राष्ट्रिय जनगणना : गणकलाई खाना र चिया

सिद्धराज भट्ट । राष्ट्रिय जनगणना २०७८ को गणकमा खटिएकी वसन्ती सापकोटा घर घरमा पुगेर तथ्याङ्क लिइरहँदा निकै खुशी मुद्रामा भेटिइन् । जनगणनाको काममा खटिँदा कतिपय परिवारबाट आफूले पाइरहेको स्वागत सत्कारको व्यवहारले जनगणना गर्ने काममा हौसला मिलेको उनले बताइन् ।

“आफूले आजसम्म गणना सकेको ९० प्रतिशत घरधुरीमा निकै स्वागत सत्कार भएको पाएँ”, धनगढी उपमहानगरपालिकामा खटिएकी उनले भनिन्, “तथ्याङ्क सङ्कलनका क्रममा कतिपयले खाना खुवाएरै पठाउनुभयो, अन्य कतिपयले चिया खाजा खुवाएर पठाउनुभयो ।”

गणकहरुले गणना गर्ने महत्वपूर्ण जिम्मेवारीमा रहेर काम गर्दा नयाँ अनुभव र राष्ट्रिय जिम्मेवारी पूरा गरिरहेको अनुभूति भइरहेको उनले बताइन् । धनगढी –१३ मा खटिएकी गोमाकुमारी नौन्यालले धेरै परिवारबाट तथ्याङ्क लिने काममा सहयोग प्राप्त भइरहेको अनुभव सुनाइन् । उनले भनिन्, ‘‘घरमा पुग्दा धेरै परिवारबाट राम्रो व्यवहार पाएँ, कतिपयवाट भने राष्ट्रिय जनगणनाको महत्व आवश्यकताबारे सम्झाइबुझाइ गर्दा मात्र सोधिएका प्रश्नको उत्तर पाइन्छ ।’’

footwear zone

उनले आफ्नो जिम्मामा रहेका जम्मा २२५ घरपरिवारमध्ये अब १५ घर बाहेक सबैको तथ्याङ्क लिइसकेकी छन् । बाँकी रहेका घरमा आगामी एक दुई दिनभित्र सक्ने लक्ष्य उनको छ । उनले अनुभव सुनाइन् ,‘‘कतिपय परिवार घरमा नभेटिने, भेटिएका कतिपयले तथ्याङ्क किन लिएको भनी बढी चासो लिने गरेको पाइयो ।’’

तथ्याङ्क लिन घरमा जाँदा फेला नपर्ने कतिपय परिवारको घरमा भने पटक–पटक पुग्नु परेको गणकको भनाइ छ । घरपरिवारका सदस्य बिहानै काममा घरबाट निस्किएर साँझ मात्र फर्किने गर्दा कतिपय घरमा मान्छे नभेटिने गरेको बताइएको छ ।

गणक वसन्तीले कतिपय परिवारका मान्छेले गणनाका क्रममा गरिने प्रश्नको जवाफ दिने क्रममा आफूहरुलाई पनि पैसा मिल्ने हो कि भन्ने जिज्ञासा राख्ने गरेको अनुभव सुनाइन् । जिल्ला जनगणना कार्यालय कैलालीका प्रमुख सुरेन्द्र रावलले जनगणनाको कार्य उत्साहपूर्वक भइरहेको बताए ।

उनले भने, ‘‘तराईका क्षेत्रमा प्रत्येक गणकलाई २५० घर नबढ्ने गरी र भौगोलिक रुपमा विकट र पहाडी क्षेत्रमा १९० घर नबढ्ने गरी गणना गर्न जिम्मेवारी दिइएको छ ।’’ घरमा आउने गणकले घरपरिवारलाई मुख्य र सहायक प्रश्न गरी ८० वटा प्रश्न सोधेर तथ्याङ्क सङ्कलन गर्ने गरेका छन् । गणकले घरपरिवारका सदस्यको नाम, उमेर, जन्म मिति, परिवारका सदस्य सङ्ख्या, धर्म, पुख्र्यौली भाषा, मातृ भाषा, अपाङ्गता भए नभएको, शैक्षिक योग्यता, बसाइँसराइ गरे नगरेको जस्ता प्रश्न सोध्ने गरेका छन् ।

यस्तै अपनाएको पेशा व्यवसाय, घरमा इन्टर नेट, रेडियो, टिभी, खानेपानीको सुविधा भए नभए, विवाह गर्दाको उमेर, घर संरचना, दर्ता नभएका उद्योग व्यवसाय, गएको एक वर्षमा परिवारका सदस्यमा कसैको मृत्यु भए नभएको, महिलाका नाममा जग्गा भए नभएको, आदि विषयमा तथ्याङ्क लिने गरेका छन् ।

बाह्रौं राष्ट्रिय जनगणना अन्तर्गतको मूल गणनाको काममा खटिएका गणकले गएको कात्तिक २५ देखि घर घरमा पुगेर घरपरिवारको तथ्याङ्क लिइरहेका छन् । मूल गणनाको काम यही मङ्सिर ९ सम्म गरिने कार्यतालिका छ । यसअघि गएको भदौ र असोजमा राष्ट्रिय जनगणना अन्तर्गत खटिएका सुपरीवेक्षकद्वारा घरपरिवारको सूचीकरणको कार्य गरिएको थियो ।

सहरी क्षेत्रको तुलनमा ग्रामीण वडाका घरपरिवारमा गणनासम्बन्धी तथ्याङ्क लिने कार्य गर्न केही कठिन भइरहेको बताइएको छ । जनगणनाका बारेमा सहरका बासिन्दा जानकार रहेपनि ग्रामीण क्षेत्रका धेरै बासिन्दा त्यति जानकार नभएको बताइएको छ ।

यसअघि गरिएको घरपरिवारको सूचीकरणका क्रममा घरको किसिम, अवस्था, परिवारको सङ्ख्या, घरपालुवा पशु चौपायाको सङ्ख्या लगायतको विवरण लिइएको थियो ।

अहिलेको जनगणनामा गणना गरिने व्यक्तिको बैंक खाता भएनभएको विवरण सङ्कलनका साथै नेपालभरी भएका घरसंरचना के कस्तो काममा प्रयोग भइरहेका छन् भन्ने विवरण पहिलो पटक सङ्कलन गर्न लागिएको जनाइएको छ । यस्तै यो जनगणनामा देशमा बोलिने भाषाको हकमा पुख्र्यौली भाषाको पाटो थपिएको छ । यस अघिका जनगणनामा मातृ भाषा र अन्य भाषा भन्ने विवरण मात्र सङ्कलन हुने गरेको थियो ।

यसैबीच राष्ट्रिय योजना आयोगको एक टोली सुदूरपश्चिम प्रदेशमा भइरहेको जनणना कार्यको स्थलगत अवलोकन गरी फर्किएको छ । मूल गणनाको काम सकिएको तीन महिनाभित्रमा राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा र छ देखि नौ महिनाभित्रमा पूर्ण नतिजा आउन सक्ने बताइएको छ ।

नेपालमा हरेक १० वर्षमा राष्ट्रिय जनगणना गर्ने गरिएको छ । नेपाल पहिलो पटक विसं १९६८ मा पहिलो राष्ट्रिय जनगणना गरिएको थियो । पछिल्लो पटक विसं २०६८मा गरिएको राष्ट्रिय जनगणनामा नेपालमा दुई करोड ६४लाख ९४ हजार ५०४ लाख व्यक्तिको गणना गरिएको थियो । रासस

You might also like

Comments are closed.