमा हुर्किएका खसिबोकाको स्वाद पाउने छ ।

footwear zone

कालिगण्डकी किनारका माझी सबैको पुख्र्यौली पेशा कालिगण्डकीको माछा मार्ने, बालुवामा सुन चाल्ने र मजदूरी गर्ने हो । यहाँका ती समुदाय अव उत्पादनसँग जोडिने छन् । सत्र परिवार माझी कसैले मौरी पाल्ने त कसैले बाख्रा पाल्ने सोंच बनाएका छन् । कुखुरा पाल्ने र तरकारी खेतीमा समेत माझी समुदाय लागेको स्थानीय कृष्ण माझीले जानकारी दिए ।

सीप सिकेकालाई सिलाइकटाइको व्यवस्था हुनेछ । “लायन्सले नमूना गाउँ घोषणा गरेर सबै उद्यमका लागि सामग्री दिएको छ”, उनले भने, “यो हाम्रो समुदायका लागि सुखद सन्देश हो ।”

लायन्स क्लब डिस्टिक ३२५ ‘बि वन’ले देशभरिका १४ गाउँलाई नमूना गाउँ घोषणा गर्दा यहाँको माझी बस्ती छनोट भएको थियो । उद्यम गाउँ बनाउने गरी माझी बस्तीको मागअनुसारका सामग्री, उपकरण र बीउ पूँजी उपलब्ध गराएको ‘माझी बस्ती नमूना गाउँ’ कार्यक्रमका संयोजक कुलचन्द्र शर्माले बताए । “अब माझीको संस्कृति र उत्पादनले बजार लिन्छ, यहाँ घरबास बन्छ, पर्यटकीय गाउँ बनाउँछौँ”, शर्माले भने, “यो सुरुआत हो, नमूना गाउँ कार्यक्रमलाई स्थानीय र प्रदेश सरकारले पनि सहयोग गर्नेछन् ।”

नमूना गाउँको गण्डकी प्रदेश सरकारका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्माले उद्घाटन गरे । “उद्यम गर्न इच्छा गर्नेलाई हामी सीप सिकाउँछौँ, तालिम दिन्छौँ, यो मेरो वाचा भयो”, उनले भने, “बस्तीको योजना बनाउँदा लामो समय टिक्ने योजना बनाउनुपर्छ ।”

उनले प्रदेश सरकारसँग स्रोतको अभाव भएकाले सोचेको जस्तो काम गर्न नसकेको बताए । “हिजो प्रतिपक्षमा रहँदा मैले नै अलोचना गरेको याद छ, योजनाअनुसार काम भएनन् भनेर”, उनले भने, “हामी विकास गर्ने सोँच बनाउँछौँ, ब्युरोक्रेसीको रुल फलो गर्दा कतिपय हामीले भनेका कामका लागि स्रोत नै नपुग्ने रहेछ ।”

सबै परिवारका लागि मौरीका घार, दश परिवारका लागि बाख्राका पाठी, खुकुराका चल्ला, चार वटा सिलाइकटाइ मेसिन, पानी छान्ने फिल्टर, सरसफाइका सामग्री, बालबालिकाका लागि विद्यालय पोशाक, तरकारीखेतीका लागि यान्त्रिक हलो, सामूहिक कार्यका लागि भाँडावर्तन ‘लायन्स क्लव डिस्टिक ३२५ ‘बि वन’ले उपलब्ध गराएको छ ।

आवश्यकताअनुसारका पूर्वाधार र उपकरण तथा सीप सहयोग गर्ने ‘लायन्स क्लब डिस्टिक ३२५ ‘बि वन’का अध्यक्ष विश्वेश्वर रेग्मीले बताए । पोखरा बागलुङ सडक निर्माणका क्रममा २०४८ सालमा विस्थापित भएका यहाँका माझी समुदायले तीन वर्ष पहिले घर पाएका थिए । बागलुङ नगरपालिकाले एकीकृत बस्ती निर्माण गरेर उनीहरुलाई घर उपलब्ध गराएको थियो । नगर प्रमुख जनकराज पौडेलले माझी समुदायको आर्थिक विकासका लागि नगरले पहल गर्ने जानकारी दिए ।

ती समुदायले नमूना गाउँ घोषणा भएपछि दैनिकी बदलिने आशा राखेका छन् । उनीहरुले खोलामा माछा मार्ने पुख्र्यौली पेशालाई विकसित गर्न माछा पोखरी निर्माण गरिदिन सरोकार वालासँग मागसमेत गर्ने गरेका छन् ।

You might also like

Comments are closed.