काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३ सय १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा कृष्णप्रसाद पौडेलले बुधबार १२ हजार ७ सय २७ जनामा कोरोना परीक्षण गर्दा ३ सय १६ जनामा संक्रमण पुष्टि भएको बताए ।
उनका अनुसार सक्रिय संक्रमित छ हजार ९ सय ५४ पुगेको छ । पछिल्लो समय थप २ सय ५९ जना संक्रमणमुक्त भएको पौडेलले जानकारी दिए । योसँगै आठ लाख तीन हजार १ सय ६८ जना संक्रमण मुक्त भएका छन् ।
पाँच सयभन्दा बढी संक्रमण भएका जिल्ला काठमाडौं र ललितपुर रहेका छन् । दुई सयभन्दा बढी संक्रमित भएका जिल्लामा सुनसरी, धनुषा, भक्तपुर, कास्की, पूर्वनवलपरासी, बाँके र कैलाली रहेका छन् । यस्तै शून्य संक्रमित भएका जिल्ला मनाङ, हुम्ला, सल्यान जाजरकोट र मुगु रहेका छन् । नेपालमा संक्रमण दर १७.७ प्रतिशत रहेको छ । उनका अनुसार हाल होमआइसोलेशनमा छ हजार ६ सय १०, संस्थागत आइसोलेसनमा ३ सय ४४, आइसियुमा १ सय २० र भेन्टिलेटरमा ३७ जनाको उपचार हुँदैछ ।

तीन जनाको मृत्यु
मन्त्रालयका प्रवक्ता डा पौडेलले पछिल्लो २४ घण्टामा कोरोनाबाट बुधबार थप तीन जनाको मृत्यु भएको जानकारी दिए । योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५ सय २९ पुगेको छ । त्यसैगरी पछिल्लो समय दुई लाख २७ हजार ५ सय ८४ ले कोरोना भाइरसविरुद्धको खोप लगाएको उनले बताए । हालसम्म पहिलो मात्रा एक करोड ३० लाख ४ सय ८ ले र पूर्ण मात्रा ८५ लाख १४ हजार ६ सय ८४ जनाले खोप लगाएका छन् ।




Comments are closed.