काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप दुई हजार ५ सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ११ हजार ७३ जनाको नमूना परीक्षण गरिएको थियो । छ हजार हजार ६ सय ५५ जनाले पिसिआर र चार हजार ४ सय १८ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा कोरोनाबाट १६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा आठ हजार ४ सय २५ जना कोरोना भाइरसबाट संक्रमणमुक्त भएका छन् । यससँगै संक्रमण मुक्त हुनेको सङ्ख्या आठ लाख ९५ हजार ८ सय ६८ पुगेको छ । निको हुने दर ९२ दशमलव नौ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
नेपालमा पिसिआर विधिबाट कोरोना परीक्षण गरिँदा नौ लाख ६४ हजार १ सय १९ र एन्टिजेन विधिबाट परीक्षण गरिँदा एक लाख ३३ हजार ४ सय ७० जना संक्रमित भएको मन्त्रालयले जनाएको छ । पिसिआर विधिबाट परीक्षण गर्नेको सङ्ख्या ५२ लाख ६३ हजार ८ सय ३० र एन्टिजेन विधिबाट परीक्षण गर्नेको सङ्ख्या नौ लाख ८५ हजार ७ सय ८९ पुगेको छ । कूलमा संक्रमण दर १८ दशमलव तीन प्रतिशत छ ।

कोभिड बिरुद्धको खोप लगाउनेको सङ्ख्या पछिल्लो २४ घण्टामा पाँच लाख १३ हजार ५१ रहेको छ । हाल सक्रिय संक्रमितको सङ्ख्या ५६ हजार ४ सय ५७ रहेको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ७ सय ९४ पुगेको छ । कोरोनाबाट हुने मृत्युदर एक दशमलव तीन प्रतिशत छ । प्रति १० लाख जनसङ्ख्यामा मृत्युदर ३ सय ८८ दशमलव दुई रहेको छ ।
हाल भेन्टेलेटरमा रहनेको सङ्ख्या जम्मा ५१ र आइसियूमा २ सय ४३ रहेको छ । होम आइसोलेसनमा ५५ हजार ९०, संस्थागत आइसोलेसनमा एक हजार ३ सय ६७ र क्वारेन्टिनमा १ सय ३३ जना रहेका छन् ।
हाल देशभरमा पाँच सयभन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्लाहरूमा मोरङ, सुनसरी, झापा, धनुषा, काठमाडौं, ललितपुर, भक्तपुर, चितवान, मकवानपुर, काभ्रेपलाञ्चोक, कास्की, नवलपरासी पूर्व, बाँके, रुपन्देही र कैलाली रहेका छन् । दुई सयभन्दा बढी उपचारार्थ संक्रमित रहेका जिल्लाहरूमा सिराहा, सप्तरी, पर्सा, बारा, महोतरी, सलार्ही, धादिङ, सिन्धुली, नुवाकोट, गोरखा, स्याङजा, बाग्लुङ, तनहुँ, गुल्मी, पाल्पा, बर्दिया, दाङ, सुर्खेत र कञ्चनपुर छन् । उपत्यकाका तीन जिल्लामध्ये हाल काठमाडौंमा १६ हजार ३, ललितपुरमा नौ हजार ३ सय ५१ र भक्तपुरमा तीन हजार ८ सय २९ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।




Comments are closed.