मर्दी हिमालमा सबै याममा पर्यटक पुर्याउन विन्टर स्की

वासुदेव पौडेल, गण्डकी ।
“हिमपर्वत चम्कन्छ अरुणोदयले गरी ।
पोखरा नगरी भन्छ म भएँ सुनको पुरी ।।
साँच्चै नै सुनको ज्योति के त्यस्तो हुनपाउला ?
टल्केका हिमका सामू उपमा कुन आउला ? ।।”
कवि मुकुन्दशरण उपाध्यायको वर्णनात्मक काव्य ‘प्राकृत पोखरा’मा उल्लेखित यो पङ्क्तिले हिमालको मात्रै चर्चा गरेको छैन, यसले पोखराको सुन्दरतालाई पनि प्रस्तुत गरेको छ ।हिमालको काखमा रहेको पोखराबाट नजिकै देखिने हिमाली दृश्य नियाल्नकै लागि स्वदेश तथा विदेशबाट पर्यटक यहाँ आउने गर्छन् । पोखराबाट छोटो समयमा नै हिमालको रसास्वादन गर्न सकिने भएकाले यो पर्वतीय पर्यटनका लागि आकर्षक गन्तव्य बनेको हो । पदयात्राका माध्यमबाट छोटो समयमै हिमाल छुन सकिने मर्दी पदयात्राले पछिल्ला वर्षमा सबैको चासो हुनाका साथै चर्चा कमाएको छ । यही चासो र चर्चासँगै यो हिमाल पर्यटकका लागि बाहै्र महिना खुल्ला छ भन्ने सन्देश दिने उद्देश्यका साथ दिगो हिमालयन कोषको आयोजनामा मर्दी आधार शिविरमा यही फेब्रुअरी १० देखि १८ (माघ २७ देखि फागुन ३) सम्म दिगो विन्टर स्की महोत्सव गर्न लागिएको मर्दी हाइक्याम्पस्थित होटल ट्रेकेस प्याराडाइजका सञ्चालक सुदीप गौतमले बताए ।

मर्दी हिमालमा बाह्रै महिना पर्यटकीय गतिविधि सञ्चालन गर्ने उद्देश्यका साथ उक्त महोत्सव गर्न लागिएको उनको भनाइ थियो । “प्रयासः चिसो भइरहने हिमाली क्षेत्रमा जाडो याममा सुनसानजस्तै हुने अवस्थालाई दृष्टिगत गर्दै यस समयमा स्की सञ्चालन गरी पर्यटकीय गतिविधिलाई निरन्तरता दिन सकिने भएकोले महोत्सव गर्न लागिएको हो”, स्थानीय व्यवस्थापकसमेत रहेका उनले भने, “पर्वतीय पर्यटनलाई सबै मौसममा सञ्चालन गर्न सकिन्छ भन्ने सन्देश महोत्सवले दिनेछ ।”

सञ्चालक गौतमकाअनुसार अन्तर्राष्ट्रिय स्की प्रशिक्षक कृष्ण थापा मगरको प्रशिक्षण तथा सहजीकरणमा यो महोत्सव हुनेछ । महोत्सवले मर्दी हिमाल पदयात्रालाई थप प्रचारप्रसार गर्न मद्त गर्नेछ । महोत्सव आयोजक संस्था दिगो हिमालयन कोषका सदस्य प्रभात अधिकारीले हिमाली क्षेत्रको पर्यटन सबै यामका लागि खुल्ला छ भन्ने सन्देश महोत्सवमार्फत दिन खोजिएको बताए । ग्रेट हिमालयन स्की भ्रमण नामको यस महोत्सवले मर्दी हिमालको पर्यटकीय महत्वलाई अझै उजागर गर्दै आगामी दिनमा अझै पर्यटकीय गतिविधि बढाउने विश्वास लिइएको छ ।

footwear zone

मर्दीमा संस्थाका तर्फबाट गर्न लागिएको यो महोत्सव आठौँ चरणको भएकोे जानकारी दिँदै सदस्य अधिकारीले यस अघि मनास्लु, कालीञ्चोकलगायत स्थानमा महोत्सव गरिएको बताए । महोत्सवअन्तर्गत पदयात्रा, आधारभूत स्की तथा स्नोबोर्ड तालिम, जीवनरक्षा तालिम, स्थानीय समुदायसँग अन्तक्र्रिया तथा स्कीसम्बन्धी वृत्तचित्र प्रदर्शन गरिने भएको छ ।

