काठमाडौं । विभिन्न व्यक्तिलाई प्रलोभनमा पारी ५० लाख रुपैयाा ठगी गरेको आरोपमा प्रहरीले एक भारतीय नागरिकलाई काठमाडौंबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारत तामिलनाडु घर भई हाल काठमाडौंको बालुवाटार बस्ने ४४ वर्षीय शिवम विरुमुथु चेटियार रहेका महानगरीय अपराध नियन्त्रण महाशाखाले जनाएको छ । उनले पोखराको मणिपाल अस्पताल खरिद गर्न भारतीय शेयर होल्डरसँग कुराकानी भई सम्झौता गर्न सम्झौतापत्र तयार भइरहेको भनी झुठो कागजात तयार पारी विभिन्न व्यक्तिलाई अस्पतालमा पार्टनरसिपको प्रलोभन देखाइ ठगी गरेको खुलेको प्रहरीले जनाएको छ । उनले लोभलालच देखाएर विभिन्न व्यक्तिको स्वामित्वमा रहेको जमिनको लालपूर्जासमेत नियन्त्रणमा लिई कारोबार गर्ने गरेको प्रहरीले जनाएको छ । उनले आइसीआरसीको चिकित्सक भएको भनेर नक्कली परिचयपत्रसमेत बनाएको पाइएको छ ।
सरकारका उच्च अधिकारीसँग सम्बन्ध कायम रहेको देखाउने र विभिन्न व्यक्तिका नागरिकतामार्फत बैंक खाता सञ्चालन गरी ठगी गर्ने गरेको भन्ने सूचनाका आधारमा महाशाखाले उनीमाथि अनुसन्धान थालेको थियो । काठमाडौंको बालुवाटारबाट पक्राउ परेका उनले अहिलेसम्म रु ५० लाख ठगी गरेको खुल्न आएको र अन्य व्यक्तिकोसमेत ठगी गरेको देखिएको महाशाखाले बिहीबारएक सूचना जारी गरी जनाएको छ ।

थप अनुसन्धान तथा कारवाहीका लागि उनलाई महानगरीय प्रहरी परिसर टेकुमा पठाइएको छ । उनी यसअघि विसं २०७२ मा वैदेशिक रोजगारीसम्बन्धी कसुरमा डिल्ली बजार कारागारमा दुई वर्ष कैद तथा रु तीन लाख ५० हजार जरिवाना तिरेका व्यक्ति भएको पाइएको छ ।




Comments are closed.