कृष्ण न्यौपाने/दमौली । कोभिड–१९ पछि तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा पहिलोपटक विदेशी पर्यटकको आगमन सुरुआत भएको छ । कोरोना त्रासका कारण विगत करिब दुई वर्षदेखि विदेशी पर्यटक आगमन शून्य रहेको बन्दीपुरमा बुधबार ६० विदेशी पर्यटक आइपुगेका हुन् ।
बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसान प्रधानले विदेशी पर्यटकको आगमनले व्यवसायीलाई उत्साहित बनाएको जानकारी दिए । “कोरोना त्रासपछि आन्तरिक पर्यटक आइरहेकामा विदेशी पर्यटक शून्य थिए, अब विदेशी पर्यटकको पनि आगमन हुनेमा आशावादी छौँ”, उनले भने । उनका अनुसार फ्रान्सका ती पर्यटक आज पनि बन्दीपुरमा छन् ।
दसैँको सुरुआतसँगै बन्दीपुरमा आन्तरिक पर्यटकको चहलपहल पनि बाक्लिएको छ । कोरोना त्रास न्यूनीकरण हुँदै जनजीवन सामान्य भएपछि बन्दीपुरमा यतिबेला पर्यटकको चहलपहल बढेको उनले जानकारी दिए । “दसैँका बेला बन्दीपुरमा राम्रै सङ्ख्यामा पर्यटक भित्रिए, तिहारमा पनि पर्यटकको आगमन बढ्नेमा विश्वस्त छौँ”, होटल व्यवसायी प्रधानले भने, “विस्तारै पर्यटकीय गतिविधि बढेपछि व्यवसायीलाई पनि आशा जगाएको छ ।”

चिसो मौसम सुरु भएसँगै बन्दीपुरबाट हिमालका मनोरम दृश्य देखिन थालेको छ । हिमाल खुलेको बेला यहाँबाट हिमालका मनमोहक दृश्य देखिन्छ । सबैले कोभिडविरुद्ध खोप लगाएकाले पनि अहिले घुमफिरमा निस्कनेको सङ्ख्या बढिरहेको छ । “बन्दीपुरका ७० प्रतिशतभन्दा बढी व्यवसायीले खोप लगाइसके, सर्वसाधारणले पनि खोप लगाइरहेका छन्”, उनले भने, “खोपले पनि हामीलाई ढुक्क बनाएको छ ।”
होटल व्यवसायी वसन्त पौडेलले कोरोनाका कारण सुस्ताएको यहाँको पर्यटन विस्तारै तङ्ग्रिने अवस्थामा रहेको बताए । पर्यटकको चहलपहल सुरु भएसँगै व्यवसायीमा पनि आशा जागेको उनको भनाइ छ । बन्दीपुरका होटल व्यवसायीले छुट प्याकेजसमेत ल्याउने तयारी गरेका छन् । बन्दीपुरमा होटल सङ्घसँग आबद्ध साना–ठूला गरी ७७ होटल सञ्चालनमा छन् । बन्दीपुरमा ग्रीनपार्क, होटल दरबार हिमालय फेवा, गामघर, वोल्डइन, बन्दीपुर माउण्टेन रिसोर्ट, बन्दीपुर प्यालेस, मगर भिजेललगायत होटल सञ्चालन छ ।
बन्दीपुरबाट अन्नपूर्ण, माछापुच्छे«, धवलागिरिलगायतका हिमशृङ्खला देखिन्छ । भक्तपुरे शैलीमा निर्माण गरिएको घरहरु, टुँडिखेल, थानीमाई, तीनधारा, रानीवन, रामकोट, सुनखरी, खड्देवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, सूचना केन्द्रलगायतका स्थल यहाँ आउने पर्यटकको आकर्षणको केन्द्रबिन्दु बन्ने गरेको छ ।
कोलाहल, धुँवाधुलोबाट केही टाढा घुम्न जाने सोच बनाएकालाई बन्दीपुर उत्कृष्ट गन्तव्यका रूपमा विकास भइरहेको छ । सदरमुकाम दमौलीदेखि १८ किलोमिटर डुम्रे हुँदै आठ किलोमिटरको उकालो यात्रा तय गरेपछि बन्दीपुर पुगिन्छ । अठारौँं शताब्दीमा भक्तपुर र बनेपाबाट आएका नेवारले भक्तपुरे शैलीमा घर र ढुङ्गा बिछ्याइएको बाटो निर्माण गरेका थिए । बन्दीपुरमा अहिले पनि घर निर्माणमा मौलिकता अपनाउने गरिएको छ । बन्दीपुर बजारमा भएका पुरानो घरको आकर्षणले गर्दा पर्यटकको आगमन बढ्दै गएकाले गाउँपालिकाले बजार क्षेत्रभित्र आधुनिक र पश्चिमेली शैली झल्किने गरी घर बनाउने निषेध गरेको छ ।





Comments are closed.