ड्रागन फ्रुटको व्यावसायिक खेती

गलकोट । पछिल्लो समय अत्यधिक बजार माग भएको ड्रागन फ्रुटको बागलुङमा समेत व्यावसायिक खेती गर्न थालिएको छ । बागलुङको काठेखोला गाउँपालिका–१ पाला करिनाका प्रतिमान थापाले वैदेशिक रोजगार पछि गाउँको बाँझो जग्गा सदुपयोग गरी ड्रागन फ्रुटको व्यावसायिक खेती थालेका छन् ।

कोरियामा चार वर्ष बिताएका थापाले अहिले गाउँ फर्केर व्यावसायिक रुपमा ड्रागन फ्रुट खेतीमा लागेका हुन् । थापाले आफ्नै गाउँठाउँमै श्रम गरेर व्यवसायी बन्ने उद्देश्यले अहिले १५ रोपनी जग्गामा फलफूल खेती सुरु गर्नुभएको छ । उहाँले रु २० लाख लगानीमा केही बाँझो र केही कोदो र मकै उत्पादन हुने जग्गामा त्यसको बिरुवा रोपेका छन् । बिरुवा हलहली बढ्दै गएपछि थापा उत्साहित भएका छन् । बिरुवा रहर लाग्दो रुप हुर्किएपछि उनलाई काम गर्न थप ऊर्जासमेत मिलेको छ ।

विदेशमा गर्ने दुःख गाउँमै गरे पनि राम्रो कमाइ गर्न सकिने भन्दै गाउँ आएर थापाले यो खेती सुरु गरेको बताउछन् । सुरुमा चितवनबाट एक हजार ५०० बिरुवा ल्याएर खेती सुरु गरेको उनको भनाइ छ । नेपालमा व्यावसायिक रुपमा कृषि गर्न सके विदेश जान नपर्ने उनि बताउछन् । “सुरुमा लहलैमा लागेर विदेश गएँ, वास्तवमा विदेशमा गर्ने दुःख यहीँ गर्ने हो भने हामीले राम्रो कमाइ गर्न सकिन्छ”, थापाले भने, “गाउँमा आफ्नो जग्गा बाँझै राखेर विदेशी भूमिमा पसिना बगाउनु गलत रैछ, अहिले बल्ल चेत आयो, अब यहीँ व्यवसायी बन्ने लक्ष्य छ ।”

footwear zone

थापाले विदेश जानुभन्दा अगाडि तीन वर्ष शिक्षण पेसा गरेका थिए भने सात वर्ष लघुवित्तमा समेत काम गरेका थिए । “आफ्नै देशमा केही गर्छु भन्ने सोच भएर नेपाल फर्किएँ तर यही गर्छु भन्ने मनमा थिएन्, नेपालमा केही नौलो गर्न मन लाग्यो, युट्युबमा हेरे अहिलेसम्म नेपालमा सोचे जति ड्रागनको व्यावसायिक खेती भएको छैन र यस फलको बजारमा माग बढी रहेको थाहा पाएर आफ्नै गाउँमा खेती गर्न सुरु गरेको हुँ”, थापा भन्छन् ।

थापाले कोरियामा चार वर्ष कमाएको पैसा यो खेतीमा लगानी गरेको बताउछन् । थापालाई उनकी श्रीमती गोरीको पनि साथ मिलेको छ । थापाले बारीमा लगाएका ड्रागन अहिले ५ महिनाका भए । अबको १५ महिनापछि यी विरुवाले फल दिन सुरु गर्ने उनि बताँउछन् । थापाले बिरुवा लगाउने समयमा माटोको परीक्षण गरेका थिए । यो खेती एक हजार ५०० उचाइभन्दा तल राम्रो हुने गर्दछ ।

थापा यसको उत्पादन भएपछि बजारको अभाव नहुनेमा ढुक्क छन् । अहिले यसको बजार मूल्य प्रतिगोटा २०० देखि ३०० पर्ने थापाको भनाइ छ । यो फल खेतीका लागि अन्य बालीलाई जस्तो धेरै मेहनत गर्न नपर्ने र सुरुमा सिमेन्टको पोल बनाएर बिरुवा लगाई दिए राम्रोसँग सर्ने थापा बताउछन् । थापाले आगामी दिनमा ड्रागनसँगै अकबरे खुर्सानी खेती गर्ने सोचमा छन् ।

You might also like

Comments are closed.