बाढी प्रभावितलाई लक्षित गरी ३ करोड रुपैयाँको खाद्य बैंक स्थापना

गोदावरी । कैलालीको कैलारी गाउँपालिकाले बाढी प्रभावितलाई लक्षित गरेर खाद्य बैंक स्थापना गर्ने भएको छ । गाउँपालिकाभित्र बाढीका कारण ठूलोमात्रामा धानबालीमा क्षति भएपछि भोकमरीको समस्या आउन नदिन खाद्य बैंक स्थापना गर्ने भएको हो ।

गाउँपालिका अध्यक्ष लाजुराम चौधरीको अध्यक्षतामा बुधबार बसेको सर्वदलीय बैठकले तत्कालका लागि रु तीन करोडको खाद्य बैंक स्थापनाका लागि कोष स्थापना गर्नेलगायत निर्णय गरेको हो । गाउँपालिकाका अध्यक्ष चौधरीले केही विकास बजेटलाई कटौती गरी तत्कालका लागि ३ करोडको रकम कोषमा जम्मा गर्ने निर्णय गरिएको बताए ।

बाढीका कारण किसानले ठूलो क्षति बेहोर्नु परेकाले भोकमरी अवस्था आउन नदिन सो खाद्य बैंकमार्फत खाद्यान्न आवश्यक परेका परिवारजनलाई खाद्यान्न उपलब्ध गराउने उनले बताए । बैठकले केही विकास बजेटको रकम खाद्य बैंक स्थापनाका लागि बनाइने कोषमा जम्मा गर्ने निर्णय गरेको उनले बताए ।

footwear zone

गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, शिक्षकले पनि आफ्नो एक दिनको पारिश्रमिक त्यही कोषमा जम्मा गर्ने निर्णय भएको बताउँदै चौधरीले भने, “सामाजिक सङ्घसंस्थालाई समेत सक्दो सहयोग गर्न अपिल गरेका छौँ ।” बैठकले चालू आर्थिक वर्षमा हिउँदे बालीमा शतप्रतिशत अनुदान दिने निर्णयसमेत गरेको जनाइएको छ । बाढी प्रभावितलाई राहतका लागि प्रदेश र सङ्घीय सरकारलाई राहत प्याकेज ल्याउन आग्रह गरिएको छ ।

You might also like

Comments are closed.