नेपालसहित ४ देशको सहभागितामा कोलकातामा सुन्तला महोत्सव हुँदै

चन्द्रकला भण्डारी/जयगाउँ । नेपाल, भारत, बङ्गलादेश र भुटानको सहभागिता रहने हिमालय सुन्तला पर्यटन महोत्सव आगामी मङ्सिर २४, २५ र २६ गते पश्चिम बङ्गालको राजधानी कोलकातामा हुने भएको छ ।

एशोसिएशन फर कन्जरभेसन एन्ड टुरिजम नामक संस्थाले सन् २०१४ देखि महोत्सवको आयोजना गर्दै आएको छ । भुटानको सीमा नजिक पश्चिम बङ्गालको जल्दापारा नेसनल पार्कमा  भएको अन्तरदेशीय बैठकले महोत्सवको तिथि निर्धारण गरेको हो । प्रत्येक दुई वर्षमा हुँदै आएको पूर्वनिर्धारित सुन्तला महोत्सव विश्वव्यापी कोरोना महामारीका कारण सन् २०२० मा आयोजना हुन नसकेको आयोजक संस्था एशोसिएशन फर कन्जरभेसन एन्ड टुरिजमका अध्यक्ष राज बसुले बताए ।

उनका अनुसार  अन्तरदेशीय बैठकमा नेपाल र भारतका प्रतिनिधिको सहभागिता रहेको थियो । कोरोना महामारीका कारण बङ्गलादेश र भुटानले सीमा बन्द गरेका कारण ती देशका प्रतिनिधि बैठकमा आउन नपाएको बसुले जानकारी दिए । हिमालय क्षेत्रका नेपाल, भारत र भुटानमा फल्ने सुन्तला महोत्सवको विशेष आकर्षण हुने गरेको छ । ग्रामीण क्षेत्रमा उत्पादन हुने अग्र्यानिक जडीबुटी, फलफूल र हस्तकलाका सामग्रीको महोत्सवमा प्रचारप्रसार गरिँदै आएको उनले बताए ।

footwear zone

उक्त महोत्सवका लागि नेपाल सहआयोजक रहँदै आएको बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्ने एशोसिएशन फर कन्जरभेसन एन्ड टुरिजमका महासचिव अर्जुन कार्कीले बताए । बैठकमा महोत्सवले नेपाली सुन्तला र ग्रामीण पर्यटनको अन्तर्राष्ट्रिय प्रवद्र्धनमा महत्वपूर्ण सहयोग पु¥याउँदै आएको हुँदा आगामी मङ्सिरमा कोलकातामा हुने महोत्सवमा नेपालको तर्फबाट प्रदेश नं १ का पर्यटन व्यवसायी, सुन्तला कृषक र पत्रकारको सक्रिय सहभागिता रहने उनले बताए ।

“कोरोना महामारीले विश्वव्यापीरूपमा पर्यटन व्यवसायलाई धराशायी बनाएको बेला आयोजना हुन लागेको सुन्तला महोत्सवले नेपाली पर्यटनलाई पुनःजागृत गर्न मद्दत पुग्नेछ”, नेपालमा ग्रामीण पर्यटनको विकासका लागि अभियान सञ्चालन गर्दै आएका कार्कीले भने, “कोरोनासँगै जिउनुको विकल्प छैन, अब हामीले पनि पर्यटन प्रवद्र्धनका लागि स्थानीय महोत्सव सुरु गर्नुपर्छ ।”

नेपालको चिया, अलैँची, सुन्तला र घरेलु कपडाको महोत्सवमा स्टल राखिने र प्रदेश नं १ मा सञ्चालित घरबास (होमस्टे) को प्रचारात्मक कार्य गरिने उनले बताए । नेपाली पर्यटकीयस्थल, घरबास र कृषि उत्पादनको प्रचार गर्ने माध्यमका रूपमा कोलकाताको सुन्तला महोत्सवलाई कोलकातास्थित नेपाली महावाणिज्य दूतावासले समेत सक्रिय चासो राख्दै आएको छ ।

दूतावासले एशोसिएशन फर कन्जरभेसन एन्ड टुरिजमसँगको सहकार्यमा यसअघि तीन पटकसम्म क्रस बोर्डर बैठकको आयोजना गरिसकेको र त्यसमा नेपाल र भारतका उच्चपदस्थ सरकारी पदाधिकारी र सरोकारवाला पर्यटन संस्थाको सहभागिता रहेको कार्कीले जानकारी दिए ।

क्रस बोर्डर बैठक मानव–हात्ती द्वन्द्वलाई पर्यटन विकासमा रूपान्तरण गर्ने र वारिपारिका समस्या समाधानका लागि संवाद गर्ने महत्वपूर्ण थलोका रूपमा उपयोग हुँदै आएको उनले बताए ।

You might also like

Comments are closed.