पोखरामा ‘फिस्टेल ड्रिम पार्क’ छिट्टै सञ्चालनमा आउदै

पोखरा । युवा उद्यमीहरुको सामुहिक लगानी रहेको ‘फिस्टेल ड्रिम पार्क’ छिट्टै सञ्चालनमा आउने भएको छ । सुन्दर नगरी पोखराको सीतापाइलामा फनपार्क निर्माणाधीन छ । गत वर्ष नै सञ्चालनमा ल्याउने गरी निर्माण सुरु भएपनि कोरोना महामारी र लकडाउनका कारण निर्माणमा ढिलाई भएको थियो । अब निर्माणको काम अन्तिम चरणमा पुगेको र छिट्टै सञ्चालनमा आउने अध्यक्ष कदम केसीले आर्थिक आवाजलाई जानकारी दिए । सफ्ट ओपनिङ फागुनभित्र र ग्राण्ड ओपनिङ वैशाखसम्म गर्ने लगानीकर्ताहरुको तयारी छ ।

अन्तर्राष्ट्रियस्तरको सुविधा तथा प्रविधिसहित पार्क निर्माण भइरहेको छ । ६५ रोपनी जग्गामा पार्क निर्माण भइरहेको छ । जहाँ २ दर्जन भन्दा बढी खेलहरु समावेश गरिएको छ । कतिपय खेलहरु नेपालमै पहिलो पटक सुरुवात गरिएको अध्यक्ष केसीले जानकारी दिए । ‘यो फर्नपार्क निकै ठूलो आकारसहित अत्याधुनिक तथा सुविधा सम्पन्न रहन्छ,’ केसीले भने, ‘पार्क सञ्चालनमा आएपछि पोखरा क्षेत्रमा नयाँ पर्यटकीय गन्तव्य थप हुनेछ ।’

आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी फर्नपार्क सञ्चालनमा आउन लागेको हो । परियोजनामा ४० करोड रुपैयाँ लगानी गर्ने लक्ष्य भएपनि निर्माण समय लम्बिदा करिब १० करोड रुपैयाँ लगानी थप हुने बताइएको छ । फ्रिफल, ५ वटा स्विमिङ पुल, वेव पुल, रोलर कस्टर, १२ वटा इनडोर गेम लगायत विभिन्न गतिविधि पार्कमा समावेश गरिनेछ । सुविधा सम्पन्न तथा आकर्षक रेष्टुरेन्टको सुविधा पनि उपलब्ध हुनेछ ।

footwear zone

‘यहाँ आएका पर्यटकले पार्कमा एक, दुई दिन सजिलै कटाउन सक्नेगरी संरचना तयार भएका छन्,’ अध्यक्ष केसीले भने, ‘पोखरा आउने पर्यटकको बसाईं अवधि बढाउन समेत पार्कले सहयोगी भूमिका खेल्नेछ ।’ विभिन्न पेशा व्यवसायमा आवद्ध १५ जना व्यवसायीले पार्कमा संयुक्त लगानी गरेका छन् । पार्क सञ्चालनमा आएपछि २ सय जना भन्दा बढीले प्रत्यक्ष रोजगारी पाउनेछन् । ‘नेपालमै हालसम्म सुरु नभएका खेल गतिविधिलाई समेत पार्कमा समावेश हुँदैछन्,’ केसीले भने ‘यो पार्कलाई नेपालकै नमूना प्रोजेक्टमा रुपमा विकास हुँदैछ ।’

कोरोना महामारी र लकडाउनका कारण फनपार्क निर्माणमा केही ढिलाइ भएपनि पछिल्लो समय काम धमाधम भइरहेको कम्पनीका मार्केटिङ डाइरेक्टर हिरा केसीले बताए । ‘पोखरा लगायत समग्र गण्डकी प्रदेशको नमुना प्रोजेक्ट बन्ने गरी फनपार्क सञ्चालनमा आउदैछ,’ केसीले भने, ‘यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा यसको महत्वपूर्ण योगदान हुनेछ ।’

You might also like

Comments are closed.