औद्योगिक विकासमा पूर्वाग्रह नराखौं : पूर्वअर्थमन्त्री पौडेल

रुपन्देही । नेकपा (एमाले) का नेता विष्णुप्रसाद पौडेलले आर्थिक तथा औद्योगिक विकासमा पूर्वाग्रह नराख्न आग्रह गरेका छन् । रुपन्देही उद्योग सङ्घको ४३औँ वार्षिक साधारणसभा तथा २२औँ अधिवेशनको आज बुटवलमा उद्घाटन गर्दै पौडेलले विकासमा पूर्वाग्रह राख्दा नकारात्मक सन्देश जाने भएकाले त्यस्ता खालका गतिविधि नगर्न अनुरोध गरे ।

पूर्वअर्थमन्त्रीसमेत रहेका पौडेलले निजी क्षेत्रलाई राष्ट्र निर्माणमा सहभागी गराउने र आत्मनिर्भर अर्थतन्त्रको जग बसाल्नका लागि राज्यले निर्वाह गर्नुपर्ने भूमिकामा कमी आउन नहुने धारणा राखे । पौडेलले आफू अर्थमन्त्री रहँदा ल्याएको बजेटमा निजी क्षेत्रका माग र आवश्यकतालाई समावेश गरेको जनाउँदै त्यसलाई वर्तमान गठबन्धन सरकारले तोडमोड गर्ने प्रयास गरेको भन्दै सच्याउन सुझाव दिए ।

बजेटमार्फत उद्योगका क्षेत्रमा समावेश गरिएका सकारात्मक योजनामा सरकारको मौनताले औद्योगिक क्षेत्रको विकासमा बाधा उत्पन्न हुनेउनले बताए । “उद्योगको विकासबिना देशको आर्थिक विकास सम्भव छैन, सोही मान्यताका साथ बजेटमा निजी क्षेत्रको भावनालाई समेटेर बजेट आएको थियो, तर अहिले केही कटौती गर्ने काम भएको छ, त्यो गलत हो, विकासमा कोही बाधक बन्न हुँदैन”, पौडेलले भने ।

footwear zone

पौडेलले यस क्षेत्रमा अगाडि बढाइएका विकासका योजना तथा कार्यक्रम जुन उद्देश्यले अगाडि बढाइएको र त्यसमा कसैले हेल्चक्रयाइँ नगर्न चेतावनी दिए । उनले भने, “पुराना योजना र कार्यक्रममा कैची चलाउने कोसिस भएको सुनेको छु, त्यो काम नहोस्, नीति–नियम बनाएर काम अगाडि बढाउनेतर्फ लागियोस् ।”

सम्बोधनका क्रममा निर्माणको अन्तिमचरण पुगेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको दोस्रो चरणको काम अगाडि बढाउने विषयमा सरकारले आनाकानी गरेको प्रति सचेत गराउँदै यस क्षेत्रको आर्थिक विकासका लागि उक्त काम रोकिन नहुने उनले धारणा राखे ।

उनले मोतिपुर औद्योगिक क्षेत्रको काम जुन लक्ष्य र उद्देश्यबाट अगाडि बढाइएको हो त्यसअनुसार नभए त्यसमा उद्योगीले नै पहलकदमी लिनुपर्ने बताए । कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका पूर्वउद्योगमन्त्री तथा प्रदेश सदस्य लीला गिरीले उद्योगको संरक्षण र विकासका लागि आफ्नो पालामा धेरै राहत तथा सहुलियत प्याकेजका कार्यक्रम अगाडि सारेको उल्लेख गर्दै त्यसअनुसार काम हुन सकेमा औद्योगिक विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

लुम्बिनी प्रदेशका पूर्वस्वास्थ्यमन्त्री तथा प्रदेश सदस्य भोजप्रसाद श्रेष्ठले मुलुकको औद्योगिक विकास र आत्मनिभर अर्थतन्त्रको विकासमा राजनीतिक द्वन्द्वका कारण बाटो बिराउने अवस्था आएको हुदाँ त्यसलाई रोक्न उद्योगीले खबरदारी गर्ने बेला आएको बताए । उद्योगको विकासलाई व्यवस्थित बनाउने दायित्व सबैको भएको हुँदा त्यसमा राजनीति नगर्न उनले आग्रह गरे ।

नेपाल उद्योग परिसङ्घका केन्द्रीय उपाध्यक्ष वीरेन्द्रनाथ पाण्डेले निजी क्षेत्रको विकासका लागि सरकारले लगानीमैत्री र उद्योग–व्यवसाय गर्ने वातावरण बनाउनुपर्ने कुरामा जोड दिए । लुम्बिनी प्रदेश उद्योग परिसङ्घका अध्यक्ष एवं सङ्घका पूर्वअध्यक्ष परिषद्का अध्यक्ष एजाज आलमले उद्योगमुखी अर्थतन्त्र विकासका लागि औद्योगीकरणको विकास गर्दै आयातमुखी अर्थतन्त्रको प्रतिस्थापन गर्दै लानुपर्ने कुरामा जोड दिए ।

सङ्घका अध्यक्ष बाबुराम बोहोराले कोभिड–१९ ले उद्योग–व्यवसायमा आएको समस्या, व्यापार व्यवसायको मन्दी र आर्थिक गतिविधिमा देखिएका गतिरोधलाई समाधान गर्ने काममा राज्यको पर्याप्त ध्यान नपुगेको बताए । सङ्घको आगामी दुई वर्षका लागि माधवप्रसाद पौडेलको नेतृत्वमा नयाँ समिति निर्विरोध निर्वाचित भएको छ ।

 

You might also like

Comments are closed.