काठमाडौं । अन्तर्राष्ट्रिय जलरङ कला प्रदर्शनीमा सहभागी म्यान्माका कलाकार थिन स्विकीलाई ४ सय डलर ( ४७ हजार रुपैयाँ) को गोल्डेन अवार्ड (कला पुरस्कार) प्रदान गरिने भएको छ । उक्त प्रदर्शनीमा सहभागी नेपाली दुई कलाकारका सिर्जना पनि पुरस्कृत हुने सूचीमा समावेश छ ।
नेपालको आट्समेट इन्टरनेसनल र एनवी गुरुङ आट्स स्टुडियोको सहकार्यमा आगामी डिसेम्बर १० देखि १५ सम्म अनलाइनमार्फत हुने अन्तर्राष्ट्रिय जलरङ कला प्रदर्शनीमा सहभागी उक्त कलाकृतिबाट स्विकीको सिर्जना उत्कृष्ट हुँदै गोल्डेन अवार्ड प्राप्त गरेको हो । स्थानीय गाउँले परिवेशको ‘मानव दैनिकी’ शीर्षकको सिर्जना प्रतिस्पर्धामा समावेश छ । उक्त प्रदर्शनीमा ४६ देशका ३ सय २ कलाकृतिहरु समावेश हुने आयोजकले जनाएको छ । कूल ५१ देशका ४ सय ८३ कलाकृति प्राप्त भएकामा २ सय ३ वटा सिर्जना छनोट भएको कार्यक्रम संयोजक एनवी गुरुङले जानकारी दिए ।
प्रदर्शनीअन्तर्गत आयोजना हुने प्रतियोगितात्मक कार्यक्रममा एक लाख ५० हजार रुपैयाँ बराबरको नगद तथा ६० हजार मूल्य बराबरको कलासामग्री पुरस्कारस्वरुप दिइनेछ । पुरस्कार छनोट समितिले सार्वजनिक गरेको विवरणअनुसार चीन, म्यान्मा, थाइल्यान्ड, रसिया र नेपालका सात कलाकारका कलाकृति उत्कृष्ट छनोट हुँदै नगर पुरस्कार प्राप्त गर्न लागेको हो । अन्य ६ कलाकारका सिर्जनाले पुरस्कारस्वरुप कला सामग्री प्राप्त गर्ने जनाइएको छ ।

पुरस्कार छनोट भएका सिर्जनामध्ये सर्वोत्कृष्ट हुँदै ४ सय डलर ( ४७ हजार रुपैयाँ) को गोल्डेन अवार्डबाट म्यान्माका थिन स्विकीलाई सम्मान गर्न लागिएको आयोजकले जनाएको छ । चीनका कलाकार रोंग जू कावोलाई ३ सय डलर( ३६ हजार रुपैयाँ), थाइल्यान्डका टोसापोरन, चान्टरासुकले २ सय डलर ( २३ हजार ६ सय रुपैयाँ), रसियाका याकुवा भिक्टोरियाले १ सय डलर( ११ हजार ८ सय रुपैयाँ), म्यान्माका मियान्त नाइङ्गले ५० डलर ( छ हजार रुपैयाँ) पुरस्कार प्राप्त गरेका गुरुङले जानकारी दिए । नेपालका दुई कलाकार डी बराल र विश्वराज पराजुलीले पनि क्रमशः २ सय ५० डलर ( २५ हजार ५ सय रुपैयाँ) तथा ५० डलर (छ हजार रुपैयाँ) को पुरस्कार प्राप्त गरेका छन् ।
पुरस्कारका लागि नेपाली र विदेशीसहित आठ कलाकार छनोट समितिमा रहेका थिए । पुरस्कार छनोट समितिमा भारतका अमित कपुर, अमेरिकाका स्टेला क्यानफिल्ड र एन्डी इभन्सन, नेपालका दिराम पाल्पाली र एनवी गुरुङ, चीनका हङ्ग स्याङ, सिङ्गापुरका ओङ किम सेङ र दक्षिण कोरियाका यू मी पाक सहभागी थिए ।




Comments are closed.