५७ करोड रुपैयाँ बराबरको सुन्तला बिक्री

तोलाकान्त बगाले, वालिङ । सुन्तलाको स्वाद र उत्पादनका दृष्टिले छुट्टै पहिचान बनाएको स्याङ्जामा यसवर्ष ५७ करोड ९ लाख रुपैयाँ मूल्य बराबरको सुन्तला बिक्री भएको छ ।

गत वर्षको तुलनामा सुन्तला उत्पादनमा कमी आएको भएपनि बजार मूल्य राम्रो पाएकाले सो मूल्य बराबरका सुन्ताला बिक्री भएको हो । जिल्लामा यसवर्ष १३ हजार ८ सय ४० मेट्रिक टन सुन्तला उत्पादन भएको कृषि ज्ञानकेन्द्र स्याङ्जाले जनाएको छ । उत्पादित सुन्तालामध्ये २५ प्रतिशत अर्थात् तीन हजार ४ सय ६० मेट्रिक टन किसान/व्यवसायी आफैले उपभोग गरेको र बाँकी १० हजार ३ सय ८० मेट्रिक टन अर्थात् ७५ प्रतिशत बिक्री गर्दा उक्त आम्दानी भएको केन्द्रका प्रमुख विनोद हमालले जानकारी दिए ।

जिल्लामा कूल एक हजार ९ सय ६९ हेक्टर क्षेत्रफलमा सुन्तला बगैँचा फैलिएको छ । तीमध्ये एक हजार ३ सय ८० हेक्टर क्षेत्रफलमा मात्र सुन्तला खेती गरिएको केन्द्रले जनाएको छ । “यसवर्ष कूल ७६ करोड १२ लाख रुपैयाँ मूल्य बराबरको सुन्तला फलेको थियो”, प्रमुख हमालले भने, “उत्पादनको २५ प्रतिशत अर्थात् १९ करोड तीन लाख मूल्य बराबरको सुन्तला किसान तथा व्यवसायी आफैले उपभोग गरेको देखिन्छ भने बाँकी ७५ प्रतिशत अर्थात् ५७ करोड ९ लाख मूल्य बराबरको सुन्तला बिक्री भएको हो ।”

footwear zone

उनका अनुसार जिल्लाभित्रैका स्थानीय बजारमा २० प्रतिशत अर्थात् दुई हजार ७६ मेट्रिक टन बिक्री हुँदा कूल ११ करोड ४१ लाख ८० हजार रुपैयाँ आम्दानी भएको छ । त्यस्तै जिल्लाबाहिर ८० प्रतिशत सुन्तला अर्थात् आठ हजार ३ सय ४ मेट्रिक टन बिक्री हुँदा ४५ करोड ६७ लाख २० हजार रुपैयाँ आम्दानी भएको छ । यसवर्ष किसानले प्रतिकिलो थोक मूल्य ५० रुपैयाँ र खुद्रा मूल्य ८० रुपैयाँमा बिक्री गरेका छन् ।

गतवर्ष स्याङ्जामा कूल एक हजार ६ सय ५५ हेक्टर क्षेत्रफलमध्ये कूल एक हजार १ सय ६० हेक्टर क्षेत्रफलमा सुन्ताला खेती गरिएको थियो । सो खेतीबाट १७ हजार ६ सय ३२ टन सुन्तला उत्पादन भएको थियो । यस वर्षभन्दा गतवर्ष सुन्तला उत्पादन धेरै भए पनि उचित बजार मूल्य नपाउनु र मूल्य थोरै भएका कारण किसानले बिक्रीको मात्रा घटाएर कोसेलीकारुपमा प्रयोग गरेको पाइएको प्रमुख हमालले बताए । “यसवर्ष मूल्य पनि बढी भएकाले किसानले कोसेलीभन्दा बिक्रीतर्फ बढी जोड दिएको देखियो”, उनले भने, “उत्पादन कम हुँदाहुँदै पनि बिक्रीलाई बढी जोड दिएकै कारण आम्दानीमा बृद्धि भएको हो ।”

गतवर्ष जिल्लामा ७९ करोड ३४ लाख ४० हजार मूल्य बराबरको उत्पादन भए पनि जम्मा ५५ करोड मूल्य बराबरको सुन्तला बिक्री भएको थियो । यहाँका किसानले गतवर्ष प्रतिकिलो थोक मूल्य ४५ रुपैयाँ र खुद्रा मूल्य ७५ रुपैयाँमा सुन्तला बिक्री गरेका थिए ।

You might also like

Comments are closed.