पशुपालक कृषकलाई झन्डै डेढ करोड अनुदान वितरण

गलकोट । बागलुङका पशुपालक किसानहरुले यो आर्थिक वर्षमा झन्डै डेढ करोड अनुदान पाएका छन् । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बागलुङले गण्डकी प्रदेश सरकारको एक करोड सात लाख ५० हजार रुपैयाँ र सङ्घीय सरकारको ५० लाख रुपैयाँ बजेट गरी जम्मा एक करोड ५७ लाख ५० हजार रुपैयाँबाट जिल्लाका १ सय २७ पशुपालक कृषक, फर्म तथा सहकारीहरुले अनुदान पाउन थालेका छन् ।

प्रदेश सरकारको साना पशुपन्छी तथा मत्स्य नमूना फर्म स्थापना तथा विस्तार कार्यक्रमअन्र्तगत भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले पशुपालक कृषकहरुलाई निवेदनका लागि आह्वान गरेकामा २ सय ६९ फार्मको आवेदन परेको थियो । ती मध्ये छनोटका विभिन्न आधार मूल्याङ्कन गर्दा ७० फार्महरुले एक लाख पाँच हजार रुपैयाँका दरले अनुदान पाउन स्वीकृत भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बागलुङका पशु अधिकृत केशवप्रसाद शर्माले जानकारी दिए ।

उनका अनुसार यो आर्थिक वर्षको स्वीकृत योजनाअनुसार साना पशुपन्छी तथा मत्स्य नमूना फर्म स्थापना र विस्तारका लागि २३ बाख्रापालन , १७ बङ्गुर, १६ गाईभँैसी र १४ कुखुरा फार्मले ७३ लाख ५० हजार रुपैयाँ अनुदान पाउनका लागि धमाधम सम्झौता गरिरहेका छन् ।

footwear zone

यस्तै पशु पकेट क्षेत्र स्थापना तथा विस्तार कार्यक्रमअन्तर्गत तीन सहकारी तथा समूहले २४ लाख रुपैयाँ अनुदान पाएका छन् । जिल्लाको काठेखोला गाउँपालिका–८ स्थित कादेश कृषि तथा पशुपालन समूह, निसीखोला गाउँपालिका–५ स्थित बडवानखोला मसालगाउँ नमूना कृषि सहकारी लिमिटेड र बागलुङ नगरपालिका–११ स्थित आफ्रे कृषक समूहले आठ लाख रुपैयाँका दरले अनुदान पाएका हुन् ।

यस्तै सङ्घीय सरकारको ५० लाख रुपैयाँ बजेटमा गलकोट नगरपालिकामा बाख्रा पकेट क्षेत्र र बागलुङ नगरपालिकामा बङ्गुर पकेट क्षेत्रका दागि २५ लाखका दरले अनुदान कार्यक्रम स्वीकृत भएको छ । जसमध्ये दुई पकेट क्षेत्रका उत्कृष्ट २५/२५ किसानलाई एक लाखका दरले ५० लाख रुपैयाँ अनुदान दिइनेछ । तर पकेट क्षेत्र अनुदान कार्यक्रम भने छनोटकै चरणमा रहेको छ ।

यस्तै भैँसी विकास कार्यक्रमअन्र्तगत पाला दुग्ध उत्पादक सहकारी संस्थामा आबद्ध किसानहरुले १० लाख रुपैयाँ अनुदान प्राप्त गरेका छन् । “दुई आर्थिक वर्षमा कुनै अनुदान नपाएका व्यक्ति, फर्म, सहकारी र समूहलाई अनुदान स्वीकृत गरिएको हो,” उनले भने, “छुट्टाछुट्टै अनुदान कार्यक्रममा छुट्टै मापदण्ड हुन्छ, स्थलगत अनुगमनका क्रममा मापदण्ड पुगेका, विदेशबाट फर्केका, यसअघि अनुदान नपाएका पशु किसानलाई प्राथमिकताका आधारमा छनोट गरिन्छ ।”

साना व्यावसायिक फर्मअन्तर्गत अनुदानमा आवेदन दिनका लागि बाख्रा १५ माउ, बङ्गुर पाँच माउ र भैँसी पाँच माउ, स्थानीय कुखुरा २ सय ५०, लियर्स जातको कुखुरा ५ सय र ब्वायलर एक हजार हुन आवश्यक छ ।

त्यसको अतिरिक्त फर्म रहेको जमिनको अवस्था, बजारीकरणको अवस्था, वैदेशिक रोजगारीबाट फर्केको, कृषकले ल्याएको तालिम लगायतको कुरालाई दृष्टिगत गर्दै अनुदान स्वीकृत गरिँदै आएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बागलुङका प्रमुख डा ऋषिराम सापकोटाले जानकारी दिए । प्रत्यक्ष रुपमा १ सय २७ कृषक लाभान्वित हुने भए पनि सहकारी र समूहमार्फत अप्रत्यक्ष अनुदान पाउने कृषकहरु धेरै छन् ।

You might also like

Comments are closed.