खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका २७ घरका बासिन्दाको घरमा स्वच्छ खानेपानी उपलब्ध गराइएको छ । नगरपालिकाको १० लाख रूपैयाँ नगद र प्राविधिक सहयोग तथा उपभोक्ता समितिको जनश्रमदान गरी १८ लाख रूपैयाँ भन्दा बढी लगानीमा खार्मीस्थित सिरुवानी, रुयल र मानेडाँडाका २७ घर स्थानीय बासिन्दाका हरेक घरमा स्वच्छ खानेपानी उपलब्ध गराइएको हो ।
वर्षौँदेखि खानेपानीको समस्या भोग्दै आएका तीन गाउँका २७ घर उपभोक्ताका हरेक घरमा निर्माण गरिएका खानेपानीको धारामा अहिले २४सै घण्टा स्वच्छ पानी आउने गरेको स्थानीय उपभोक्ता एवं नेकपा (माओवादी केन्द्र)का गाउँस्तरीय नेता शिवजी राईले बताए । “हाम्रो गाउँमा खानेपानीको जोहो गर्न बिहान ३ बजे उठेर कुवा तथा खोला धाउनुपथ्र्याे”, उनले भने, “नगरपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालन गरिएको खानेपानी योजनाबाट अहिले हरेक उपभोक्ताको घरमा २४सै घण्टा पर्याप्त खानेपानी आएको छ ।”
खानेपानी योजना सञ्चालन गर्दा प्राविधिक त्रुटिका कारण उपभोक्ता समितिलाई साढे तीन लाख रूपैयाँ भन्दा बढी ऋण लागेको उपभोक्ता समितिका अध्यक्ष नारदकुमार श्रेष्ठले बताए । “नगरपालिकाले योजना दिएपछि हरेक घरमा खानेपानी त पु¥याइयो”, उनले भने, “सिरुवानी, रुयल र मानेडाँडाका २७ घरमा निर्माण गरिने धाराका लागि फिल्डमा खटिएका प्राविधिकले फिटिङ (ट्याङ्की तथा धारामा प्रयोग हुने सामान)को सामग्री खरिद गर्न भनेर २२ हजार रूपैयाँ मात्र छुट्याएको रहेछ, प्राविधिकको कमजोरीका कारण रु तीन लाखभन्दा बढी उपभोक्ता समिति ऋणमा परेको छ ।”

खार्मीमा सञ्चालित खानेपानी योजनामा देखिएको प्राविधिक त्रुटिका विषयमा नगरपालिकाका प्रमुख इञ्जीनियरसँग परामर्श गरेर समाधान गरिने नगरप्रमुख दीपनारायण रिजालले बताए । नगरपालिकाको ९० र उपभोक्ता समितिको १० प्रतिशत लगानी भनेर सञ्चालन गरिएको खानेपानी योजनाअन्तर्गत रुयलमा निर्माण गरिएको ट्याङ्कीबाट रुयल र मानेडाँडाका गरी २१ घर तथा सिरुवानीमा निर्माण गरिएको ट्याङ्कीबाट छ घर उपभोक्ताको घरमा पानी वितरण गरिएको छ ।
सात सय ७४ घरधुरी जनसङ्ख्या रहेको खार्मीका अधिकांश टोलमा लामो समयअघिदेखि खानेपानीको समस्या रहेको वडाध्यक्ष रामचन्द्र राईले बताए । खार्मीका स्थानीय उपभोक्ताका लागि केही ठाउँमा दातृ निकायले सञ्चालन गरेको खानेपानी योजनाबाहेक सरकारी क्षेत्रबाट सहयोग भएको छैन । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारबाट उत्तरी क्षेत्रमा पर्ने खार्मीका अधिकांश स्थानीय बासिन्दा आफँैले पाइप खरिद गरेर खोला तथा कुवाको पानी तानेर उपभोग गर्दै आएका छन् ।




Comments are closed.