काठमाडौं । देशभर हवाई उडान सेवा सञ्चालन गरिरहेको यति एयरलायन्सले अब अन्तर्राष्ट्रिय उडान गर्ने भएको छ । नागरिक उड्डयन प्राधिकरणले यतिलाई अन्तर्राष्ट्रिय उडान अनुमति (एनओसी) दिएसँगै यतिले अन्तर्राष्ट्रिय उडान गर्न पाउने भएको हो ।
चार्टर्ड तथा ननसेड्युल उडानका लागि प्राधिकरणबाट बिहीबार यतिले अनुमति पाएसँगै कम्पनीले अन्तर्राष्ट्रिय उडानको तयारी गरेको प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए ।
एटिआर ७२ सिरिजको जहाजमार्फत दक्षिण एसिया तथा दक्षिण पूर्वी एसियाका देशहरुमा चार्टर्ड उडान गरिने बर्तौलाले बताए । ‘छिमेकी देश भारतसँगै श्रीलंका, भुटान, म्यानम्यार, बंगलादेश, थाइल्याण्ड लगायतका देशमा आवश्यकता अनुसार चार्टर्ड उडान गर्नेछौं,’ उनले भने, ‘आवश्यकता अनुसार प्यासेन्जर उडान र कार्गो उडान गर्नेछौं ।’

अन्तर्राष्ट्रिय उडानको अनुमति पाएसँगै यति एयरलाइन्सले एटिआर ७२ सिरिजका जहाजहरु थप्ने योजनासमेत बनाएको छ । निजी क्षेत्रबाट सञ्चालित हवाई सेवा कम्पनी यति एयरलायन्सले आन्तरिक उडानमा अग्रणी पहिचान बनाउन सफल छ ।




Comments are closed.