दिलकुमार लिम्बू, फुङ्लिङ । फावाखोलाका टेकबहादुर विष्ट ताप्लेजुङ, फुङ्लिङ नगरपालिकाका फावाखोला गाउँको शिर नामसालिङ खर्कमा बाख्रा हेर्दै दिन बिताउँछन् । त्यस खर्कमा ७० बोयर बाख्रा (मासुका लागि पालिने अफ्रिकी जातको) चरिरहेको देख्दा जो कोहीको मन लोभिन्छ ।
विदेश छाडेर स्वदेशकै माटामा रमाउनेमध्ये टेकबहादुर एक उदाहरण हुन् । यसअघि उनले विदेश जाने विचार नगरेको होइन । अष्ट्रेलिया जाने सपना बोकेर २०५६ सालमा उनी काठमाडौंमा रहेको हाई हिमालयन म्यानपावर पुगे । त्यहाँ पुगी डलर कमाएर सहरमा एउटा आफ्नै पक्की घर बनाउने, गाडी किन्ने अनि परिवारसंँग विभिन्न गाउँठाउँ घुमघाम गर्ने सपना धेरै दिन टिक्न सकेन । मेनपावर कम्पनीले उनको आठ लाख रुपैयाँ खाएर भागेपछि रङ्गीन सपना औँसीका रातमा बदलियो । हुन त विष्टले जमानामा प्रवेशिका उत्तीर्ण गरेर प्रमाणपत्रसम्मको अध्ययन गरेका थिए । त्यतिबेला एसलसी पास गरेकाहरूले प्रशस्त जागिर पाउँथे । जुन ठाउँमा जागिर खाए पनि रोजगार कम्पनीले खाइदिएको रकम चाँडै कमाउन सकिँदैन भन्ने टेकबहादुरको मनले सोच्यो । त्यसैले उनलाई पैसा कमाउने एक मात्र उपाय आफैँले व्यवसाय सञ्चालन गर्नु हो जस्तो लाग्यो ।
टेकबहादुरले आफ्नै व्यवसाय सुरु गरे । पशु पाल्ने काममा सानैदेखि रुचि भएकाले उनले यसमा सफलता हासिल गरे । विष्टले २०७२ सालमा घरेलु तथा साना उद्योग ताप्लेजुङमा नामसालिङ बोयर बाख्रा फर्म दर्ता गरी बाख्रा पाल्न थाले । उनले बीउका लागि अष्ट्रेलियाबाट दुई लाख ५० हजार रुपैयाँ हालेर बोयर बोका ल्याए । अहिले उनका गोठमा ७० बोयर र २० साना जातका माउ छन् । उनीकहाँ भएको बोयर बोका एउटा नै ९५ केजी जति छ । अहिलेको बोयरको मासु प्रतिकिलो एक हजार दुई सयमा बजारमा बिक्री हुँदै आएको छ । विष्ट मासुभन्दा पनि पाठापाठी बढी बिक्री गर्छन् ।

पाठापाठी बिक्रीबाट आएको पैसामा खर्च कटाउँदा वर्षेनी सात लाख रुपैयाँ जति बचत हुन्छ । उनले फर्मको आम्दानीबाट एक छोरी स्नातकोत्तर, एक छोरा १२ कक्षा र अर्को छोरालाई ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा विद्यालयमा पढाउँदै आएको छन् । टेकबहादुरले बाख्रा पालेर आम्दानी गर्न अरुलाई पनि सघाइरहेको छन् । उनले जिल्लाका नौ पालिकाका बाख्रापालकलाई बोयरको बीउ बोका दिँदै आएको छन् ।
बाख्रा पाल्न टेकबहादुरले स्थानीय सरकारबाट सहयोग पाएको छन् । खोर बनाउनका लागि फुङ्लिङ नगरपालिकाले उनलाई दुई लाख रुपैयाँ सहयोग ग¥यो । त्यसमा दुई लाख रुपैयाँ थपेर उनले खोर बनाए । घरेलु तथा साना उद्योग कार्यालयले पनि उनलाई आवश्यक सामग्री उपलब्ध गरायो ।
टेकबहादुर बाख्रा गोठालो लाग्नु पर्दैन । बीउका बोका र पाठपाठीबाहेक सबै बाख्रा खर्कमा छाडिन्छ । साँझ परेपछि बाख्रा आपैmँ खोर फर्किन्छन् । यसरी खर्कमा छाडिदिँदा जुका, किर्ना र झरीले सताउने गरेकाले उनले छिट्टै जग्गा भाडामा लिएर आधुनिक खोर बनाई बाख्रा बाँधेर पाल्ने विचार गरेका छन् ।
