पशुलाई आहारको चिन्ता

झलनाथ खनाल/भजनी । असोज ३१ गतेदेखि कात्तिक ३ गतेसम्म परेको बेमौसमी वर्षाका कारण आएको बाढीका कारण पशुपालक किसान पनि नराम्रोसँग प्रभावित भएका छन् । किसानले लगाएको घाँस खेतीमा क्षति पुग्नुको साथै वर्षभरिका लागि मौज्दात राख्ने धानको पराल किसानले पाउन सकेका छैनन् । केही पशुपालक किसानले लगाएको धानबालीमा समेत नराम्रोसँग क्षति पुगेको छ ।

कैलालीको टीकापुरका ललित थापाले भैँसीपालन व्यवसाय गर्दै आएका छन् । उनले भैँसीपालनसँगै घाँस खेतीका साथै धान खेतीसमेत गरेका थिए । बाढीका कारण उनले नत खेतमा लगाएको धान खेती जोगाउन सके, न त भैँसीका लागि लगाएको घाँस खेती ।

उनले भैँसीकै लागि भनेर दुई बिगाहामा घाँस खेती गरेका थिए । अहिले उनले केही दिनमै भएका ३२ भैँसी घटाएर २२ मा झारेका छन् । भैँसीलाई खुवाउने आहारकै कारण भैँसी घटाउनुपरेको शिव बताउछन् । “बाढीले व्यवसायबाटै विस्थापित हुने चिन्ता बढाएको छ । आफूलाई खानको लागि त किनेर पनि पाइन्छ तर, भैँसीलाई के खुवाउने होला ?” शिवले भने, “वर्षभरिलाई पुग्ने पराल बाढीले खत्तम बनायो । उता बीउ उत्पादनका लागि र भैँसीलाई खुवाउनको लागि लगाएको घाँस खेती पनि नष्ट भयो ।”

footwear zone

उनले आगामी दिनहरुमा उत्पादन घट्नुको साथै किसानको लागतमा उल्लेख्य वृद्धि हुने बताए। “भिजेको धानको परालले भैँसीमा रोगको सङ्क्रमण फैलिने हुन्छ । त्यो पनि परालमा पाइने दुई प्रतिशतको प्रोटिनको मात्रा एक प्रतिशत पनि रहँदैन”, थापाले भने । राज्यले अन्य क्षेत्रमा भएको क्षतिको विषयमा सोचेको भएपनि पशुधनको बारेमा अझै गम्भीर नभएको बताएका छन् । यहाँका पशुपालक किसानले गाई भैँसीलाई खुवाउने भनेकै पराल हो । पराल र घाँस मिसाएर भैँसीलाई खुवाउनुपर्ने भए पनि बाढीका कारण परालमा आएको ह्रासले पशुपालक किसान निराश भएका छन् ।

भजनीका किसान दुर्गाप्रसाद जैशीको फार्ममा अहिले ४५ वटा गाई भैँसी छन् । गाई भैँसीका लागि खुवाउने मुख्य आहार भनेको नै पराल हो । विगतका वर्षहरुमा सहजैरुपमा किन्न पाइने पराल यो वर्ष पैसा तिरे पनि पाउन मुस्किल भएको दुर्गाप्रसाद बताउछन् । “बाढीले लगाएको धानबालीमा क्षति हुँदा धान जसोतसो काम लगाए पनि पराल बचाउन सकिएन । यो वर्ष चिन्ता बढेको छ । व्यवसाय छोडेर जानसक्ने अवस्था पनि छैन”, दुर्गाप्रसादले भने, “अन्य किसानको जति मेरो क्षति भएको छैन । म परालभन्दा पनि घाँसखेती गर्ने भएकाले पनि मलाई समस्या छैन, तर, पीडित किसानको बारेमा राज्य गम्भीर हुन आवश्यक छ ।”

टीकापुरका चक्रबहादुर बटालाको भैँसी फार्ममा ४७ वटा गाई भैँसी छन् । यसपालि आएको बाढीले चक्रबहादुरको फार्ममा खासै क्षति भएन । उनले लगाएको घाँस र धानबाली भने आंशिकरुपमा क्षति भयो । उनको आफ्नो क्षति नभए पनि बाहिर किसानसँग पहिले नै बुकिङ गरेको पराल बटालाले फार्म भित्र्याउन पाएनन् । “मैले वर्षमा जति पराल खरिद गर्दै आएको छु, यस वर्ष पनि त्यसको समन्वय गरिसकेको थिए तर वर्षाका कारण भिजेको पराल गाईभैँसीलाई खुवाउन नमिल्ने भएपछि त्यो पराल ल्याउन सकेको छैन”, बटालाले भने, “आफूलाई त खानको समस्या नहोला तर, गाईभैँसीलाई के खुवाएर पाल्ने ? चिन्ता बढेको छ । बजारको दाना किनेर खुवाउने हो भने, उत्पादनभन्दा लागत दोब्बर बढी हुन जान्छ ।”

चिन्ता पालेका पशु चौपायालाई के खुवाउने भन्ने नै छ । किसानले बाढीले क्षति पु¥याएको धान भित्र्याए पनि पराल खेतमै जलाउन थालेका छन् । एकातिर किसान पराल काम नलाग्ने भएपछि चिन्तित छन् भने, अर्कोतिर भित्र्याएको धान सरकारको समर्थन मूल्यमा बिक्री गर्न पाइन्छ कि पाइँदैन भन्ने चिन्तामा छन् । बाढीका कारण भएको क्षतिको उचित राहतको व्यवस्था हुन नसके कैयौँ व्यावसायिक किसान पेसाबाट नै वञ्चित हुने अवस्थामा पुगेको अर्का पशुपालक किसान रामशरण आचार्य बताउछन् । उनले पालेका गाई भैँसीको आहार नपाउने चिन्ताले अहिले किसानले पालेका चौपाया बिक्रीका लागि पशु हाटबजारमा भीड नै लाग्ने गरेको बताए ।

You might also like

Comments are closed.