काठमाडौं । युवा उद्यमी प्रवल जंग पाण्डेले देश आर्थिक मुद्धाहरुमा केन्द्रित हुनुपर्ने बताएका छन् । गणतन्त्र नेपाल स्थापना भइसकेपछि राजनीतिक मुद्धाहरु समाधान भएको विश्वास गरिए पनि सत्यता त्यस्तो नरहेको बताए ।
सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै पाण्डेले देश आर्थिक मुद्धामा केन्द्रित भएर अर्थतन्त्रले लय लिनुपर्नेमा जोड दिए । ‘संघीय गणतन्त्र आइसकेपछि लाग्द थियो, अब सबै राजनीतिक मुद्धाहरु समाधान भइसक्यो, अब आर्थिक मुद्धाहरुमा देश केन्द्रित हुनेछ र हाम्रो अर्थतन्त्रले लय लिन्छ ।’
आफूहरुको सोच भ्रममा परिणत भएकोमा उनले चिन्ता व्यक्त गरेका छन् । ‘तर हामी भ्रममा रहेछौं । यहाँ त राजनीतिक दलहरुले राजनीतिको रोटी सेक्ने मुद्धाहरु आफै सृजना गर्दा रहेछन् । आज ५५ अर्बको लागि पुरै देश र जनतालाई फेरी विभाजन गरेर राजनीति गरिदैछ,’ उनले भनेका छन्, ‘अहिले त हामीले कोभिड पछि पर्यटकलाई कसरी नेपालमा आकर्षित गर्ने भनेर बहस गर्नुपर्ने थियो ।’

नेपाल सिमेन्ट उत्पादनमा आत्मनिर्भर भइसकेको बताउँदै उनले कसरी निर्यात गर्न सकिन्छ भनेर बहस गर्नुपर्ने उनको भनाइ छ । ‘अहिले त हामी आत्मनिर्भर भइसकेको सिमेन्ट उत्पादनलाई कसरी निर्यात गर्न सकिन्छ भनेर बहस गर्नु पर्ने थियो,’ उनले लेखेका छन्, ‘अहिले त कोभिडले थलिएको साना तथा मझौला व्यवसायीलाई कसरी पूर्ववत अवस्थामा पुर्याउने भन्ने बहस गर्नुपर्ने थियो ।’
पाण्डे लेख्छन्, ‘अहिले त हामीले तुलनात्मक लाभ हुने बस्तु नेपाल मै उत्पादन गर्न सकिन्छ भनेर बहस गर्नुपर्ने थियो । अहिले त हामीले नेपाल को फलाम खानी कसरी चाडो भन्दा चाडो सञ्चालन गरेर आयात प्रतिस्थापन गर्न सकिन्छ भनेर बहस गर्नुपर्ने थियो । अहिले त यस्तो भौगोलिक विविधताले भरिएको मुलुकमा कृषि, पशुपालनलाई कसरी आत्मनिर्भर बनाउने भनेर बहस गर्नुपर्ने थियो ।’




Comments are closed.