बाढी पहिरोबाट निधन हुनेका परिवारलाई २ लाख रुपैयाँ राहत

काठमाडौं । सरकारले बाढी पहिरोबाट निधन हुनेका परिवारलाई  दुई लाख राहत दिने भएको छ । मन्त्रिपरिषद्को बुधबारको बैठकले एकै परिवारका दुई सदस्य निधन भएमा तीन लाख रुपैयाा राहतस्वरुप दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

यसैगरी बाढी पहिरोका कारण आवास गुमाउने पाँच जनासम्मको परिवारलाई तत्काल १५ हजार दिइने भएको छ । परिवारमा सोभन्दा बढी सदस्य भएमा २० हजार दिइने छ । यसैगरी विपद्मा परी घाइते भएकालाई सरकारले निःशुल्क उपचारको व्यवस्था मिलाउने निर्णय गरिएको उनले बताए । पछिल्लो समय एक्कासी मौसम परिवर्तन भई गएको बाढी पहिरोका कारण विभिन्न क्षेत्रमा भएको क्षतिका विवरण सङ्कलन गर्न सम्बन्धित मन्त्रालयलाई निर्देशन दिने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ ।

विषयगत मन्त्रालयलाई क्षतिको विवरण सङ्कलन गरी तत्काल प्रतिवेदन पेश गर्न बैठकले निर्देशन दिएको छ । सङ्घ, प्रदेश र स्थानीय सरकारका विभिन्न निकायलाई राहत र उद्धारमा जुट्न सरकारले अनुरोध गरेको छ । विपद्मा स्वतःस्फूर्त खटेका सबैलाई सरकारले धन्यवाद ज्ञापन गरेको छ ।

footwear zone

यसैबीच सरकारको १०० दिनका उपलब्धिका सन्दर्भमा राखेको जिज्ञासामा गृहमन्त्री बालकृष्ण खाँणले राज्य कब्जाको शैलीमा पूर्व सरकारले चालेका कदम रोक्दै संविधान रक्षा गर्नु नै वर्तमान सरकारको मुख्य उपलब्धि भएको बताए ।

“देशलाई एकदलीय कब्जाबाट मुक्त गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा फर्काउनु नै सरकारको १०० दिनको मुख्य उपलब्धि हो, प्राकृतिक विपद्को सामनासँगै संविधानको रक्षा गर्न सरकार सफल भएको छ”, उनले भने ।

कोरोना महामारीलाई नियन्त्रण गर्न सरकारले खोप उपलब्ध गराएर महत्वपूर्ण काम गरेको मन्त्री खाँणले सुनाए । यो सरकार गठन भएपछि अन्तर्राष्ट्रिय जगत्बाट खोप आउन थालेकाले अग्रभागमा काम गर्ने प्रायः सबैजसो नागरिकलाई खोपको व्यवस्था हुन सकेको छ ।

बाढी पहिरोबाट पीडित भएकालाई उद्धार एवं राहतका लागि नेपाली सेनाको हेलिकप्टर मात्रले नपुगे निजी क्षेत्रको पनि सेवा दिइने गरी तयारी गरिएको जानकारी पनि मन्त्री खाँणले दिए । बाढी, डुबानलगायत समस्याबाट उद्धार गरिएकालाई हाल सरकारी विद्यालयमा राखिएको छ । घर भत्काएकाको त्यही स्थानमा निर्माण गर्न जग्गा नभए ३ लाख रुपैयाँसम्म उपलब्ध गराउने निर्णय पनि सरकारले गरेको उनले सुनाए ।

कृषि क्षेत्रमा भएको क्षतिको वास्तविक तथ्याङ्क लिएर किसानलाई राहत र क्षतिपूर्ति दिने गरी सरकारले तयारी गरेको छ । मानवीय भावनाका आधारमा पीडितको उद्धार र राहतमा जुट्न पनि सरकारले आह्वान गरेको छ ।

You might also like

Comments are closed.