आज न्वागी खाइँदै, यस्तो छ महत्व

महोत्तरी । भर्खरै नयाँ धान बाली भित्र्याएका हिन्दू परम्पराका पर्वते (पहाडी) मूलका किसान आज न्वागी खाने पर्व मनाउँदैछन् । महोत्तरी जिल्लाको सुदूर उत्तरी क्षेत्रमा घरघरै जसो न्वागी खाने तयारी देखिएको छ । कात्तिक शुक्ल एकादशी पर्व (ठूली एकादशी, हरिबोधनी एकादशी) को साङ्गता (समापन) सँगै नयाँ अन्न होमादी गर्दै कात्तिक शुक्ल द्वादशीका दिन न्वागी खाएर (नयाँ धानको चामल दही र सख्खरमा भिजाइएको परिकार खाइने परम्परा) प्रचलनमा ल्याउने परम्पराअनुसार यो पर्व मनाइएको हो ।

पर्वका अवसरमा घरघरका आँगनमा रहने तुलसीका मठ नजिकै नयाँ धानको चामलमा घिउ (घ्यू) र तिल मुछेर वैदिक मन्त्रोञ्चारणसहित पुरोहितले होम गरेपछि नयाँ अन्न खानपीनमा वर्षभरि प्रयोग गर्न बाटो खुल्ने हिन्दू मान्यता रहँदै आएको छ । हिन्दूको आदि भाषा संस्कृतमा सबै अन्नलाई ‘धान्यादि’ भनिएर अन्नको राजा धानलाई मानिएको हुँदा धानको नयाँ फसल होम गरेर अग्नि देवतालाई चढाइएपछि सबै अन्न खानपीनमा प्रयोग गर्न सकिने धार्मिक मान्यताले यो पर्व परम्परा चलेको वैदिक कर्मकाण्डका ज्ञाता बर्दिबास—१ का पण्डित रामप्रसाद बराल बताउछन् ।

खासगरी पर्वते (पाहाडि) मूलका हिन्दू परम्पराको यो पर्व अब भने देखासिकीबाट मधेशी मूलका हिन्दूले पनि मनाउन थालेका छन् । वैदिक शास्त्रमा नयाँ अन्न प्रचलनमा ल्याउनअघि होमादि नगरिए त्यस्तो अन्न शुभकार्य र पितृकार्यमा नचल्ने पुरानो विश्वास रहेको छ । सामान्यतया न्वागी खान कात्तिक शुक्ल द्वादशी नै उपयुक्त रहेपनि मार्ग (मङ्सिर) शुक्ल पञ्चमीसम्म न्वागीका लागि होमादी गर्न सकिने परम्परा रहेको अर्का कर्मकाण्डी पुरोहित व्राह्मण भङ्गाहा–५ सीतापुर बजारका विष्णुप्रसाद दाहालको भनाइ छ ।

footwear zone

पर्वमा होमादी गर्न कूल पुरोहित वा अन्य कर्मकाण्डी व्राह्मण अनिवार्य हुने हुँदा आज पुरोहितको व्यस्तता पनि निकै बढेको देखिन्छ । यस पर्वमा होमादी अर्पण गरी इष्टजनलाई आमन्त्रण गरेर ख्वाउने खाने प्रचलन रहेको छ ।

 

You might also like

Comments are closed.