मन्दिरको भेटीबाट विद्यालय सञ्चालन

अर्घाखाँची । सन्धिखर्क नगरपालिका–७ खाँचीकोटमा मन्दिरको भेटीबाट विद्यालय सञ्चालन गरिएको छ । सुपा देउराली मन्दिरमा उठेको भेटीबाट खाँचीकोटस्थित आदर्श मावि र सीतापुरस्थित शान्ति निमावी सञ्चालन गरिएको छ ।

भेटीबाट आदर्श माविमा ६ तथा शान्ति निमाविमा चार शिक्षक राखिएको छ । भेटीबाट सङ्कलित रकममध्ये मासिकरुपमा आदर्श माविलाई र शान्ति निमाविलाई रु एक लाख २० हजार उपलब्ध गराइएको मन्दिर व्यवस्थापन समितिका सचिव यादव घिमिरेले जानकारी दिए ।

यस्तै समितिले सन्धिखर्कस्थित पाणिनि बेदबिद्या आश्रमका लागि वार्षिक रु एक लाख २० हजार उपलब्ध गराउने गरेको छ । “विद्यालयसँगै अन्य विकास निर्माणका काममा पनि सहयोग गर्ने गरेका छौँ”, घिमिरेले भने, “खानेपानी, मोटरबाटो निर्माणलगायत विकास निर्माणका काममा सघाएका छौँ ।”

footwear zone

जटिल खालका बिरामीको उपचारमा समेत मन्दिरको भेटीबाट समितिले सहयोग पु¥याउँदै आएको छ । मन्दिरमा गत वर्ष रु ८० लाख आम्दानी भएको थियो । नेपालकै प्रसिद्ध धार्मिकस्थल सुपा देउरालीमा आउने धार्मिक पर्यटकको सङ्ख्यामा वृद्धि हुँदै गएको छ ।

अहिले दैनिक एक हजारदेखि दुई हजार जनाले मन्दिरमा दर्शन गर्ने गरेको मन्दिर संरक्षण समितिका अध्यक्ष पृतम थापाले बताए । मन्दिरको दर्शन गर्न अर्घाखाँची, कपिलबस्तु, दाङ, प्यूठान, गुल्मी र रुपन्देहीबाट बढी पर्यटक आउने गर्छन् । भारतको उत्तर प्रदेश र बिहारबाट समेत सुपा देउरालीको दर्शन गर्न आउने गरेका छन् ।

विद्यालय चलाउन कठिन भएको समयमा मन्दिरको भेटीबाट प्राप्त रकमले शिक्षक राखेर पठनपाठन गर्न सहज भएको आदर्श माविका प्रधानाध्यापक डिल्लीराज थापाले बताए । “मन्दिरबाट सहयोग नमिलको भए यो विद्यालय प्रावि नै रहने थियो”, उनले भने, “मन्दिरको सहयोगका कारण नै विद्यालयलाई यो अवस्थासम्म ल्याउन सकेका हौँ ।”

 

You might also like

Comments are closed.