“अब मेरो एउटा सपना छ, अबको केही वर्षमा आफ्नै गाडी चढ्ने”, उनले भने, “यसका लागि अझ बढी आम्दानी गर्न फर्म विस्तार गर्ने विचारमा छु ।” ऋण लिन भने उनलाई अलि समस्या भएको छ । नेपाल बैंक लिमिटेडले चार प्रतिशत वार्षिक ब्याजमा ऋण दिने भनी एक वर्ष झुलायो । अन्त्यमा गाउँको जग्गा धितो नलिने भनी ऋण नदिएको नमीठो अनुभव उनीसँग छ । उनका विचारमा व्यवसायीको व्यवसाय तथा फर्मलाई धितो राखेर बैंकले सहुलियत ब्याज दरमा ऋण दिनुपर्छ । टेकबहादुर अष्ट्रेलिया जान नसके पनि त्यहाँका बोयर जातका बाख्राका सन्तानसँग दिन बिताउँदै त्यहाँ कमाइने जति पैसा आफ्नै गाउँघरमा कमाउन पाउँदा निकै खुशी रहेको बताउँछन् ।
उनी मात्र होइन फुङ्लिङ नगरपालिका, पाथीभरा चोकका फेन्सी व्यापारी डिल्ली थेबे पनि कृषिमा तानिएको छन् । गत वर्ष कोभिड–१९ पैmलिएपछि लामो समय पसल बन्द गर्नुपर्दा उनलाई घाटा लाग्यो । त्यसपछि कोरोनाको दोस्रो लहर आउनु अगाडि उनले पसल बेचिदिए । थेबे अहिले पहिले फेन्सी पसलमा जति व्यस्त थिए, त्यसभन्दा धेरै व्यस्त अहिले छन् । उनलाई व्यस्त राख्ने काम मुक्कुम मल्टीएग्रो भेट प्रालिले गरेको हो । थेबेसमेत पाँच जना मिलेर पाथीभराङ्याङवर गाउँपालिका, नाङ्खल्याङमा ९८ रोपनी जग्गा किनेर यो काम थालेका हुन् अहिलेसम्म एक करोड रुपैयाँ लगानी भइसकेको छ ।
सो फार्ममा अहिले ६० बाख्रा, २०० स्थानीय कुखुरा र सात माऊ बङ्गुर छन् । ह्याचिङ मेसिननमार्फत प्रत्येक हप्ता कुखुराका सय चल्ला उत्पादन हुँदै आएको छ । उनीहरूले फलफूल र तरकारी खेतीमा पनि लगानी गरेका छन् । फुङ्लिङ नगरपालिकाले लगानीको ७५ प्रतिशत अनुदान दिएकाले केरा, दाँते ओखर, कागती र सुन्तला जस्ता फलफूलमा समेत लगानी छ ।
फेन्सी पसलमा उनले कसैलाई रोजगारी दिएको थिएनन् । यता फार्ममा चार जनालाई रोजगारी दिइएको छ । फर्ममा काम गर्ने कर्मचारीलाई महिनाको ६० हजार रुपैयाँ तलबभत्ता दिइएको छ । “कपडा पसलमा पनि ठीकै थियो । घामपानीमा निस्कन पर्दैनथ्यो । पानी पर्दा पनि, घाम लाग्दा पनि ग्राहक छाता ओढेर आउथेँ । सामान बेचेर दुई चार रुपैयाँ जम्मा हुन्थ्यो तर त्यो उत्पादनमूलक व्यवसाय होइन”, उनले भने । फार्म उत्पादनमूलक काम भएकाले थेबे दङ्ग परेका छन् । “अरूको उत्पादन बिक्री गरेर दुई चार रुपैयाँ कमाएको गर्व गर्नुभन्दा आफ्नै पौरखले उत्पादन गरेको सामग्री बिक्री गरेर दुई चार रुपैयाँ हातमा पर्दाको आनन्द छुट्टै हुँदोरहेछ”, उनी गर्व गर्छन् । अरूको काम गर्नुभन्दा आफूले इच्छा लागेको उत्पादनमूलक व्यवसाय गरेमा आय स्रोतको राम्रो बाटो हुनाका साथै आफ्नो पहिचान राख्न सकिने उनको भनाइ छ ।
टेकबहादुर र थेबे मात्र नभई पछिल्लो समयमा कृषिसँंग सम्बन्धित उद्योगले युवा पुस्ताको मन तान्न थालेको छ । फुङ्लिङ नगरपालिका, फाखोलाका कमल विष्ट स्थापित सञ्चारकर्मी हुन् । नेपाल पत्रकार महासङ्घका सदस्य उनले लामो समय फक्ताङलुङ एफएम रेडियोमा काम गरे । पत्रकार भएर आर्थिक क्रान्ति हुँदैन भन्ने लागेर अहिले उनी हर्कटे पशुपालन तथा कृषि फार्म चलाउन लागेका छन् । अहिले उनी बाख्राको खोर बनाउन व्यस्त छन् । उनले पाथीभरायावरक गाउँपालिका, नाङ्खल्याङमा २० रोपनी जग्गा खरिद गरेर गोठ बनाउन थालेका छन् । प्रदेश नं १ कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले खोर बनाउन कमललाई ६ लाख ६८ हजार रुपैयाँ अनुदान दिएको छ । प्रदेश सरकारको ७५ प्रतिशत अनुदान र फाराम सञ्चालकको २५ प्रतिशत लगानीमा खोर बन्दै गरेको कमलले बताए । बाह्र कक्षा उत्तीर्ण कमलले अहिलेसम्म जागिरका लागि कतै आवेदन दिएको छैनन् । “बरु म जस्तै बेरोजगारहरूलाई रोजगारी दिने विचारमा छु”, उनले भने ।
दशवर्षे जनयुद्धमा हिँडेका पाथीभरायाङ्वरक गाउँपालिकाका रमेश राई पनि सात वर्षअघिदेखि कृषि क्षेत्रमा रमाउन थालेका छन् । जिल्लामा क्रियाशील र स्थापित नेता ‘रसिक’ले अहिले फुङलिङ नगरपालिकामा डुम्री कृषि फर्म सञ्चालन गर्दै आएको छन् । उनका फार्मबाट मासिक चार सय किलो च्याउ उत्पादन हुँदै आएको छ । च्याउको बजार धेरै राम्रो छ । प्रतिकिलो २ सय ४० मा च्याउ बिक्री हुन्छ । परिवारसँग बसेर मासिक एक लाख रुपैयाँको हाराहारीमा आम्दानी हुन थालेपछि उनी दङ्ग छन् ।
युवाले खाडी मुलुक तथा भारत जानुभन्दा आफ्नै देशमा पसिना बगाउन सकेमा धेरै आम्दानी गर्न सकिने उनी बताउँछन् । आधुनिक प्रविधि प्रयोग गरेर देशमै कृषि व्यवसाय गरेमा विदेश जानु नपर्ने उनको भनाइ छ । “बेरोजगार तथा इच्छुक युवाहरू आउनुस् । यहाँ रोजगारी दिन्छु, सीप पनि सिकाउँछु”, उनी भन्छन्, “विदेशी भूमिमा घण्टौँ पसिना बगाएर छोराछोरीको पालनपोषण गर्नुभन्दा नेपाली भूमिमै पसिना बगाएर आम्दानी गर्न सकिन्छ । ” विदेशमा पसिना बगाउनुभन्दा आफ्नै देशमा कृषि वा अन्य व्यवसाय गरेर मनग्य आम्दानी हुने भएकाले स्वदेशमै केही गर्न उनी युवालाई सुझाउँछन् । “बाख्राबाट पनि राम्रै आम्दानी हुन्छ, गरे देशमै सुन फलाउन सकिन्छ” राईले भने ।
जिल्लामा प्रत्येक वर्ष वैदेशिक रोजगारीमा जानेको तथ्याङ्क हेर्ने हो भने हजारभन्दा धेरै खाडी मुलकमा जाने गरेका छन् । विसं २०७५ मा एक हजार ५ सय ८८ र २०७६ मा एक हजार ८ सय ६८ जनाले वैदेशिक रोजगारीमा जानका लागि राहदानी बनाएकामा २०७७ सालमा घटेर एक हजार ९३ जनाले बनाएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी गायत्रा अधिकारीले बताइन् । तीन वर्षको मात्र तथ्याङ्क हेर्दा जिल्लामा चार हजार ५ सय ४९ जना वैदेशिक रोजगारीमा गएको देखिन्छ ।
जिल्लामा पछिल्लो पुस्ताका युवामा कृषि क्षेत्रप्रति आकर्षण बढ्दै गएको घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङका उद्योग अधिकृत देउप्रसाद तामाङले बताए । “आफ्नै गाउँठाउँमा सुन फलाउन सकिन्छ”, उनले भने । जिल्लामा प्रत्येक वर्ष घरेलु तथा साना उद्योग दर्ता गर्नेहरू बढ्दै गएको जिल्ला उद्योग कार्यालयको तथ्याङ्कले जनाएको छ । जिल्लामा एक हजार ३ सय ५ उद्योग तथा फर्म दर्ता भएर सञ्चालन भइरहेको कार्यालयले जनाएको छ । विभिन्न व्यापार, व्यवसाय सञ्चालन गर्नका लागि एक हजार दश फर्म दर्ता भएको छ । सबैभन्दा धेरै कृषिसँग सम्बन्धित उद्योग तथा फर्म दर्ता भएको उद्योग अधिकृत तामाङले बताए ।




Comments are closed.