काठमाडौं । हेलमेटको सही प्रयोगले सडक दुर्घटना न्युनीकरणमा प्रत्यक्ष योगदान पुग्ने नासा फाउण्डेसनको कोअर्डिनेटर तथा पद्य्मकन्या बहुमुखी क्याम्पसका उपप्राध्यापक भगवती सेढाईंले बताएकी छन् । सडक सुरक्षासँग विविध विषयमा अध्ययन गर्दै आइरहेकी सेढाईंले हेलमेटको सही प्रयोग नहुँदा सडक दुर्घटनाबाट मानवीय क्षति धेरै हुने गरेको उनको भनाइ छ ।
नासा फाउण्डेसन नेपाल र अटो पत्रकार संघ (जाम) नेपालद्वारा सोमबार आयोजित अन्तरक्रियामा बोल्दै उनले हेलमेटको सही प्रयोगले डेथ रिक्स ४० प्रतिशत र हेड इन्जुरी रिक्स ७० प्रतिशतले घटाउन सक्ने तथ्य प्रस्तुत गरिन् । ‘नेपालमा टु ह्विलर सवारी साधनको बिक्री दिनप्रतिदिन बढिरहेको छ,’ उनले भनिन्, ‘सवारी बिक्री बढेसँगै दुर्घटनामा पनि बृद्धि भइरहेको छ । दुर्घटनामा क्षति न्युनीकरणका लागि हेलमेटको सही प्रयोग अनिवार्य छ ।’
ट्राफिकलाई छल्नका लागि मात्रै हेलमेट लगाउने गरिएको भन्दै उनले त्यो गलत रहेको बताइन् । ‘हेलमेट आफ्नो सुरक्षाका लागि प्रयोग गर्ने हो,’ उनले भनिन्, ‘हेलमेटको सही प्रयोगले धेरै क्षति कम गर्न सकिन्छ ।’

धेरै महंगो बाइक तथा स्कुटर खरिद गर्नेहरुले राम्रो हेलमेट खरिदमा कन्जुस्याईं गर्ने गरेको उनको टिप्पणी छ । ‘हेलमेट लगाउने तर अगाडिको फिता राम्रोसँग नलगाउने पनि गरिन्छ,’ उनले भनिन्, ‘सवारी चलाउँदा यसरी हेलचक्राईं गर्नु हुँदैन ।’ दुई पाँग्रे सवारीमा चढ्ने चालकसहित पछाडि बस्ने व्यक्तिले पनि हेलमेट लगाउनुपर्ने उनले बताइन् ।
कार्यक्रममा बोल्दै नासा नेपालका सल्लाहकार गोविन्द भट्टराईले हेलमेटको सही प्रयोगका लागि सचेतना आवश्यक रहेको बताए । कार्यक्रममा बोल्दै जाम नेपालका अध्यक्ष उज्ज्वलजंग शाहले सडक सुरक्षा सम्बन्धी कार्यक्रममा सहकार्य गर्न अटो पत्रकारहरु तयार रहेको बताए । कार्यक्रममा जाम नेपालका महासचिव सागर गजुरेल, नासाका महासचिव सुशील तण्डुकार लगायतले बोलेका थिए ।




Comments are closed.