पोउवा संघको ६८ औं वार्षिकोत्सव, नविन माविलाई शैक्षिक सामग्री प्रदान

पोखरा। पोखरा उद्योग वाणिज्य संघले आफ्नो ६८ औं वार्षिकोत्सवको उपलक्ष्यमा मंगलबार गैह्रापाटनमा रहेको नविन माविलाई शैक्षिक सामग्री सहयोग गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि पोखरा ४ का वडाध्यक्ष शंकरप्रसाद बास्तोला तथा संघका अध्यक्ष नारायण कोइरालाले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्रनिधी कोइराला तथा प्रधानाध्यापक शिरोमणि लामिछानेलाई शैक्षिक सामग्री हस्तान्तरण गरेका हुन् ।

शैक्षिक सामग्री हस्तान्तरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि पोखरा ४ का वडाध्यक्ष बास्तोलाले सहयोगलाई कति दियो भन्नेमा नभएर कसरी दिइयो भन्ने कोणबाट हेरिनुपर्ने बताए । पोखरा ४ मा रहेको एकमात्र सामुदायिक विद्यालयलाई पोउवा संघले गरेको सहयोग आफैमा सह्रानीय भएको उनको भनाइ थियो । आफू १७ वर्षसम्म संघको साधारण सदस्य रहेको र त्यही संघले सामाजिक उत्तरदायित्व बहन गर्ने सिलसिलामा वडाको विद्यालयलाई सहयोग गर्नुलाई उनले संयोगमात्र नभएर अविश्वरणीय कार्यको संज्ञा पनि दिए । पोखरा उद्योग वाणिज्य संघले जनप्रतिनिधिविहीनताको अवस्थामा जनप्रतिनिधिको भूमिका खेलको स्मरण गर्दै उनले भने,‘हिजो पोखरा उद्योग वाणिज्य संघले सेमी–जनप्रतिनिधिको भूमिका निभाएको थियो, अहिलेको अवस्थामा हामी उहाँहरुसँग हातेमालो गर्दै अगाडि बढ्न चाहन्छौं ।’ उनले राजश्व वृद्धि गराउन एवं व्यावसायिक वातावरण निर्माणमा लाग्न संघ नेतृत्वसँग आग्रह पनि गरे ।

footwear zone

कार्यक्रम तथा संघका अध्यक्ष नारायण कोइरालाले आफूले कखरा सिकेको विद्यालयलाई संघको वार्षिकोत्सवको अवसरमा सहयोग गर्न पाउँदा खुसी लागेको बताए । पोखरा उद्योग वाणिज्य संघ सधैं समुन्नत पोखराको पक्षमा रहेको स्पष्ट पार्दै उनले विद्यालयस्तरबाटै उद्यमशीलता सिकाउने अभियान थालिनुपर्ने र सो अभियानलाई संघलेले सघाउने उद्घोष गरे ।

‘हामी उद्यमशीलता चाहन्छौं, यसका लागि विद्यालयस्तरमै स्वरोजगारमूलक पाठ्यक्रम र तालिम आयोजना हुन् भन्ने चाहना हो’,उनले भने,‘नविनसहित इच्छुक विद्यालयसँग हामी सहकार्य गर्न तयार छौँ ।’

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्रनिधी कोइरालाले पोखरा उद्योग वाणिज्य संघ र नविन स्कूल एउटै वडामा रहेको तथ्य पेश गर्दै नजिक भएकाबाट सहयोगको अपेक्षा बढी हुने यथार्थता बुझ्न संघ नेतृत्वसँग आग्रह गरे । पोखराको आर्थिक गतिविधिलाई चलायमान बनाउन संघ अझ सक्रिय हुनुपर्ने पनि उनको सुझाव थियो ।

पोउवा संघका महासचिव सुरेन्द्रमान विजूक्छेको संचालन रहेको कार्यक्रममा बोल्दै संघका वरिष्ठ उपाध्यक्ष पवनकुमार प्रजापतिले शिक्षाको विकासको लागि संघले यथाशक्य सहयोग गर्ने प्रतिवद्धता जनाए । पोखराको शिक्षा,स्वास्थ्य,पर्यटन र कृषिको विकासको लागि संघको स्थापनाकालदेखि भएका कामहरुको चर्चा गर्दै उनले भने,‘हामी अहिले पनि यहाँका शैक्षिक संस्थाहरुबाट बजार आवश्यकता अनुसारको जनशक्ति उत्पादन होस् भन्नेमा छौँ र सहयोग पनि गर्दछौँ ।’ विद्यालयका प्राचार्य शिरोमणि लामिछानेले पोउवा संघले विद्यालयलाई उपलब्ध गराएको छात्रवृत्ति,विद्यालय समयपछिको लागि शिक्षक व्यवस्था गरिदिएकोमा धन्यवाद ज्ञापन गरे । कार्यक्रममा संघका पदाधिकारी तथा कार्यसमिति सदस्यहरुको उपस्थिति रहेको थियो ।

You might also like

Comments are closed.