तरकारीको मूल्य दोब्बरदेखि तेब्बरले वृद्धि, उपभोक्ता मर्कामा

राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर । चाडपर्वको मुखमै जिल्लामा तरकारीको मूल्य अस्वभाविक रुपमा बढेको छ । निरन्तरको वर्षापछि तरकारीको मूल्य दोब्बरदेखि तेब्बरले बढेको छ । तरकारीको मूल्य एक साताको अवधिमै २० देखि ८० प्रतिशतले बढेको हो ।

मूल्य बढेसँगै उपभोक्ता मर्कामा परेका छन् । सबै भन्दा बढी दैनिक मजदूरी गरेर जीविका चलाउने वर्ग बढी मारमा परेको छ । बाढीका कारण किसानले लगाएको तरकारी बगाएको र डुबान पारेर नोक्सानी गरेका कारण तरकारीको मूल्यमा वृद्धि भएको व्यवसायीको भनाइ रहेको छ ।

“वर्षाको पानीले निम्त्याएको विनाशका कारण तरकारी बजारसम्म पुग्न सकेकोे छैन”, मण्डी व्यवसायी सङ्घका अध्यक्ष विसाल सोनारले भने, “किसानको खेतबारीमा वर्षाले केही बाँकी राखेन, तरकारीको अभाव भएसँगै मूल्य अकासिएको छ, माग धेरै छ, आपूर्ति थोरै छ, त्यसैले मूल्य वृद्धि भएको छ ।”

footwear zone

तरकारीको स्थानीय उत्पादन प्रर्याप्त हँुदा मूल्य थोरै हुने गरेको थियो । नब्बे प्रतिशत तरकारी वर्षाले वर्वाद पारेपछि उपभोक्ताको माग धान्नै गाह्रो रहेको उनले बताए । “केही तरकारी पहाडी जिल्लाबाट निर्यात भएर आउँथ्यो, केही स्थानीय उत्पादन हुन्थ्यो र केही तरकारी भारतबाट आउने गरेको थियो”, उनले भने, “त्यसैले मूल्य थोरै हुन्थ्यो, हाल भारतीय तरकारीले मात्रै यहाँको बजार धान्दै आएको छ ।”

उनका अनुसार हाल ८० प्रतिशत तरकारी भारतबाट, १५ प्रतिशत तरकारी पहाडी जिल्लाबाट आयात हुने गरेको छ भने पाँच प्रतिशत तरकारी मात्रै स्थानिय किसानले उत्पादन गरेको बजारमा पुग्ने गरेको छ । विगतका वर्षमा ८० प्रतिशत तरकारी स्थानिय स्तरमा नै उत्पादन हुने गरेको थियो ।

बीस प्रतिशत तरकारी मात्रै बाह्य क्षेत्रबाट आयात हुने गरेको थियो । भन्सार छलेर तरकारी भारतबाट बजारमा आउन थालेकाले मनोमानी रुपमा मूल्यमा वृद्धि गरिँदा तरकारीको मूल्यमा वृद्धि हुनु कारण रहेको बताइएको छ । भारतबाट हाल दैनिक पाँच देखि छ ट्रक बढी तरकारी भारतबाट आयत हुने गरेको छ ।

बजारमा भित्रिनेमध्ये आधा तरकारी भन्सार छलेर ल्याइने गरिएको छ । पहाडी क्षेत्रबाट आउने गरेको तरकारी बिचौलियाका कारण मूल्य वृद्धि भएको व्यवसायीले नै बताउने गरेका छन् । व्यवसायीका अनुसार हाल बजारमा ३० रुपैयाँ प्रति किलोका दरले बिक्री हुने सेतो आलु  ५० रुपैयाँ,  ३५ रुपैयाँमा बिक्री हुने रातो आलु  ६० रुपैयाँ,  ६० रुपैयाँमा बिक्री हुदै आएको पहाडी आलु  ८० रुपैयाँमा खुद्रा मूल्यमा बिक्री भइरहेको छ ।

यसैगरी, ८० रुपैयाँमा बिक्री हुँदै आएको प्याज  सय देखि  १ सय २० रुपैयाँ, गोलभेँडा  ८० रुपैयाँ बाट  १ सय २० रुपैयाँ, फर्सि  ६० रुपैयाँबाट सय रुपैयाँ, लौका  ५० रुपैयाँबाट  ९० रुपैयाँ, बोडी  ६० रुपैयाँबाट  १ सय २० रुपैयाँ, काउली  ६० रुपैयाँबाट  ९० रुपैयाँप्रति किलोका दरले बिक्री भइरहेको छ । भेन्टा  ६० रुपैयाँबाट  १ सय २० रुपैयाँ, मसला मिर्च  १२० रुपैयाँबाट  २ सय रुपैयाँ, काँक्रा  ६० रुपैयाँबाट सय रुपैयाँ र हरियो साग  ५० रुपैयाँबाट र १ सय २० रुपैयाँप्रति किलोका दरले बिक्री भइरहेको छ ।

सिमी  ८० रुपैयाँबाट  १ सय ६० रुपैयाँ, तिते करेला  ६० रुपैयाँबाट  १ सय ४० रुपैयाँ, खुर्सानी  ८० रुपैयाँबाट  १ सय ३० रुपैयाँ प्रति किलोका दरले खुद्रा मूल्यमा बिक्री भइरहेको छ । व्यापारीले तरकारीमा प्रति किलोमा १० देखि २० प्रतिशतसम्म नाफा राखेर बेच्न सक्ने प्रावधान भए पनि ४० देखि ६० प्रतिशतसम्म नाफा राखेर बेच्ने गरेको उपभोक्ताको भनाई छ । चाडपर्वका बेला तरकारीको मूल्य आकासिएको भए पनि स्थानिय प्रशासनले भने तरकारी बजारको हालसम्म अनुगमन नगर्दा तरकारीको मूल्य अकासिएको बताइएको छ ।

You might also like

Comments are closed.