जाल्पा सामुदायिक लघुवित्तको आइपिओ खुल्यो

काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले आजदेखि सर्वसाधारणका लागि साधारण शेयर बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता रु एक सय अङ्कित मूल्यमा रु पाँच करोड २२ लाख मूल्य बराबरको पाँच लाख २२ हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ)को बिक्री खुला गरेको हो ।

निष्काशन गरिने साधारण शेयरमध्ये पाँच प्रतिशत अर्थात् २६ हजार १०० कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको र जारी पूँजीको शून्य दशमलव पाँच प्रतिशत अर्थात् आठ हजार कित्ता शेयर कर्मचारीलाई सुरक्षित गरी बाँकी रहने चार लाख ८७ हजार ९०० कित्ता शेयर खरिदका लागि सर्वसाधारणले आवेदन दिन पाउने कम्पनीले जारी गरेको आहन पत्रमा उल्लेख छ । सर्वसाधारणले माघ २५ सम्म न्यूनतम १० कित्तादेखि अधिकतम पाँच हजार २२० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् र यो अवधिसम्म माग गरिएबमोजिम आवेदन नआए आगामी फागुन ६ सम्म निष्काशन खुला रहने कम्पनीले जनाएको छ ।

सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट सिआस्वा सुविधा प्रदान गर्न अनुमति पाएका बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयका साथै अनलाइनमार्फत ‘मेरोशेयर’ प्रयोग गरेर पनि शेयर खरिदका लागि आवेदन दिन सकिने कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडले जनाएको छ ।

footwear zone

कम्पनीको पूँजीको संरचनामा अधिकृत पूँजी रु २५ करोड र हालको जारी पूँजी रु १६ करोड बराबरको तथा तत्कालको चुक्तापूँजी रु १० करोड ७८ लाख छ । विवरणपत्रमार्फत सर्वसाधारणलाई खरिदका लागि खुला गरेको शेयरको बाँडफाँड पश्चात् कम्पनीको चुक्ता पूँजी रु १६ करोड पुग्नेछ ।

धितोपत्रको सार्वजनिक निष्कासन गर्दा क्रेडिट रेटिङ गर्नुपर्ने व्यवस्थाअनुसार रेटिङ गर्दा ईक्रा नेपालले कम्पनीलाई ‘ईक्राएनपी आईआर बीबी’ ग्रेडिङ प्रदान गरेको छ । रेटिङअनुसार कम्पनीको हालको अवस्था वित्तीय दायित्व वहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको भन्ने बुझिन्छ ।

You might also like

Comments are closed.