पोखरा । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड पोखराले आइपिओ भर्ने सम्पूर्णप्रति आभार व्यक्त गरेको छ । लघुवित्तका प्रमुख कार्यकारी अधिकृत बिमला योगी र अध्यक्ष वीर बहादुर अधिकारीले बुधबार विज्ञप्ति जारी गरी आभार व्यक्त गरेका हुन् ।
‘२०७८ माघ २१ गतेदेखि सर्वसाधारणमा शेयर विक्री खुला गरेकोमा २०७८ मा २५ गते बेलुकीसम्म करिब ६८ गुणाले बढी आवेदन गरी यस वित्तीय संस्थालाई अपार माया र विश्वास गर्नुभएकोमा यस वित्तीय संस्था यहाँहरु प्रति आभार प्रकट गर्दछ,’ विज्ञप्तिमा उल्लेख गरिएको छ, ‘आगामी दिनमा यहाँहरुले गर्नु भएको माया र विश्वासलाई प्रेरणाको श्रोतको रुपमा लिई ग्राहकमैत्री सेवाबाट सम्पूर्ण सरोकारवालाहरुको विश्वास जित्ने गरी काम गर्ने प्रतिवद्धता व्यक्त गर्दछौं ।’
माघ २१ गतेबाट निष्काशन भएको जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको प्राथमिक निष्काशनमा चौथो तथा अन्तिम दिन ६७।८६ गुणाले ओभर सब्सक्राइब भएको थियो । प्राप्त आवेदनको हिसाबले यो निष्काशनमा अहिलेसम्मकै सर्वाधिक आवेदन प्राप्त भएको हो ।

निष्काशन गरिएको ५ लाख २२ हजार साधारण कित्ता मध्ये सामुहिक लगानी कोषलाई ५ प्रतिशत तथा कर्मचारीलाई ०।५ प्रतिशत छुट्याई बाँकी रहेको ४ लाख ८७ हजार ९ सय कित्ता शेयर सर्वसाधारणलाई निष्काशन गरिएको थियो ।
निष्काशनको अन्तिम तथा चौथो दिन मंगलबार अपरान्ह ५ बजेसम्म २७ लाख ०६ हजार ७ सय ६७ जना सर्वसाधारण लगानीकर्ताहरुबाट ३ करोड ३१ लाख १३ हजार ३ सय कित्ता शेयरका लागि ३ अर्ब ३१ करोड १३ लाख ३० हजार रकमको आवेदन परेको छ । यो आइपिओको निष्काशन तथा बिक्री प्रबन्धकको कार्य प्रभु क्यापिटल लिमिटेडले गरेको हो ।
यो आइपिओमा लगानीकर्ताहरुले न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार २ सय २० कित्तासम्म आवेदन दिन पाउने व्यवस्था थियो ।




Comments are closed.