सडक पुगेपछि गाउँ फर्किने बढे

ध्रुवसागर शर्मा, गलेश्वर । गाउँघरमा सडक, पाइलैपिच्छे पसल र पसलमा चाहिने सबै सामान सजिलै पाइएको अवस्था देख्ता म्याग्दीको धवलागिरि गाउँपालिका– ५ मल्कवाङका ६७ वर्षीय दलप्रसाद छन्त्याललाई त विगत सम्झेर सुखको अनुभूति हुन्छ ।

उनले भने, “ती दिन सपना जस्तै लाग्छन् । अहिले आकाश–पाताल फरक जमाना आयो ।” एक दशकअघि दुःख पाएपछि हिडेर गाउँबाट सहर झरेका छन्त्याल अहिले नुनतेल घरछेउमै पाउन थालेपछि दङ्ग छन् । सडक घरनजिकै पुगेको छ । बजार निस्किएर फर्किंदा जिप चढेर घर पुग्छन् ।

पाोखराबाट हालैमात्र गाउँ फर्किएका ६७ वर्षीय छन्त्याल आफ्नै घरको आँगनमा गाडीबाट झरेर घरभित्र छिर्न पाएपछि मख्ख परे । छन्त्याल जस्तै गाउँका अन्य ज्येष्ठ नागरिक पनि आफ्नै घरदैलोमा नै गाडी गुडेको देख्दा अचेल फुरुङ छन् ।

footwear zone

एक दशकअघि गाउँमा दुःख भयो भनेर म्याग्दीका ग्रामीण भेगबाट सहर झरेका गाउँमा सडक पुगेर यातायातका साधन सञ्चालनमा आएपछि अहिले उनीहरु पुनः गाउँमा नै फर्किन थालेका हुन् । छोराछोरी पढाउने, व्यापार व्यवसाय गर्ने भनेर सदरमुकाम बेनीलगायत पोखरा र काठमाडांै गएका ग्रामीण भेगका बासिन्दा गाउँमा विकासका पूर्वाधार विस्तार भएर जनजीवन सहज बन्दै जान थालेपछि गाउँ फर्किएका स्थानीय जनप्रतिनिधिले बताएका छन् ।

म्याग्दीको दुर्गम गाउँ मानिने धवलागिरि गाउँपालिका– ५ मल्कवाङमा गतवर्ष मोटरबाटो जोडिएर यातायातका साधन सञ्चालन हुन थालेपछि दुर्गम गाउँ भनेर सहर पसेका ध्माधम गाउँ फर्कन थालेका मल्कावाङका मुकुन छन्त्यालले बताए । रघुगङ्गा गाउँपालिका–६ पाखापानी र ठाडाखानीमा पनि सहरबाट गाउँ फर्कनेको सङ्ख्या वृद्धि भएको वडासदस्य टेकजित छन्त्यालले बताए । पाखापानी र ठाडाखानीमा मात्रै पोखरा, काठमाडौं र बेनी लगायतका सहरबाट डेढदर्जन भन्दा बढी व्यक्ति गाउँमा फर्किएका उनले जानकारी दिए ।

गाउँमा विकासका पूर्वाधार पुग्नु, विद्यालय, स्वास्थ्यचौकी, खानेपानी, बजारलगायत सम्पूर्ण कुराको सुविधा प्राप्त हुँदै गएपछि सहरको बसाइँलाई बिट मारेर गाउँ फर्किने बढेका मालिका गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोकाले बताए । उता धवलागिरि गाउँपालिकामा पनि गाउँका घर भरिन थालेका छन् । पहिले वृद्धवृद्धा मात्रै देखिने गाउँमा अहिले बालबालिका र महिला पनि थपिएपछि गाउँको रौनक बढेको मुनाका जीवन क्षेत्रीले जानकारी दिए । उनका अनुसार युवा अझै पनि वैदेशिक रोजगार वा सहरमा पढाइ र अन्य कामले गर्दा गाउँ फर्किन सकेका छैनन् ।

बुढेसकालमा भए पनि गाउँमा विकासको लहर देख्न पाउँदा ‘डाँडामाथिका घाम’ जस्तै बनेका बृद्धबृद्धा दङ्ग छन् । “हाम्रो पालमा नून लिन थाकखोला र चालम लिन बटौली जानुपथ्र्यो”, सेरका ८४ वर्षीय भविलाल सापकोटाले भने, “अहिले त नून चामल पनि गाडी चढेर सररर दैलैमा पो आइपुग्छ, दुःखै छैन, हाइसन्चो छ ।”

“करिब तीन सय घरपरिवार रहेको मल्कबाङमा दुई वर्ष अघिसम्म ५० घरमा मात्रै मान्छे बस्थे तर अहिले दुईसय भन्दा बढी घरमा मान्छे भरिएका छन्, सडक पुगेपछि गाउँले घर फर्कन थालेका हुन”, स्थानीयवासी अमृत छन्त्यालले बताए ।

