सुकेटारमा नेपाल वायु सेवा निगमको तीन उडान कटौती    

फुङ्लिङ । नेपाल वायु सेवा निगमले काठमाडौं–ताप्लेजुङको उडान कटौती गरेको छ । जिल्लाको सुकेटार विमानस्थलमा प्रत्येक साताको चार दिन नियमित हुने गरेको उडान निगमले कटौती गरेको हो । निगमले तीन उडान कटौती गरेको नेपाल वायुसेवा निगम सुकेटर स्टेशन इञ्चार्ज लोकन्द्र लिम्बूले बताए । उनले भने, “अब साताको एकदिन बुधबार मात्र उडान हुने निगमको केन्द्रीय कार्यालयबाट निर्देशन आएको छ ।” यसअघि साताको सोमबार, बुधबार, शुक्रबार र शनिबार गरी चार दिन उडान हुँदै आएको थियो ।

निगमले उडान कटौती गरेसँगै आइतबार र सोमबारको उडान नभएपछि टिकट काटेका करिब ७० जना यात्रु अलपत्र परेको ताप्लेजुङ वायुसेवा निगमको कार्यालयले जनाएको छ । जिल्लास्थित स्टेशन इञ्चार्ज लिम्बूले भने, “पहिलेको उडान सेड्युल (तालिका)अनुसार यात्रुलाई टिकट बिक्री गरियो, केन्द्रले उडान कटौती गरेसँगै जहाज नआएपछि यात्रु अलपत्र परेका हुन् ।” कतिपय जरुरी यात्रा गर्नुपर्ने यात्रुले टिकट फिर्ता गरेका र केहीले आउँदो उडान पर्खने भएको पनि उनले जानकारी दिए ।

यता यात्रुको चाप भइरहने जिल्लाको उडान कटौती गर्नाले धेरै यात्रु हवाई सुविधाबाट वञ्चित भएका छन् । ताप्लेजुङ पूर्वको पर्यटकीय जिल्ला भएकाले पनि अधिक यात्रु हुने गरेका छन् । काठमाडौं–ताप्लेजुङ मात्र नभई ताप्लेजुङ–विराटनगरमा उडान सञ्चालन गर्नुपर्ने माग भइरहेका बेला उडान कटौती गर्नु यात्रुलाई हवाई सेवाबाट वञ्चित गर्ने कार्य भएको जिल्लावासीले बताएका छन् ।

footwear zone

निगमको भाडा दर भने काठमाडौँ–ताप्लेजुङलाई प्रतिव्यक्ति रु सात हजार ३७० रहेको छ । सुकेटारमा नेपाल एयरलाइन्सबाहेक सीता एयरलाइन्सले हप्तामा दुई दिन काठमाडौं–ताप्लेजुङ र कुनै बेला ताप्लेजुङ–भद्रपुर उडान गर्ने गरेको छ ।

 

You might also like

Comments are closed.