काठमाडौं । राष्ट्रकवि डा माधवप्रसाद घिमिरेले नेपाली साहित्यको क्षेत्रमा पु¥याएको योगदानको कदरस्वरुप उनको मुखाकृति अङ्कित हुलाक टिकट प्रकाशन गरिएको छ । राष्ट्रकवि घिमिरेले नेपालको राष्ट्रिय गौरवलाई उचाइमा पु¥याउन दिनुभएको अतुलनीय योगदानको उच्च कदर गर्दै बुधबार सूचना, सञ्चार तथा प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सो हुलाक टिकटमा टाँचा प्रदान गरे ।
विसं १९७६ असोज ७ गते लमजुङ जिल्लाको पुस्तुनमा बुवा गौरीशङ्कर उपाध्याय घिमिरे तथा आमा द्रौपदीदेवी घिमिरेको कोखबाट जन्मिएका राष्ट्रकवि घिमिरेको २०७७ साल भदौ २ गते निधन भएको थियो । राष्ट्रकवि घिमिरेको जीवनकालमै प्रकाशनमा ल्याउने सरकारको २०७६ चैत ९ गतेको निणर्यबमोजिम हुलाक सेवा विभागबाट १० रुपैयाँ दरको हुलाक टिकट प्रकाशनमा ल्याउन अन्तर्राष्ट्रिय बोलपत्रका माध्यमबाट छपाइ भई परीक्षण र प्रकाशनको तयारीमा रहँदारहँदै गत भदौ २ गते स्वर्गारोहण भएको थियो । स्वर्गारोहण भए पनि विभागले राष्ट्रपति घिमिरेको उच्च सम्मान गर्दै टिकट प्रकाशनमा ल्याएको जानकारी दिए ।
नेपाली साहित्यको स्वच्छन्दतावादी भावधारा तथा परिष्कारवादी शैलीका काव्य, खण्डकाव्य, गीतिकाव्य, गीतिनाटक, बालसाहित्य तथा अनुवादको उच्चस्तरीय एवं बहुसङ्ख्यक अतुलनीय साहित्यिक कृतिको सिर्जनाद्वारा नेपाली साहित्यको श्रीवृद्धिमा अनवरत योगदान गर्नुभएका घिमिरे राष्ट्रप्रमुखबाट २०६० साल असोज ८ गते राष्ट्रकविको उपाधिद्वारा सम्मानित भएका थिए ।

सोही अवसरमा मन्त्री कार्कीले राष्ट्रकवि घिमिरेले कवितामार्फत नेपाल र नेपालीले देखेका सपना पूरा गर्न सबै आआफ्नो क्षेत्रबाट लाग्न आग्रह गरे । मन्त्री कार्कीले भने, “राष्ट्रकवि घिमिरे जतिञ्जेल यो धर्तीमा रहे । उनि सबैको प्रिय बने, सबैको प्रेरणाको स्रोत बने, स्वर्गारोहणपछि पनि सबैको प्रेरणाको स्रोत हुन्, उनि कालजयी हुन्, पुस्तौँपुस्तासम्म उनको सस्मरण रहिरहनेछ, त्यसलाई अझै ताजा स्मरण गराउनका निमित्त हामीले हुलाक टिकट प्रकाशन गरेका छौँ ।”




Comments are closed.