खलङ्गा । जुम्ला सदरमुकाम खलङ्गा बजारमा रहेको जुम्ला विमानस्थल स्तरोन्नतिका लागि सङ्घीय सरकारका संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेमबहादुर आले र कर्णाली प्रदेशका भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री पदमबहादुर रोकायबीच छलफल भएको छ । भेटमा दुईमन्त्रीबीच उक्त धावनमार्ग स्तरोन्नति गरेर ठूला जहाज अवतरण गराउने विषयमा पहिलो चरणमा छलफल भएको जानकारी दिँदै मन्त्री रोकायका स्वकीय सचिव अमर रोकायले भने, “विमानस्थलको धावनमार्ग विस्तारका बारेमा पर्यटनमन्त्री आले सकरात्मक देखिनुभएको छ ।”
दुर्गम क्षेत्रको हवाई सेवा व्यवस्थापनमा निकै चासो देखाएका मन्त्री आलेले धावनमार्ग विस्तारका लागि तत्काल पहल थालिने आश्वासन दिएको उनको भनाइ थियो । यस विमानस्थलमा ठूलो जहाज अहिले अवतरण गर्न नसक्दा कर्णालीको हवाई यात्रा निकै कष्टकर बनेको छ ।
विमास्थल स्तरोन्नति गरेर ठूलो जहाज सञ्चालनमा ल्याउन सके यहाँका नागरिकलाई निकै सहज हुने देखिन्छ । यस कार्यका लागि सङ्घीय सरकार सकरात्मक रहेकाले प्रदेश सरकार पनि प्रतिबद्ध भएको बताइएको छ । पर्यटनमन्त्री आलेले तत्काल जुम्लामा प्राविधिक टोली खटाइने बताएको थिए ।

प्राविधिक टोलीको प्रतिवेदन आएपछि जग्गा व्यवस्थापन प्रक्रिया अघि बढाइने दुईमन्त्रीबीच छलफल भएको थियो । मन्त्री रोकायका अनुसार तत्काल तीन सय मिटर धावनमार्ग विस्तार गर्दै थप स्तरोन्नतिको प्रक्रिया क्रमशः अघि बढाइने भएको छ । कर्णालीमा ठूला जहाज अवतरण गर्न सक्ने विमानस्थल छैनन् । त्यसका लागि जुम्ला विमानस्थल नै उपयुक्त विकल्प हो ।
उक्त विमानस्थलको धावनमार्ग ६ सय ७५ मिटर रहेकाले साना जहाज मात्रै अवतरण हुँदै आएका छन् तर धावनमार्गलाई एक हजार ८ सय मिटरदेखि एकहजार ५ सय मिटरसम्म विस्तार गर्नसके ठूला जहाज सजिलै अवतरण गर्न सकिने विमानस्थल कार्यालयले जनाएको छ ।




Comments are closed.