काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ११ हजार ३ सय ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सङ्ख्या मङ्गलबार देखिएको नयाँ संक्रमितभन्दा एक हजार ९४ ले बढी हो । मङ्गलबार देशभरमा १० हजार २ सय ५८ नयाँ संक्रमित पुष्टि भएको थियो । बुधबार कोरोना संक्रमणबाट चार जनाको मृत्यु भएको छ ।
उपत्यकाका तीन जिल्लामा बुधबार छ हजार ३ सय ४३ नयाँ संक्रमित थपिएका छन् । काठमाडौंमा चार हजार ६ सय ६६, ललितपुर एक हजार १९ र भक्तपुरमा ५ सय ७८ नयाँ संक्रमित थपिएकोे मन्त्रालयले जनाएको छ । नयाँ संक्रमितमध्ये नौ हजार ५ सय २ को पीसीआर र एक हजार ८ सय ५० को एन्टीजेन विधिबाट परीक्षण गरिएको थियो । पछिल्लो २४ घण्टामा २३ हजार ४ सय ९ को नमूना परीक्षण गरिएको थियो । १८ हजार ७८ जनाले पीसीआर र पाँच हजार ३ सय ३१ ले एन्टीजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यो अवधिमा जम्मा परीक्षणमध्ये औसत संक्रमणदर ५२ दशमलव दुई प्रतिशत छ । हालसम्मको उच्च संक्रमणदर भएको मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले बताए ।
हाल भेन्टिलेटरमा रहनेको सङ्ख्या जम्मा २८ र आइसियुमा १ सय ६९ जना रहेका छन् । होम आइसोलेशनमा ४६ हजार ५ सय १५, संस्थागत आइसोलेशनमा एक हजार ४ सय १४ गरी आइसोलेशनमा जम्मा ४७ हजार ९ सय २९ रहेका छन् । संस्थागत क्वारेन्टिनमा १ सय २६ रहेका छन् । कोभिड संक्रमण दैनिजक बढिरहेकाले सबै सङ्घसंस्थाले स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गर्नुपर्ने मन्त्रालयका सहप्रवक्ता डा अधिकारीको भनाइ छ ।

सभा, सम्मेलन र भेला सकेसम्म ‘भर्चुअल’ गर्ने र भौतिक उपस्थितिमै गर्नुपरेमा २५ जनासम्म मात्रैको उपस्थितिमा गर्नुपर्ने उनले बताए । ती कार्यक्रमभन्दा पहिले सबैको परीक्षण गर्ने र खोप लगाएको सुनिश्चित गर्नुपर्ने उनले बताए । उनले भने, “संक्रमण रोक्नका लागि सार्वजनिक यातायात, हवाई सेवा, होटल, रेस्टुरेन्टलगायतले मापदण्डको पालना गर्न खाँचो छ ।” रासस




Comments are closed.