शिविरमार्फत सामाजिक सुरक्षाभत्ता

खोटाङ । साकेला गाउँपालिकाले शिविर सञ्चालन गरेर गाउँपालिकाभित्रका सबै लक्षित वर्गलाई सामाजिक सुरक्षाभत्ता उपलब्ध गराएको छ । नेपाल एसबीआइ बैंक र गाउँपालिकाले सञ्चालन गरेको शिविरमा ४७२ लक्षित वर्गलाई उनीहरुको वडामै पुगेर सामाजिक सुरक्षाभत्ता वितरण गरेको हो ।

गत असोज १७ गतेबाट सुरु गरिएको शिवर आइतबार सम्पन्न भएको गाउँपालिकाका सामाजिक सुरक्षा शाखा प्रमुख डिएम चाम्लिङले बताए । गाउँपालिकाले वडा नं १ च्यानडाँडामा सञ्चालन गरेको शिविरमा १४५, वडा नं २ रतन्छामा सञ्चालन गरेको शिविरमा १२५, वडा नं ३ खिदिमामा सञ्चालन गरेको शिविरमा ४४, वडा नं ४ मात्तिममा सञ्चालन गरेको शिविरमा ४४ र वडा नं ५ मात्तिम बिर्तामा सञ्चालन गरेको शिविरमा ८३ जनाले भत्ता बुझेका छन् ।

कर्मचारीमार्फत सामाजिक सुरक्षाभत्ता वितरण गर्दा ठूलो मात्रामा आर्थिक अनियमितता भएकाले त्यसलाई रोक्न बैंकिङ प्रणाली लागू गरिएको गाउँपालिका प्रमुख अर्जुनकुमार खड्का ‘झङ्कार’ले बताए । “बैंकमार्फत वितरण गर्दा यसअघि वितरण गरिँदै आइएको रकममा आधा घटेको छ”, उनले भने, “बैंकमा आएर भत्ता बुझ्न लक्षित वर्गलाई समस्या हुने भएकाले उनीहरुको सहजताका लागि उनीहरुको टोलमै शिविर सञ्चालन गरेर वितरण गरिएको हो ।”

footwear zone

साकेला गाउँपालिकामा यसअघि सामाजिक सुरक्षाभत्ता वितरणमा आर्थिक अनियमितता भएको पाइएको थियो । सामाजिक सुरक्षा भत्तालाई बैंकिङ प्रणालीमा लैजानुअघि वडा सचिवले घरघरमा वा कम्तीमा टोल–टोलमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्दैआएका थिए । साकेला गाउँपालिकामा भएको सामाजिक सुरक्षा भत्ता वितरणसम्बन्धी अनियमितताका विषयमा गृहमन्त्रालयले समेत चासो व्यक्त गरेको थियो ।

दश स्थानीय तह रहेको जिल्लाका अन्य स्थानीय तहले पनि बैंकमार्फत सामाजिक सुरक्षाभत्ता वितरण सुरु गरे पनि गाउँमै पुगेर भने वितरण गरेको छैन । गाउँ तथा टोलमा लगेर भत्ता वितरण नगर्दा अशक्त वृद्धवृद्धा र पूर्ण अपाङ्गता भएका व्यक्तिलाई समस्या देखिएको छ ।

You might also like

Comments are closed.