संस्थाका तर्फबाट छ पटकसम्म लाङटाङ क्षेत्रमा स्कीसम्बन्धी तालिम गराइसकिएको जानकारी दिँदै उनले नेपालमा स्कीको प्रशिक्षण दिनसक्ने जनशक्ति लगभग ५० को सङ्ख्यामा रहेको छ भने । सबै क्षेत्रका मानिस सहभागी हुन पाउने महोत्सवमा पथप्रदर्शक, हिमाल आरोहण गाईड तथा पर्यटन क्षेत्रमा काम गरिरहेकाको सहभागितालाई आयोजकले जोड दिएको छ । महोत्सवमा प्रत्यक्ष र अप्रत्यक्ष गरी ३ सय मानिस लाभान्वित हुने र यसले पर्वतीय पर्यटनको प्रवद्र्धनका साथै स्कीसम्बन्धी सीप हस्तान्तरण र नेपालको पर्यटन सबै मौसमका लागि भन्ने नारा स्थापित हुने विश्वास लिइएको छ ।

नेपाल पदयात्रा र पर्वतारोहणका लागि मात्र नभई हिउँमा चिप्लिएर खेलिने खेल स्कीका लागि पनि राम्रो गन्तव्य हो भन्ने सन्देश पनि यस महोत्सवले दिने नेपाल पर्वतारोण सङ्घ गण्डकी प्रदेशका अध्यक्ष शेषकान्त शर्माले बताए । “नेपालमा काठमाडौंको नजिकै रहेको कालिञ्चोकमा स्कीका गतिविधि विगत केही वर्षअघिदेखि नै बढेको पाइन्छ”, उनले भने, “नेपालमा स्कीका लागि अन्य धेरै गन्तव्य पनि छन् भन्ने सन्देश दिनका लागि पनि मर्दीमा गर्न लागिएको महोत्सव उपयोगी बन्ने विश्वास लिएका छौँ ।”

नेपालबाट स्कीकै लागि कतिपय व्यक्ति युरोप, स्वीट्जरल्याण्डलगायत स्थानमा पुग्ने गरेको उल्लेख गर्दै अध्यक्ष शर्माले नेपालभित्रै स्की गर्न सकिने स्थल रहेका विषयलाई पनि महोत्सवले उजागर गर्ने बताए ।

कसरी पुग्न सकिन्छ त मर्दी ?

कास्कीको काँडेबाट अस्ट्रेलियन क्याम्प, पोथना, प्रितम देउराली, फोरेष्ट क्याम्प, लो क्याम्प, बाँदलडाँडा हुँदै दुई दिनमा मर्दी हाइक्याम्पसम्म पुग्न सकिन्छ । यी सबै स्थानमा बस्न र खानका लागि होटल सञ्चालनमा आइसकेका छन् । समुद्री सतहबाट तीन हजार ५ सय ५० मिटर उचाइको मर्दी हाइक्याम्पबाट करिब दुई घण्टामा चार हजार २ सय मिटर उचाइको ‘भ्यू प्वाइन्ट’ र त्यहाँबाट दुई घण्टामा चार हजार ५ सय मिटर उचाइको मर्दी आधार शिविर पुग्न सकिन्छ ।

सुरूमा जाँदा अप्ठे्यारा बाटाका कारण थकाइ लागे पनि हिमाली चुचुरासँग मितेरी लगाउँदै हिँड्न पाउँदा सबै थकाइ मेटिने गरेको यस क्षेत्रमा पदयात्रा गर्ने बताउँछन् । सुरूमा काँडेबाट पदयात्रा गर्ने फर्कंदा भने माछापुच्छे« गाउँपालिकाको सिदिङबाट आउँछन् । सिदिङसम्म जीप जाने भएकाले त्यहाँबाट झण्डै दुई घण्टाको समयावधिमा पर्यटक पोखरा फर्कने गरेका छन् ।

You might also like

Comments are closed.