नेपाल एअरलाइन्सका कर्मचारीको आन्दोलन स्थगित

काठमाडौं । नेपाल वायुसेवा निगमका महाप्रबन्धक डिनप्रकाश पौडेलको विषयलाई लिएर आन्दोलन गरिरहेका कर्मचारीले सोमबारदेखि आफ्ना सबै आन्दोलन स्थगित गरेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेसँग मन्त्रालयमा भएको छलफलपछि कर्मचारीहरूले आफ्ना आन्दोलनका कार्यक्रम स्थगित भएको जानकारी दिएका हुन् ।

मन्त्री आले तथा नेपाल वायुसेवा निगमका कर्मचारीबीच नेपाल वायु सेवा निगमका महाप्रबन्धक पौडेलका विषयमा उठेका समस्या कानूनसम्मत तरिकाले समाधान गर्ने सहमतिपश्चात आन्दोलनका सबै कार्यक्रम स्थगित भएको नेपाल राष्ट्रिय कर्मचारी युनियनका अध्यक्ष सुवास डाँगीले बताए । उनले भने, “महाप्रबन्धक र हामी कर्मचारीबीच समस्या समाधान गरिने सहमति भएको छ, मन्त्रीले हामीलाई १५ दिनको समय दिनुभएकाले हामीले आफ्ना आन्दोलनका कार्यक्रमलाई स्थगित गरेका छौँ ।”

नेपाल वायुसेवा निगमका महाप्रबन्धक पौडेलका कारण वायुसेवा निगम घाटामा गइरहेको आरोपसहित कर्मचारीले १०४ दिनदेखि आन्दोलन गर्दै आएका थिए । यसै क्रममा आन्दोलनरत कर्मचारीका विभिन्न सङ्घ÷सङ्गठनले मन्त्री आलेलाई महाप्रबन्धक पौडेलको बर्खास्तीका लागि भन्दै ज्ञापनपत्र बुझाएका छन् । महाप्रबन्धक पौडेललाई पुनः नेपाल वायुसेवा निगममा नपठाउन कर्मचारीको माग रहेको छ ।

footwear zone

कर्मचारीले बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै मन्त्री आलेले नेपाल वायुसेवा निगमको स्तरोन्नति तथा वृत्ति विकासका लागि आफू सदैव लागि पर्ने बताए । आलेले कर्मचारीका समस्या तथा वायुसेवा निगममा भए गरेका विसङ्गति तथा बेथितिलाई अन्त्य गरिने आश्वासन दिएका थिए । उनिसँगको सहमतिपश्चात कर्मचारीले आफूले लगाएको ताला पनि खोलिएको जानकारी दिएका छन् ।

You might also like

Comments are closed.