सामुदायिक भवन बनाउन १० लाख रूपैयाँ सहयोग

म्याग्दी । सुपर घलेम्दी जलविद्युत् आयोजनाले प्रभावित क्षेत्रमा पर्ने नारच्याङमा सामुदायिक भवन निर्माणका लागि १० लाख सहयोग गरेको छ । अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माण हुन लागेको सो आयोजनाले अन्नपूर्ण युवा क्लबले बेँसीगाउँमा बनाउन लागेको भवनलाई बिहीबार सहयोग उपलब्ध गराएको हो ।

आयोजनाको प्रवद्र्धक सुपर घलेम्दी हाइड्रोपावर प्रालिका प्रबन्ध निर्देशक इञ्जीनियर मनप्रसाद कँडेल र शेयरधनी अभिषेक केसीले क्लबका अध्यक्ष टङ्क पुनलाई सो रकम हस्तान्तरण गरे । वडाध्यक्ष चन्द्रप्रसाद फगामीसहित जनप्रतिनिधि, क्लबका प्रतिनिधि र पदाधिकारीको उपस्थितिमा सहयोग हस्तान्तरण गरिएको थियो । प्राप्त रकमले बेँसीगाउँमा रहेको क्लबको भवनमा तला थप गरिने अध्यक्ष पुनले जानकारी दिए ।

नौ दशमलव १४ मेगावाट क्षमताको उक्त आयोजना प्रभावित क्षेत्रमा सामाजिक कार्यअन्तर्गत सहयोग गरिएको प्रबन्ध निर्देशक कँडेलले बताए । तीन वर्षअघि नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद बिक्री सम्झौता भएको यो आयोजनाको बाँध घलेम्दी खोलाको मुहानमा प्रस्ताव गरिएको छ । घलेम्दी खोला जलविद्युत् आयोजनाको बाँधभन्दा २ सय मिटरमाथि विद्युत्गृह रहने सुपर घलेम्दीको सुरुङ २.५ किलोमिटर तथा पेनस्टक पाइप एक किमीको हुने छ । मुलुकका विभिन्न क्षेत्रमा कार्यरत इञ्जीनियरको अगुवाइमा आयोजना निर्माण हुन लागेको हो ।

footwear zone

कम्पनीका अध्यक्ष अनन्तराज घिमिरे कम लागत र छोटो समयमा आयोजना निर्माण गरिने बताउँछन् । दश प्रतिशत साधारण शेयर, १० प्रतिशत प्रभावित शेयर तथा १० प्रतिशत संस्थापक शेयर रहने उक्त आयोजना रन अफ द रिभर प्रकृतिको हो । आयोजनाबाट उत्पादित विद्युत् चार किलोमिटर टाढा दाना सबस्टेशनमा पु¥याएर कालीगण्डकी करिडोरमार्फत केन्द्रीय प्रसारण लाइनमा जोडिनेछ । नारच्याङमा हाल पाँच मेगावाटको घलेम्दीखोला, ४२ मेगावाटको मिस्त्रीखोला जलविद्युत् आयोजना सञ्चालन भइसकेका छन् ।

अस्पतालमा प्रसूति प्रतिक्षा कक्ष र एकद्वार सङ्कट व्यवस्थापन केन्द्र

सदरमुकामस्थित बेनी अस्पतालमा प्रसूति प्रतिक्षा कक्ष सञ्चालन भएको छ । ग्रामीण र दुर्गम क्षेत्रका साथै बाहिरी जिल्लाबाट बेनी अस्पतालमा प्रसूति सेवा लिन आउनेका लागि कक्ष स्थापना भएको हो । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले गण्डकी प्रदेश सरकारको सहयोगमा पूर्वाधार निर्माण गरेर प्रसूति प्रतिक्षा कक्षको सेवा सुरु गरेको बताए ।

“स्वास्थ्य मन्त्रालयको ५० शय्या क्षमताको अस्पतालमा प्रसूति प्रतिक्षा कक्ष हुनुपर्ने मापदण्ड पूरा गर्न यो सेवा थपेका हौँ”, उनले भने, “गाउँको स्वास्थ्य संस्थाबाट सिफारिस भएर आएका सुत्केरी हुने अवस्थाका गर्भवतीलाई प्रसूति भएर घर नजाँदासम्मका लागि बसोबासको व्यवस्था हुन्छ ।” शयनकक्ष र भान्छा कोठासहितको दुईकोठे भवनमा प्रसूति हुन आउनेले आफैँ खानेकुराको जोहो गरेर बस्न पाउनेछन् । बजारमा आफन्तका घर नभएका र होटलमा बस्नुपर्नेका लागि प्रसूति प्रतिक्षा कक्षबाट सुविधा पुग्ने अध्यक्ष कटुवालले बताए ।

बेनी अस्पतालमा म्याग्दीका साथै मुस्ताङ, बागलुङ र पर्वत जिल्लाबाट पनि प्रसूति सेवाका लागि आउँछन् । यहाँ शल्यक्रियामार्फत गरिने जटिल प्रकृतिको प्रसूति सेवा उपलब्ध छ । अस्पतालका प्रमुख चिकित्सक जितेन्द्र कँडेलका अनुसार गत आर्थिक वर्ष २०७७/७८ मा १ सय २३ वटा शल्यक्रियामार्फत गरिने सहित ७ सय ३४ जनाले प्रसूति सेवा लिएका थिए ।

यसैगरी अस्पतालमा हिंसा प्रभावित महिला तथा बालबालिकाको मनोपरामर्श र स्वास्थ्य उपचारका लागि एकद्धार सङ्कट व्यवस्थापन केन्द्रसमेत सञ्चालन भएको छ । केन्द्रमा आउने हिंसा प्रभावित महिला तथा बालबालिकालाई आवासीय सुविधासहित चिकित्सकको परामर्श, स्वास्थ्योपचार र न्यायिक प्रक्रिया अघि बढाउन सघाउने व्यवस्था छ ।

सामाजिक विकास मन्त्रालयको १५ लाख बजेटमा प्रसूति प्रतिक्षा र एकद्धार सङ्कट ब्यवस्थापन केन्द्रको भवन निर्माण भएको व्यवस्थापन समितिका अध्यक्ष कटुवालले जानकारी दिए । यस्तै बालरोग कक्ष थप र साधारण उपचार कक्षको क्षमता बढाउन नयाँ भवन निर्माण भएको छ ।

प्रदेश सरकारको ३५ लाख सहयोगमा प्रिप्याक प्रविधिको भवन निर्माण गरेर क्षमता बढाउन लागिएको अस्पतालले जनाएको छ । नयाँ भवनमा छवटा बालरोग र सातवटा साधारण शय्या छन् । बालबालिकाको उपचारलाई प्रभावकारी बनाउन स्वास्थ्य मन्त्रालयको मापदण्डअनुसार छुट्टै कक्ष बनाएको अस्पतालका प्रमुख कँडेलले बताए ।

You might also like

Comments are closed.