बुडर–रिठा सडक कालोपत्र

डोटी । जिल्लाको बुडर–जोरायल सडकखण्ड अन्तर्गत पर्ने रिठासम्मको सडक कालोपत्र सुरुआत भएको छ । कोभिड–१९ का कारण कालोपत्रका काममा ढिलाइ भएको थियो । अहिले सडक कालोपत्रका लागि धमाधम काम सुरु भएको कामको गर्ने जिम्मा पाएको कम्पनीले जनाएको छ ।

विसं २०७४ असार ४ मा उक्त सडक कालोपत्र गर्ने जिम्मेवारी राजेन्द्र निर्माण सेवाले लिएको थियो । बुडरदेखि रिठासम्म १० किलोमिटर कालोपत्र गर्न २१ करोड ३९ लाख २२ हजार ४ सय ४० रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । उक्त सडकको ८० प्रतिशत काम सकिएको सुदूरपश्चिम प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत पूर्वाधार विकास कार्यालय डडेल्धुराका निमित्त डिभिजन प्रमुख अनिल भट्टले बताए । उनले भने, “सडक कालोपत्रको ८० प्रतिशत काम सकिएको छ, अब चाँडै कालोपत्र हुन्छ ।”

ठेक्का सम्झौताअनुसार दुई वर्षभित्र सम्पन्न गरिसक्नुपर्ने उक्त सडकको म्याद विसं २०७६ असार मसान्त सम्झौता सकिएर पहिलोपटक म्याद थप गरिएको थियो । एक वर्ष म्याद थपेर पनि निर्माण कार्य सम्पन्न नभएपछि पूर्वाधार विकास कार्यालय डडेल्धुराले पुनः गत असारमा दोस्रोपटक म्याद थप गरी चालु आर्थिक वर्षको आगामी चैत मसान्तसम्म सम्पन्न गरिसक्नुपर्ने आदेश दिएको थियो । उक्त सडक कालोपत्र गर्ने क्रममा रहे पनि निर्माण कम्पनीको लापरबाहीले सडक गुणस्तरीय नभएको जोरायल गाउँपालिका–२ का स्थानीयवासी महेन्द्र थापाले बताए । उनले भने, “कालोपत्र (डिबिएसटी) पहिलो फेजअन्तर्गत सब ग्रेड (सम्याउने ग्रेडिङ गर्ने, कम्प्याक्सन गर्ने) नगरी दोस्रो फेज सब बेस गरेको पानी पिच गरिएको छ, उक्त सडक दीर्घायु हुँदैन ।”

footwear zone

कालोपत्रका लागि तीनपटक गर्नुपर्ने प्रावधान भए पनि एकपटक मात्रै सब ग्रेड गरिएको र मेसिनरी वाल, नालीको डिजाइन अनुमानभन्दा गुणस्तरहीन भएको स्थानीयवासीको आरोप छ ।

यस्तै, जहाँ ढुङ्गा–गिट्टी पाइयो त्यही ठाउँमा वालहरु बनाइएको छ भने मेसिनरी वालमा १–४ को मसला हुनुपर्नेमा १–८ को मसला हालेको फिल्डमा देखिएको अर्का स्थानीयवासी रामबहादुर विकले बताए । उनका अनुसार उक्त सडक कालोपत्र निर्माण सम्पन्न नहुँदै भत्किएको छ । उक्त सडक निर्माणका लागि गत असार मसान्तसम्म १४ करोड १३ लाख ९८ हजार ८ सय ३ रुपैयाँ भुक्तानी भइसकेको पूर्वाधार विकास कार्यालय डडेल्धुराका निमित्त डिभिजन प्रमुख भट्टले जानकारी दिए ।

कालोपत्र गर्ने पेटी ठेकेदार रुपलाल पाण्डेका अनुसार कोभिड–१९ को प्रभावका कारण काममा ढिलाइ भएको तर अब छिट्टै कालोपत्रको काम हुने बताए । उनले भने, “कोरोनाका कारण कालोपत्रको काममा केही ढिलाइ भएको हो, अब चाँडै सुरु हुन्छ, सम्झौतामा भएअनुसार काम गरेका छौँ, निर्माण स्थलमा आएर जाँच गर्दा हुन्छ ।”

You might also like

Comments are closed.