पर्यटकीय गन्तव्यस्थल बन्दै आँधीमूल

कृष्ण न्यौपाने/दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिका–१ स्थित आँधीमूल पर्यटकीय गन्तव्यस्थलका रुपमा विकास हुन थालेको छ । पृथ्वीराजमार्गबाट नजिकै रहेका कारण यो ठाउँ पछिल्लो समय पर्यटकीय गन्तव्यस्थलका रुपमा विकास हुन थालेको हो । पृथ्वीराजमार्गको सत्रसयबाट २० मिनेटको दूरीमा आँधीमूल पुग्न सकिन्छ ।

आँधीमूलमा रहेको मन्दिर, २३ वटा धारा लगायतले यहाँ आउने पर्यटकलाई लोभ्याउने गरेको छ । आँधीमूलमा ठूलो एकादशीका दिन पनि विशेष मेला लाग्ने गरेको छ । आँधीमूल मन्दिरको दर्शन गरे मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहेको पाइन्छ । आँधीमूल स्थल रमणीय भएकाले पूजाअर्चनाका साथै वनभोजका लागि मानिस टाढाटाढादेखि आउने गर्छन् । यो मन्दिरमा साउन महिना र औँसीबाहेकका सबै दिनमा पूजा हुने गर्छ । आँधीमूल देवीको मन्दिरमा परेवा उडाउने, बोका र कुखुरालाई बलि दिने प्रचलन पनि रहेको छ ।

आँधीमूल वनभोजस्थलको रुपमा समेत विकास हुन थालेको छ । यहाँ दैनिक वनभोजका लागि आन्तरिक पर्यटक आउने गरेको स्थानीयवासी गङ्गा थापाले जानकारी दिइन् । “शनिबार त थामिनसक्नु भीड हुन्छ, अरु दिनमा पनि दुई÷तीन वटा समूह वनभोजका लागि आउने गरेका छन्”, उनले भनिन् । आँबुखैरेनी गाउँपालिका–१ का वडाध्यक्ष किसन थापाले पछिल्लो समय यस ठाउँमा आउने पर्यटकको सङ्ख्या बढ्न थालेको जानकारी दिए । “सञ्चारमाध्यमबाट पनि यस ठाउँको प्रचारप्रसारमा ठूलो सहयोग मिलेको छ, त्यही कारण तनहुँका अतिरिक्त छिमेकी जिल्लाबाट पनि वनभोजका लागि पर्यटक आउनुहुन्छ”, उनले भने ।

footwear zone

पर्यटकको चहलपहल बढ्न थालेसँगै यस ठाउँमा थप पूर्वाधार निर्माण गर्ने सोच राखिएको गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाले बताए । सत्रसयदेखि आँधीमूलसम्म पुग्ने सडक कालोपत्रका लागि काम सुरु भइसकेको उनले जानकारी दिए । “कच्ची रहेको सडकलाई कालोपत्र गर्नसके पर्यटकको सङ्ख्या झन् बढ्ने विश्वास लिएका छौँ”, उनले भने, “सडक कालोपत्रका लागि नाला निर्माणको काम सुरु गरिएको छ ।” यस क्षेत्रको संरक्षण र विकासका लागि गाउँपालिकाले रु १५ लाखको लागतमा तारबारको काम गरिसकेको छ । हावाहुरी आउँदा र पानी परेको समयमा बस्न सहज बनाउने उद्देश्यले यस ठाउँमा ट्रष्ट निर्माण गरिएको छ । जङ्गलको खोचमा अवस्थित यस ठाउँमा पर्यटक सवारी साधन र पैदल हिँडेर सहजरुपमा नै पुग्न सक्छन् ।

गाउँपालिकाले धार्मिक पर्यटकीय गन्तव्य आँधीमूलको विस्तृत आयोजना प्रतिवेदन तयार गर्न लागेको छ । प्यागोडाशैलीको मन्दिर, पार्क, दुई पोखरी र माछाको आकृतिका २३ वटा धारालगायत संरचना रहेको आँधीमूलमा दर्शन गरेमा मनले चिताएको पुग्ने जनविश्वासका कारण तनहुँ, कास्की, स्याङ्जालगायत विभिन्न स्थानबाट दर्शनार्थी आउने गरेका छन् । कञ्चन पानी रहेको पोखरीमा ठूलै सङ्ख्यामा खेल्ने माछा यस तीर्थस्थलको प्रमुख आकर्षण हो । जलदेवताका रुपमा विश्वास गरिने यहाँका माछा मरेमा अनिवार्यरुपमा संस्कार (काजकिरिया)गर्नुपर्ने प्रचलनले यहाँको सांस्कृतिक महत्वलाई थप उजागर गरेको छ ।

प्राचीनकालदेखि नै यहाँस्थित रुखको फेदमा आँधीमूल बाराहीको पूजा गरिँदै आइएकामा विसं २०३५ मा स्थानीय पाकुली परियारको विशेष सक्रियतामा मन्दिर निर्माण गरिएको थियो । परापूर्वकालदेखि नै हरिबोधनी एकादशीका दिन फूलको डोली ल्याएर विसर्जन गर्ने एवं मन्दिर परिसरमा तोरण टाङ्ने कार्य चलिआएको छ । जल, जङ्गल, जमिनलाई पुज्दै आएका स्थानीय मगर समुदायले खेतबारीमा बाली लगाउने र भित्र्याउने समयमा पनि पूजाआजा गर्ने गरेका छन् ।

मन्दिरका पुजारी युवराज मास्के मगरका अनुसार दर्शन गरेमा मनले चिताएको पुग्ने जनविश्वासका कारण पछिल्ला वर्षमा देशका विभिन्न भागबाट दर्शनार्थी आउनेक्रम बढ्दै गएको छ । गण्डकी प्रदेश सरकारले पनि प्रदेशमा रहेका ११० पर्यटकीय गन्तव्यमध्येमा आँधीमूललाई राख्दै यसको विकासका लागि पनि चासो दिएको छ । रासस

You might also like

Comments are closed.