किबी खेतीबाट मनग्य आम्दानी

पेमा लामा, बनेपा । थाक्रोभरि फिँजिएको लहरोमा लटरम्म किबी फलिरहेको छ । टाढाबाट हेर्दा खासै केही नदेखिने लहराको थाक्रोभित्र पुगेर हेर्दाभने मनै लोभ्याउने गरी लटरम फलेको किबीले काम गर्ने किसानलाई थप मेहनत गर्न हौसल्ला मिलेको छ । जसको स्याहार सम्भार गर्ने काम बुद्ध स्याङतान परिवारले गर्दै आएको छन् ।

काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–११ फस्कोटमा विगत १६ वर्षदेखि किबीको स्याहार गर्दै आएका स्याङतानले यसबाट मनग्गे आम्दानी हुने बताए । आफूसँग काम गर्ने आँट र जाँगर भए रोजगारीका लागि विदेश जानु पर्दैन भन्ने उदाहरण किबी खेतीले दिएको छ । उनका अनुसार अब मङ्सिरको दोस्रो–तेस्रो सातादेखि किबी टिप्ने र ग्रेडिङ गरेर बजारीकरण गर्ने काम सुरु हुनेछ । हिमालयन अर्गानिक किबी फर्मले उत्पादन गर्दै आएको सो खेती १६ रोपनी जग्गामा भइरहेको छ ।

एउटा बोटमा ६० देखि ७० किलोसम्म फल्ने गरेको छ । फराकिलो क्षेत्रफलमा रोप्नुपर्ने भएकाले एक रोपनी जग्गामा करिब २० बोटसम्म खेती गर्न सकिने उनको भनाइ छ । रोपेको बोटबाट एक रोपनी क्षेत्रफलमा वार्षिक एक लाख रुपैयाँ भन्दा बढी आम्दानी हुने गरेको उनले बताए । यस हिसाबले यस खेतीबाट वार्षिक १६ लाख रुपैयाँसम्म आम्दानी हुँदै आएको उनको भनाइ छ ।

footwear zone

विसं २०६२/६३ सालदेखि रोप्न सुरु गरेको सो खेती रोपेको तीन वर्षदेखि फल लाग्न थालेकोमा अहिले वार्षिक रुपमा निरन्तर उत्पादन र बिक्री हुँदै आएको स्याङतानले बताए । “अहिले वार्षिक ६/७ टन उत्पादन हुन्छ”, उनले भने, “उत्पादन भएको किबी गुणस्तर भएकाले बिक्री भएन भनेर चिन्ता लिनुपर्ने अवस्था छैन, स्तर अनुसारको उत्पादनको मूल्य पाउने गरेको छ ।”

नार्कमा जागिरे पाण्डेले जागिरबाट अवकासपछि किबी बगैँचा स्थापना गरेपछि मकवानपुर जिल्ला वाग्मती गाउँपालिका– ९ बेतेनी लिति घर भएका उनले अब व्यावसायिक रुपमा किबी खेतीमा काम गर्ने अवसर पाउनु भएको हो । सामान्यतया किबी फलेको २ सय ४० दिनमा फल पाक्ने गर्दछ । “वैशाखमा फल्न सुरु गरेर मङ्सिरसम्ममा पाकेर बेच्न तयार हुन्छ”, उनले भने, “ग्रेडिङको आधारमा आधा किलोको ए ग्रेडको ३ सय ५०, बी ग्रेडको २ सय ५० र सी ग्रेडको १ सय ५० देखि २ सय सम्ममा बिक्री हुन्छ ।” खेती गर्नेले एक पटक टिपेर थुपार्ने गरेका कारण समस्या आउने गरेको देखेको तर आफूहरुले गरेको खेतीमा भने मागको आधारमा टिप्ने र बजारीकरण गर्ने गरेका कारण खासै समया नभएको उनको भनाइ छ ।

पाकेर धेरै टिप्नुपर्ने अवस्था आएमा चिस्यानकेन्द्रमा लगेर राख्ने गरेको कारण खासै समस्या नहुने उनले बताए । एक पटक लगाएपछि ५०–६० वर्षसम्म फल दिने किबीमा खासै रोग नलाग्ने भएकाले दुःख धेरै गर्नुनपर्ने र एक पटक लगाएपछि निरन्तर फल लिन पाउने भएका कारण पनि खती गर्नलाई सहज हुने उनको भनाइ छ । किबी खेतीसँगै सो फर्मबाट बिरुवासमेत बिक्री गर्दै आएको छ । सो फर्ममा फल बिक्रीका साथै नर्सरीसमेत राखेर थप आयआर्जन गर्दै आएको हो । कामदार स्याङतानका अनुसार भूकम्प अगाडि वर्षको ६÷७ हजार गोटा बिरुवा बेच्ने गरेकोमा त्यसपछि भने अहिले एक हजारदेखि एक हजार ५ सय सम्म बिरुवा बिक्री हुने गरेको उनले बताए ।

सबै अर्डर अनुसार नै बिरुवा उत्पादन गरी थप आम्दानी गर्दै आएका छन् । यहाँ उत्पादन भएका किबी काठमाडौं भाटभटेनी सुपरमार्केटमा ग्रेडिङ गरेर प्याकेट बनाई बिक्री गर्दै आएको उनले बताए । फर्म सञ्चालक पाण्डेले तेमाल गाउँपालिका–६ ठूलो पसलमा करिब ५०–६० रोपनीमा ड्रागन फ्रुट र मेकाडेमिय नटको खेती गरिरहेका छन् । यसअघि सबै परिवार नै सो फर्ममा काम गरेको उनले अब छुट्टै गर्ने सोच बनाएको सुनाए । त्यसका लागि चार पाँच रोपनी जग्गाको व्यवस्थापनमा लागिरहको उनको भनाइ छ । अहिलेसम्ममा उनले मासिक २० हजार रुपैयाँमा फर्म सञ्चालक डा सूर्यप्रसाद पाण्डेकोमा काम गर्दै आएको छन् ।

सोही फर्ममा काम गरेको अनुभवको आधारमा नर्सरी सुरु गर्न लागिएको उनले बताए । खेती सुरु गरेदेखि त्यही काम गर्दै आएका उनी अब आफैले किबीलगायत एभोकाडो, कागतीको नर्सरी व्यवसाय सञ्चालन गर्ने तयारीमा छन् । “स्थापनाकालदेखि नै यही काम गरेँ, अब आफैले लगानी गरेर छुट्टै नर्सरी व्यवसाय सुरु गर्ने गरी सबै तयारी गरिसकेको छु”, उनले भने, “उत्पादन हुने बिरुवा बिक्री गर्न कुनै समस्या नहुने भएकाले नर्सरी व्यवसाय गर्ने तयारीमा छु ।”

समुद्री सतहबाट एक हजार मिटरभन्दा माथिको उचाइमा किबीको उत्पादन लिन सकिन्छ । फलफूलमध्ये सबैभन्दा धेरै पौष्टिकतत्व भएको फलको रुपमा किबी रहेको छ । किबीको फल र बिरुवा दुवैबाट फाइदा लिन सकिन्छ । एउटै रुखमा ५० देखि ७० किलोग्रामसम्म फल लाग्छ भने प्रतिकिलो ४ सय देखि ६ सय रुपैयाँसम्ममा सजिलैसँग बिक्री हुने गरेको किसानको भनाइ छ ।

You might also like

Comments are closed.