ऋषिदेव समुदायको व्यवस्थित बसोबास    

विराटनगर । आर्थिकरुपमा निकै पिछडिएका ऋषिदेव (मुसहर)समुदायलाई निर्माणाधीन सम्पन्न बस्ती महानगर आवास परियोजनामार्फत व्यवस्थित आवासको व्यवस्था हुँदा सो समुदाय निकै उत्साहित भएको छ । पटकपटक बाढीको जोखिममा परिरहने र शीतलहर एवं अन्य समस्याबाट ग्रसित यो समुदायलाई विराटनगर महानगरपालिको बखरीदेखि पश्चिम १४५ परिवारका लागि तीन बिघा १६ कट्ठा जग्गामा व्यवस्थित भवन निर्माण भइरहेको छ । आगामी एक वर्षभित्रै सम्पन्न हुने यो परियोजनामा करिब रु १८ करोड लाग्ने परियोजनाका सदस्य–सचिव पुनम दाहालले बताइन् ।

प्रतिपरिवार १० धुर जग्गा स्वयं घरधनीकै स्वामित्व रहने जग्गमा एक परिवारका लागि तीन कोठे भवन, शौचालय, विद्युत्, नालासहितको बाटो, खानेपानी, सामुदायिक भवन, हरियाली वातावरणसहित खेलकुद मैदान पनि रहने उनले जानकारी दिइन् । परियोजनाको सहयोगी र कार्यान्वयन निकायमा महानगरपालिका, प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्की, समाजकल्याण परिषद्, बेसबाहे, सहारा नेपाल र ह्याविट्याट फर हुम्यानिटी नेपाल छन् ।

एक घरका लागि कूल रु चार लाख ५० हजार लाग्ने सो परियोजनाका लागि महानगरपालिकाले रु दुई करोड दिइसकेको छ भने थप रु एक करोड प्रदान गर्न सम्झौता भइसकेको छ । मन्त्री कार्कीले रु दुई करोड सहयोग उपलब्ध गराइसकेको सदस्य–सचिव दाहालले जानकारी दिए । सोही परियोजनका लागि ह्याविट्याटले प्रतिपरिवार रु एक लाख ३५ हजार प्रदान गरेको छ ।

footwear zone

महानगर प्रमुख भीम पराजुलीले आमाको नाममा, मन्त्री कार्की र समाजसेवी अरुण न्यौपानेले एक÷एक घर निर्माणका लागि लाग्ने सम्पूर्ण खर्च व्यहोर्ने जनाइएको छ । बस्तीमा बस्न पाउने ऋषिदेव परिवारले आफैंले खरिद गरेको जग्गामा परियोजनाले घर निर्माण गरिदिएकाले उनीहरु अब सुकुम्बासी नभइ व्यवस्थित बसोबासी भएको र प्राकृतिक विपद्को जोखिम पनि कम व्यहोर्ने अनुमान गरिएको छ ।

जमिन तहदेखि लिङ्टरसम्म आरसिसी, इटाले बनाइएको सो घरमा उपचार गरिएको बाँस र छानामा जस्तापाता प्रयोग गरिएको छ । हेर्दै निकै आकर्षक देखिने सो घर तीन दशकसम्म केही पनि नहुने प्राविधिकले जनाएका छन् ।

सोही परियोजनाअन्तर्गत विराटनगर महानगरपालिकाको वडा नं ५ स्थित ५२ घरपरिवार र वडा नं १९ मा ३२ घर परिवारलाई निर्माण गरिएको घर हस्तान्तरण भइसकेको छ । यी दुवै वडाका ऋषिदेव परिवारले वर्षेनी झेलिरहेको समस्या समाधान गर्न परियोजनाले जमर्को गरेकाले नै उनीहरु व्यवस्थित बसोबासी भएका हुन् । यहाँ बस्नेको घर आफ्नो भए पनि जग्गा भने ऐलानी नै रहेको बताइएको छ ।जग्गा ऐलानी भए पनि बसोबास व्यवस्थित भएकाले उनीहरुको जीवनस्तर उकासिने कुरामा दुई मत नरहेको परियोजनाका उपभोक्ता समितिका अध्यक्ष कोशिला ऋषिदेवले बताइन् ।मन्त्री कार्कीले समाजमा निकै पिछडिएका ऋषिदेव समुदायलाई समाजमा स्थापित गर्न नै यो परियोजनाको जन्म भएको हो भन्दै उनीहरूलाई आर्थिक, सामाजिक र राजनीतिकरुपमा माथि उठाउनु राज्यको दायित्व भएकाले यो भूमिका निर्वाह गरिएको जानकारी दिए ।

You might also like

Comments are closed.