मनकामनामा दर्शनार्थीको संख्या बढ्दै, एकैदिन ६ हजारभन्दा बढीले चढे केबलकार

मुुग्लिन । गोरखाको सहिद लखन गाउँपालिकास्थित मनकामनामा अवस्थित प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर दर्शन गर्न आउने दर्शनार्थीको संख्या बढ्दै गएको छ । कोरोना भाइरसका कारण लामो समय बन्द भई गत भदौ २३ गतेदेखि खुला गरिएको मनकामना मन्दिरमा आउने दर्शनार्थी बढ्दै गएका हुन् ।

हरेक दिन मनकामना मन्दिर दर्शन गर्न आउनेको सङ्ख्यामा वृद्धि हुँदै गएको मनकामना मन्दिरका मूल पुजारी इन्सान थापाले जानकारी दिए । उनका अनुसार शनिबार एकैदिन नौ हजार बढी दर्शनार्थीले मन्दिरको दर्शन गरेका छन् ।

यसैबीच शनिबार मात्र ६ हजारभन्दा बढी दर्शनार्थी मनकामना केबलकार चढेर मनकामना दर्शन गर्न पुगेका छन् । मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले शनिबार एकैदिन ६ हजार ७ सय जनाले केबलकार चढेको बताए । उनका अनुसार कोरोना महामारीका कारण बन्द भएपछि सञ्चालनमा आएको केबलकार एकैदिन ६ हजार ७ सय जनाले चढेको पहिलोपटक हो । कोरोना महामारीअघि दैनिक ४ हजार ५ सय भन्दा बढी दर्शनार्थी केबलकार चढेर मनकामना मन्दिर पुग्ने गर्दथे । सार्वजनिक बिदा र शनिबारका दिन भने सोभन्दा बढी सङ्ख्यामा दर्शनार्थीहरू केबलकार चढेर मनकामना मन्दिर पुग्ने गरेको नायब महाप्रबन्धक शेरचनले बताए ।

footwear zone

मनकामना मन्दिर जाने दर्शनार्थीको सहजताका लागि सञ्चालनमा रहेको मनकामना केलबकारको तल्लो प्रदेशद्वार चितवनको इच्छाकामना–४ चेरेसमा रहेको छ । केबलकारबाहेक मोटरबाटो र पैदलमार्फत पनि दर्शनार्थी मन्दिर पुग्ने गर्दछन् ।

You might also like

Comments are closed.