टर्कीपालनबाट मासिक डेढ लाख आम्दानी

अच्युत रेग्मी/पालुङटार (गोरखा) । गोरखाको पालुङटारमा टर्कीपालन गरेर एक युवाले मनग्य आम्दानी गरेका छन् । विगत १३ वर्ष साउदी अरबको अल्मराई कम्पनीमा काम गरेका पालुङटार नगरपालिका–४ का ४० वर्षीय जीवमनि लुइँटेलले विसं २०७६ मा नेपाल फर्केसँगै टर्कीपालन सुरुआत गरेका हुन् ।

सो कम्पनीमा नौ हजार ५०० रियल अर्थात् नेपाली झण्डै ३ लाख रुपैयाँ मासिक कमाई गर्दै आएका उनले विसं २०७७ वैशाखदेखि पालुङटारस्थित आफ्नै घरमा आएर टर्कीपालन व्यवसाय सुरु गरेका हुन् । “मैले अल्मराई कम्पनीमा सँगै कार्यरत साथी मिठु सार्कीलाई भैरहवामा भेट्न जाँदा सार्कीको घरनजिक टर्कीपालन गरेको देखेँ, त्यहाँ टर्कीपालन गरेको देखेर मैले पनि केही गर्नुपर्छ भनेर त्यहाँको अनुभवलाई पालुङटारमा ल्याएर प्रयोग गरेँ”, उनले भने ।

सुरुआती चरणमा ७० लाख लगानी गरेर टर्कीपालन सुरु गरेका लुइँटेलले अहिले मासिक १ लाख ५० हजार रुपैयाँ आम्दानी गर्दै आएका छन् । उनले एकपटकमा एक हजार टर्कीपालन गर्नसक्ने गरी खोर निर्माण गरेका छन् । केही समय पहिले ९ सय टर्कीपालन गरेका लुइँटेलसँग हाल ३ सय टर्की रहेका छन् । लुइँटेलले पालन गरेको टर्की बिक्रीका लागि मुख्य बजार भने काठमाडौँ हो । यसका अलावा चितवन, पोखरा र स्थानीय पालुङटारमा पनि टर्कीको मासु खपत हुँदै आएको छ । “हप्तामा ५० किलो काठमाडौं, २० किलो पोखरा र २५ किलो चितवनको नारायणगढ बजारमा टर्की बिक्री हुँदै आएको छ”, उनले भने ।

footwear zone

डेढ वर्षदेखि टर्कीपालन गर्दै आएका उनले एउटा टर्की १५ किलोसम्म बनाएका छन् । उनले टर्कीको मासु एक किलोको एक हजारमा बिक्री वितरण गर्दै आएको बताए । टर्कीपालनका सिलसिलामा लुइँटेलले तीन जनालाई रोजगारीसमेत प्रदान गरेका छन् । टर्कीका लागि मुख्य आहार भनेको दाना नै हो ।

श्रीमती ज्ञानु लुइँटेललाई समेत शिक्षकको जागिरबाट अलग गरी व्यवसायमा लगाएका जीवमनिले हाल आफैं गाडी किनेर टर्कीको मासु काठमाडौं, पोखरा, नारायणगढसम्म पु¥याउँदै आएका छन् । “परिवारसँगै घरमा बसेर आफ्नै जन्मथलोमा पौरख गरेर यती कमाएकामा मलाई पूर्णरूपमा आत्मासन्तुष्टि मिलेको छ”, उनले भने ।

टर्कीपालनबाटै उनले दुई छोराछोरीलाई उच्च माध्यामिक तहसम्मको शिक्षा प्रदान गराएका छन् । उनका छोराछोरीमध्ये हाल एक छोरी अमरज्योति जनता माध्यामिक विद्यालय लुइँटेलमा कक्षा १२ मा विज्ञान विषय लिएर अध्ययनरत छन् भने अर्की छोरी गोरखा पोलिटेक्निकलमा प्राविधिक शिक्षा अध्ययनरत छन् । आगामी दिनमा उनले आफ्नो व्यवसायलाई झन् राम्रो बनाउँदै लैजाने रासससँग बताए । रासस

You might also like

Comments are closed.