राप्ती नदीमा गोही छोडियो

चितवन । चितवन राष्ट्रिय निकुञ्जको कसरास्थित गोही प्रजनन् केन्द्रमा हुर्काइएका १५ वटा घडियाल गोही बुधबार कसरास्थित राप्ती नदीमा छाडिएको छ । पाँच भाले र १० पोथी गोही नदीमा छाडिएको हो । यीसँगै यस वर्ष ८७ वटा गोही नदीमा छाडिएको हो ।

यसै साता थप केही गोही नदीमा छाड्ने निकुञ्जको तयारी छ । यस आर्थिक वर्षमा १ सय हाराहारी गोही छाडिने तयारी रहेको सहायक संरक्षण अधिकृत सरोजमणि पौडेलले जानकारी दिए । उनका अनुसार यस अर्थिक वर्ष लागेपछि हालसम्म राप्ती नदीमा ६२, नारायणीमा २० र कोसीमा २० गोही छाडिएको छ । थप केही गोही राप्तीमा छाड्ने तयारी छ ।

पौडेलका अनुसार मङ्सिर १९ गते कसरा नजिकै राप्ती नदीमा १२ वटा गोही छाडिएको थियो । दुई भाले र १० पोथी नदीमा छाडिएको हो । माघ १९ गते पथरीस्थित कोसी नदीमा तीन भाले र १७ पोथी गरी २० वटा गोही छाडिएको थियो । माघ २३ गते जनकपुरघाटस्थित राप्ती नदीमा तीन भाले र १७ पोथी छाडिएको पौडेलले जानकारी दिए ।

footwear zone

यही माघ २९ गते नवलपरासीस्थित दिव्यपुरी घाटबाट नारायणी नदीमा दुई भाले र १८ पोथी छाडिएको थियो । हालसम्म विभिन्न नदीमा एक हजार ६ सय ७२ गोही छाडिएको उनले बताए ।

यस वर्ष राप्ती र नारायणीका सात वटा गुँडबाट सङ्कलन गरिएका गोहीका अण्डाबाट २ सय ५८ वटा बच्चा कोरलिएका छन् । ती नदीमा गोहीका गुँडमा रहेका अण्डा प्रजनन् केन्द्रमा ल्याएर बच्चा कोरल्ने गरिन्छ । यही फागुन १५ गतेदेखि दुवै नदीमा गोहीको गुँड अनुगमन गरिँदै छ ।

केन्द्रमा हुर्किएकामध्ये सबैभन्दा धेरै गोही निकुञ्ज हुँदै बग्ने राप्ती नदीमा छाडिएका हुन् । हालसम्म राप्तीमा ८ सय ८२, नारायणीमा ४ सय १९, बबईमा १ सय १०, सप्तकोसीमा १ सय १५, कर्णालीमा ४१ र कालीगण्डकीमा ३५ वटा गोही छोडिएका छन् ।

हाल निकुञ्जको घडियाल संरक्षण तथा प्रजनन् केन्द्रमा ४ सय ३५ वटा गोही रहेका छन् । प्रजनन् केन्द्रमा एउटा मात्रै वयस्क भाले घडियाल गोही रहेको छ । राप्ती र नारायणी नदीमा पछिल्लो पटक गरिएको सर्वेक्षणमा पाँच वटा भाले गोही भेटिएको निकुञ्जले जनाएको छ । भालेको अभाव देखिएपछि केही वर्षअघि बर्दियाबाट एउटा भाले गोही ल्याएर राप्तीमा छाडिएको थियो ।

You might also like

Comments are closed.