कोरला नाका जोड्ने सडक निर्माणमा भएको ढिलासुस्तीप्रति राष्ट्रियसभाका अध्यक्षको चासो

म्याग्दी । बेनी–जोमसोम–कोरला सडक आयोजना निर्माणमा भएको ढिलासुस्तीप्रति राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले चासो देखाएका छन् । चीन र भारतलाई जोड्ने सबैभन्दा छोटो दूरीको कालीगण्डकी कोरिडोरअन्तर्गत म्याग्दी र मुस्ताङ खण्डमा सडक निर्माणको अनुगमनमा सोमबार मुस्ताङ पुगेका अध्यक्ष तिमिल्सिनाले ढिलासुस्तीप्रति असन्तुष्टि जनाएका हुन् ।

जोमसोम पुगेका अध्यक्ष तिमिल्सिनाले बेनी–जोमसोम खण्डमा भइरहेको सडक निर्माणको अवस्थाका बारेमा आयोजनाका अधिकारीसँग जानकारी लिएर कोरला नाकातर्फ प्रस्थान गरेका छन् । विसं २०७३ देखि सुरु भएको १८६ किलोमिटर दूरीको बेनी–जोमसोम–कोरला सडक आयोजनाको ११ मध्ये ६ वटा प्याकेजमात्र निर्माण सकिएको छ ।

आयोजनाका अधिकारीहरूले जोमसोम–कागबेनी सडक कालोपत्र हुन लागेको, बेनी–जोमसोम सडकको तेस्रो प्याकेज कैकुखोला–खन्ती खण्ड कालोपत्र अन्तिम चरणमा रहेको र तीनवटा प्याकेजको काम भइरहेको जानकारी गराए । पच्चीस किलोमिटर दूरीको चराङ–छोसेर खण्डको सडक निर्माणमा भएको ढिलाइ भएको छ ।

footwear zone

सडक तयार भएसँगै कोरला नाका सञ्चालन गर्ने तयारीसहित पूर्वाधार निर्माण सुरु गरिने अध्यक्ष तिमिल्सिनाले बताए । जोमसोममा पत्रकारसँग कुराकानी गर्दै उनले कोरलानाकामा भन्सार, क्वारेन्टाइन, सुक्खा बन्दरगाह र सुरक्षा चेक पोष्टलगायत पूर्वाधार निर्माणका लागि चालु वर्षभित्रै वातावरण अध्ययन प्रतिवेदन (इआइए) र विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)को काम पूरा हुने जानकारी दिए ।

“चालु वर्ष इआए र डिपिआर तयार गर्ने काम पूरा गरी अर्को वर्ष भन्सार लगायतको पूर्वाधार निर्माण गर्न ठेक्का सम्झौताको प्रक्रिया अघि बढाउन तयारी भएको छ”, उनले भने, “भन्सार विभाग तथा सम्बन्धित अधिकारीहरुसँग कुराकानी गरिसकेको छु ।” छोसेरको नेचुङमा बिओपी र लोमान्थाङको लुङ्खु फाँटमा नेपाली सेनाको क्याम्प खडा गरिएको छ । नेचुङमा बिओपीको भवन पनि निर्माण भइरहेको छ ।

यसअघि कात्तिक दोस्रो हप्ता राष्ट्रियसभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय उपसमितिको सभापति अनिता देवकोटा, सदस्य नारायणकाजी श्रेष्ठ र इन्दिरादेवी गौतमसहित सचिवालयका दुईजना कर्मचारीको टोलीले म्याग्दीको उत्तरी क्षेत्र हँुदै चीनको सिमानामा रहेको कोरला नाका जोड्ने सडक निर्माणबारे जानकारी लिएर फर्किएको थियो ।

You might also like

Comments are closed.