नयाँपुल–घान्द्रुक सडकको कलाभिरमा ‘रेलिङ’ निर्माण

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका–१० स्थित नयाँपुल–घान्द्रुक सडकखण्डको कलाभिरमा पक्की रेलिङ निर्माण गरिएको छ । सो स्थानमा गत असोज २५ गते यात्रु बाहक जीप दुर्घटना हुँदा घान्द्रुक घुम्न गएका सात विद्यार्थी र चालकसहित आठको मृत्युपछि दुर्घटना न्यूनीकरण गर्न रेलिङ निर्माण गरिएको हो । पर्यटकीय घान्द्रुक तथा अन्नपूर्ण आधार शिविर जाने सो सडकको कलाभिरमा दुर्घटनाको जोखिम कायमै रहेकाले लामा अमृत फाउण्डेशनले रु एक लाख ४५ हजार लागतमा रेलिङ निर्माण गरेको हो ।

घान्द्रुकका होटल तथा पर्यटन व्यवसायी र देशविदेशमा रहेका दाताको सहयोगमा पक्की रेलिङ निर्माण गरिएको फाउण्डेशनका संस्थापक अमृत लामा गुरुङले बताए । विश्वप्रसिद्ध अन्नपूर्ण आधार शिविरको प्रवेशद्वार रहेको घान्द्रुकका बारेमा दुर्घटनापछि नकारात्मक सन्देश प्रवाह भएकामा यात्रुलाई सुरक्षित महसुस गराउन र दुर्घटनाको जोखिम कम गर्न रेलिङ निर्माण गरिएको उनले जानकारी दिए ।

उनले भने, “दुर्घटनापछि पर्यटकमा नराम्रो सन्देश गएपछि हामीले सुरक्षित महसुस गराउन रेलिङ निर्माण गरेका हौँ, सडकखण्डका पाँच वटा घुम्तीमा ऐना पनि राखेका छौँ”, दुर्घटनापछि स्थानीयवासीसमेत यात्रा गर्न डराउने गरेको बताइन्छ । एम्बुलेन्स चालक तथा निर्माण समितिका संयोजक यामबहादुर गुरुङले सो खडकखण्डमा यात्रा गर्दा अब भने केही ढुक्क हुने अवस्था रहेको र त्रास कम भएको बताए । दुर्घटनापछि प्राय सवारी चालक त्रसित हुने गरेको बताउँदै उनले भने, “यस ठाउँमा सबैभन्दा ठूलो दुर्घटना यही थियो । त्यसैले यहाँ आउँदा डर पनि लाग्थ्यो, अब भने ढुक्क भएका छौँ ।”

footwear zone

जोखिम क्षेत्रमा ढलानका निम्ति गण्डकी प्रदेश सरकारबाट रु २० लाख बजेट विनियोजन भएकाले ढलानको काम पनि छिटै सुरु गरिने गुरुङले जानकारी दिए । अन्नपूर्ण संरक्षण क्षेत्रभित्रको महत्वपूर्ण पर्यटकीय गन्तव्य र अन्नपूर्ण आधार शिविर (एबिसी) पदमार्गको मुख्य प्रवेशद्वार घान्द्रुकलाई मानिन्छ ।

आन्तरिक तथा बाह्य पर्यटक घान्द्रुक हुँदै टाढापानी, देउराली, घोरेपानीसम्म पनि आउजाउ गर्ने गरेका छन् । घान्द्रुकबाट छोमरुङ, सिनुवा, बम्बु, दोभान, हिमालय देउराली हुँदै माछापुच्छ्रे आधार शिविर तथा अन्नपूर्ण आधार शिविर पुग्न सकिन्छ ।

 

You might also like

Comments are closed.