पोखरा । नेपाल–बङ्गलादेश बीच पर्यटन प्रवद्र्धनदेखि व्यवसायिक साझेदारी लगायतका विषयमा पोखरामा छलफल भएको छ । पोखरा पर्यटन परिषद्को समन्वयमा प्यासिफिक एसिया ट्राभल एशोसिएशन (पाटा) नेपाल च्याप्टरले पाटा बङ्गलादेश च्याप्टरको सहकार्यमा ‘नेपाल–बङ्गलादेश पर्यटन प्रवद्र्धन एण्ड बिटुबी एक्सचेन्ज कार्यक्रम’ पहिलो चरणमा पोखरामा गरेको हो ।
सो कार्यक्रममा नोभेम्बर १६ देखि २१ सम्म गन्तव्य प्रवद्र्धनदेखि व्यावसायिक साझेदारि एवं प्रवद्र्धनका विषयमा छलफल अन्तर्गत पाटाको टोलीले पोखराका पर्यटन ब्यवसायीसँग सो विषयमा छलफल गरेको परिषदका महासचिव रामचन्द्र शर्माले जानकारी दिए । उनका अनुसार कार्यक्रममा पाटा बङ्गलादेश च्याप्टरका अध्यक्ष साहिद हमीद, महासचिव तफिक रेहेमानसहित सहतिको पर्यटन व्यवसायीको टोलीले पोखराका पर्यटन व्यवसायीसँग छलफल गरेका थिए । उक्त टोलीमा बङ्गलादेशका टूर अप्रेटर, मिडिया र युनिभर्सिटिका पाटा स्टुडेन्ट च्याप्टरका प्रतिनिधि पनि सहभागी छन् । क्षेत्रीय पर्यटन प्रवद्र्धन अन्तर्गत हुन लागेको बिटुबी (बिजनेश टु विजनेश) सम्झौताका लागि यो टोली नेपाल आइपुगेको हो ।
कार्यक्रम अनुसार नोभेम्बर १७ देखि १९ सम्म पोखराको प्रमुख गन्तब्यको अवलोकन पोखराका पर्यटन व्यवसायी र सरोकारवाला व्यवसायीसँग अन्तक्र्रिया कार्यक्रम गरिने पाटा नेपालका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुरेशसिंह बुडालले जानकारी दिए । बुडालले आर्थिक सम्बन्ध दरिलो बनाउन दुई देश बीचका पर्यटकीय क्षेत्रको प्रवद्र्धन व्यवसायिक साझेदारीमा संभाव्यताको खोजीका लागि कार्यक्रम फलदायी हुने विश्वास व्यक्त गरे । उनका अनुसार यसपछि काठमाडौँमा बिटुबी कार्यक्रममा ‘डेस्टिनेशन इनसाईड’बारे प्रस्तुितकरण गरिनेछ ।

बङ्गलादेश पाटा च्याप्टरका अध्यक्ष साहिद हमीदले कोभिड महामारीको चपेटामा परेको पर्यटन क्षेत्र प्रवद्र्धनका लागि नविनतम सोच र अवधारणा खाँचो औल्याउँदै क्षेत्रीय पर्यटन प्रवद्र्धनमा जोड दिनुपर्ने बताए । हमीदले आन्तरिक पर्यटन मुलुककोे मेरुदण्ड भएकाले सन् २०२२का लागि क्षेत्रीय सहकार्य गरेर अघि बढ्न जरुरी रहेको जनाउँदै अहिलेको प्राथमिकता भनेको ‘सर्ट हल फ्लाइट’ हुने अन्तर्राष्ट्रिय बजार रहेको प्रष्टाए । पाटा नेपालले निकट भविष्यमा भारत, श्रीलङ्का, भुटान, म्यान्मारलगायत मुलुकसँग दुईतर्फी क्षेत्रीय पर्यटन प्रवद्र्धन गर्ने उद्देश्य राखेको उनले जानकारी दिए ।
परिषदका पूर्व अध्यक्ष एवम् कार्यक्रम संयोजक टिकाराम सापकोटाले भौगोलिक दुरीका हिसाबले जम्मा २७ किलोटिर टाढा रहेको बंगलादेशसँग नेपालले साझेदारीमा आर्थिक समृद्धिका लागि धेरै कार्य गर्न सक्ने बताए । उनले कोरोना पछि दुई देश बिचको नेटवर्किङका लागि भएको यो कार्यक्रमले आगामि दिनमा दुईदेश बीच पर्यटन प्रवद्र्धन लगायत व्यवसायिक साझेदारीमा धेरै काम गर्न सकिने बताए । कार्यक्रममा पोखराका पर्यटन व्यवसायसँग आवद्ध व्यवसायी र सरोकारवालाहरुको सहभागिता थियो ।




Comments are closed.