गाउँबाट सदरमुकाम बेनीसम्मको दूरी पनि छोटिएको छ । वडाभित्रका मुख्य बस्तीमा एक वर्षभित्र सहायक बाटो विस्तार गर्न रु ३५ लाख बजेट विनियोजन भएको छ । वडाअध्यक्ष छन्त्यालले भने, “गाउँको उत्पादन बजारसम्म पुग्छ, सडकले आम्दानीको स्रोत पनि बढाएको छ ।”

स्थानीयवासीको जीवनशैलीमा परिवर्तन

घर आँगनमै गाडी, नजिकै विद्यालय, वडा कार्यालयसँगै स्वास्थ्यचौकी, घरघरमा झलमल्ल बिजुली, आफन्तको सञ्चो बिसञ्चो बुझ्न र कुराकानी गर्न हातहातमा मोबाइल, खेतबारीबाट अन्नपात र घाँस पराल बोकेर घर गोठमा पग्ने ट्र्याक्टर, मोटरसाइकल म्याग्दीका गाउँबस्तीमा अहिले जताततै देख्न पाइन्छ ।

चार÷पाँचवर्ष अघिसम्म दुर्गम मानिएका गाउँमा पछिल्लो समय विकासको लहर चलेको छ । यातायातको पहुँचसँगै विकासको परिभाषालाई बुझ्न थालेका म्याग्दीका ग्रामीण भेगका बासिन्दा शिक्षा, स्वास्थ्य र सञ्चारको सुविधा पनि गाउँमा नै पाएपछि दङ्ग परेका छन् ।

म्याग्देली ग्रामीण जनताको जीवनशैलीमा नै परिवर्तन देखिएको छ । स्थानीय तह हुनु भन्दा अगाडि दुर्गम क्षेत्र भएकै कारण कसैको नजर नपर्ने म्याग्दीका मुना, कुइने, ठाडाखानी, रुमलगायतका गाउँमा सडक सञ्जाल जोडिएको छ । विकासको महत्वपूर्ण आधारमध्यको एक सडक भएका कारण आफूहरुले प्राथमिकताका साथ योजना छनोट गरेर सबै वडामा सडक पु¥याइएको जनप्रतिनिधिले बताएका छन् ।

म्याग्दीका ६ वटा स्थनीय तहमध्ये धवलागिरि गाउँपालका–३ गुर्जामा मात्रै सडक सञ्जालको पहुँच पुगेको छैन । गुर्जामा सडक विस्तारका लागि पनि स्थानीय तह र प्रदेश सरकारबाट काम भइरहेको धवलागिरि गाउँपालिकाका अध्यक्ष थमसरा पुनले बताइन् । दिनभर हिँडेर पाखापानीसम्म पुगेर उपभोग्य सामानको जोहो गर्नु पथ्र्यो । गाउँमा कोही बिरामी पर्दा डोकोमा बोकेर भरिया लगाएर गाउँलेले उपचार गर्न बेनी पु¥याउनुपर्ने बाध्यता हुन्थ्यो, तर अहिले वडा–वडामा स्वास्थ्य सेवाको सहज पहुँच पुगेकोले सहज भएको स्थानीयवासी हिमाली छन्त्यालले बताए ।

सामान्य बिरामीपर्दा समेत सदरमुकाम वा काठमाडौं पोखरा पुग्नुपर्ने बाध्यता हट्दै गएको स्थानीयवासीले बताएका छन् । गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा गरिरहेको लगानीका कारण त्यहाँका नागरिकलाई निकै सहजभएको छ । टोल–टोलमा स्वास्थ्य इकाई स्थापना गरिएपछि गर्भवती सुत्केरी, बालबच्चा, ज्येष्ठ नागरिक तथा असहाय, गरिब, विपन्न वर्गले गाउँका स्वास्थ्य संस्थाबाट सेवा लिइरहेको धवलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्यालले बताए ।

कहिल्यै मोटर गाडी नदेखेका वृद्धवृद्धा पनि गाउँ घरमा सररर गाडी गुड्दा दङग छन् । हप्तौँ लगाएर नून , चामल बोकेर उपभोग गर्ने गरेको बुढापाका अहिले गाउँमै सबै सुविधा पाउदा हर्षित बनेका रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताए ।

स्थानीयवासी टेकबहादुर छन्त्यालले भने, “पहिले हाम्रो जमानामा यस्तो सुविधा थिएन, हामी नून, चामल लिनका लागि खसौली बटौली पुग्नेगथ्र्यौँ, अहिले त घर–घरमै दोकान छन्, उतिबेलाको जस्तो दुख छैन अहिले ।”

You might also like

Comments are closed.