२ करोड ६० लाख सहयोग भित्रियो

म्याग्दी । प्रवासी म्याग्देलीबाट सामाजिक कार्यका लागि २ करोड ६० लाख रुपैयाँभन्दा बढी सहयोग भित्रिएको छ । रोजगार, व्यापार, व्यवसाय र अध्ययनको सिलसिलामा विदेशिएकाले म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) मार्फत पछिल्लो दुई वर्षका अवधिमा सो सहयोग जन्मथलोमा भित्र्याएका हुन् । मोनाको मङ्गलबारदेखि बेनीमा सुरु भएको चौथो महाधिवेशनमा अध्यक्ष ओमनारायण जुग्जालीले सन् २०१९ देखि २०२१ को हालसम्म २ करोड ६० लाखभन्दा बढी नगद तथा जिन्सी सहयोग भित्रिएको जानकारी दिए ।

“२८ देशमा पुगेका जिल्लावासीले पहिरोपीडितको घर पुनःनिर्माण, कोरोना महामारी नियन्त्रणका लागि स्वास्थ्य सामग्री र उपकरण खरिद गरेर उपलब्ध गराएका छौँ”, उनले भने, “प्रवासमा समस्यामा परेका म्याग्देलीको उद्धारका साथै आपत्कालीन कोष स्थापना गरेका छौं ।” मोनाले दुई करोड जुटाएर विसं २०७७ को बर्खामा पहिरोले भत्काएका ४० घर पुनःनिर्माण गरेर गत असारमा सम्बन्धित पालिकामार्फत पीडितलाई हस्तान्तरण गरेको थियो । धौलागिरिमा १४, मालिकामा १०, अन्नपूर्ण, मङ्गला, रघुगङ्गा गाउँपालिका र बेनी नगरपालिकामा चार÷चार तीनकोठे, शौचालय र खानेपानी सुविधासहितको घर बनाइदिएका हुन् ।

तत्कालीन अवस्थामा पहिरो प्रभावितलाई २० बोरा चामल, १५०/१५० थान पाल र कम्बल वितरण गरेको थियो । बीस लाख २९ हजार ५११ जुटाएर मालिका गाउँपालिका–६ दिच्यामका राजकुमार निउरेलाई साउदीको जेलमुक्त बनाई जहाज भाडाको समेत व्यवस्था गरी घर पठाएको मोनाले विदेशमा समस्यामा परेका म्याग्देलीलाई सघाउन स्थापना गरेको ‘आपत्कालीन राहत कोष’ मा हालसम्म १६ लाख ६६ हजार २०८ रुपैयाँ सङ्कलन भएको महासचिव विक्रम कार्कीले जानकारी दिए ।

footwear zone

कतारमा निधन भएका मालिका–२ रुमका निरप्रसाद कामी, मङ्गल दर्जी र नेदरल्याण्डमा दिवङ्गत भएकी लक्ष्मी भट्टचनका परिवारलाई रु पचास÷पचास हजारका दरले सहयोग गरेको छ । दक्षिण कोरियामा ज्यान गुमाएका तीन म्याग्देलीको दाहसंस्कारका लागि रु पचास हजार र साउदीमा रोजगारी गुमाएर समस्यामा परेका पूर्णचन्द्र जुग्जालीलाई ५६ हजार ३०४ सहयोग गरेको छ ।

महामारी नियन्त्रणका लागि स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र पत्रकारका लागि ७० थान थर्मल गन र एक हजार थान केएफ ९४ मास्क वितरण गरेको मोनाले रु १४ लाख ७९ हजार २७० जुटाएर कोरोना सङ्क्रमितको उपचारमा प्रयोग हुने २२ थान अक्सिजन कन्टनटे«टर उपलब्ध गराएको थियो । हिंसा प्रभावित महिला तथा बालबालिकालाई सघाउन रु एक करोडको अक्षयकोष स्थापना गरेको मोनाको अघिल्लो कार्यसमितिले बेनी नगरपालिका र म्याग्दी उद्योग वाणिज्य सङ्घको लागत साझेदारीमा रु ८० लाख लगानीमा बेनीदेखि पर्यटकीयस्थल लभ्लीहिल जोड्ने पदमार्ग बनाएका र ४० वटा शैक्षिक संस्थामा विद्युतीय पुस्तकालय स्थापना गरेका थिए ।

जिल्लाका पर्यटकीयस्थलमा होटल, जलविद्युत् आयोजना, फलफूल र जडीबुटी खेती तथा पशुपालन व्यवसायमा प्रवासीको लगानी भित्र्याउन ‘मोना इन्भेष्टमेन्ट कम्पनी’ स्थापना गर्ने तयारी भएको मोनाका उपाध्यक्ष मिम पुर्जाले जानकारी दिए । प्रवासी म्याग्देलीको अगुवाइमा मालिका गाउँपालिकामा २५ मेगावाट क्षमताको दरवाङ म्याग्दीखोला जलविद्युत् आयोजना निर्माणाधीन छ । रघुगङ्गा गाउँपालिकाको चिमखोलामा पाँच मेगावाट क्षमताको मोना बगरखोला जलविद्युत् आयोजनाको विद्युत् खरिद बिक्री सम्झौताको प्रक्रियामा छ ।

You might also like

Comments are closed.