सन्तोष गौतम/म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–९ स्थित तत्कालीन पर्वत राज्यको राजधानी ढोलठानामा पर्यटकीय पूर्वाधार निर्माण गरिएको छ । ऐतिहासिकस्थल संरक्षण गरी पर्यटक भित्र्याउनका लागि पूर्वाधार निर्माणसँगै स्थानीयवासी पनि प्रचारप्रसारमा जुटेका छन् । पछिल्लो चार वर्षको अवधिमा ढोलठानाको पूर्वाधार निर्माणमा करिब रु ३० लाख लगानी भएको बेनी नगरपालिका–९ घतानका वडाध्यक्ष बेलबहादुर चोखालले बताए ।
“सडक, पदमार्ग, उद्यान, सार्वजनिक शौचालय र विश्रामस्थल निर्माण गरिएको छ,” उनले भने, “बेनीदेखि पर्छै, घतानकोत, ढोलठाना, जगन्नाथ हुँदै टोड्के जोड्ने धार्मिक पर्यटकीय पदमार्गको परिकल्पना गरेर पूर्वाधार बनाएका हौं ।” डिभिजन वन कार्यालयको रु पाँच लाखको सहयोगमा ढोलठानामा नीलबराह सामुदायिक वन उपभोक्ता समूहले सार्वजनिक शौचालय, पदमार्ग र बगैँचा निर्माण गरेर पार्क बनाएको छ । चमचा डिलदेखि ढोलठानासम्म २०० मिटर ढुङ्गाको सिँढी चिरेर नयाँ पदमार्ग र प्रतीक्षालय निर्माण गरिएको वडा सदस्य भेषबहादुर सेनले जानकारी दिए ।
“गत आर्थिक वर्षमा ढोलठाना जोड्ने सडक स्तरोन्नतिमा रु नौ लाख, पदमार्ग निर्माणमा रु चार लाख र प्रतीक्षालय बनाउन रु दुई लाख खर्च भएको थियो,” उनले भने, “यस वर्ष रु एक लाख ५० हजारमा छ हजार लिटर क्षमताको ट्याङ्कीसहितको खानेपानी, रु दुई लाखमा रेलिङ, पदमार्ग र चौतारी बनाइएको छ ।”

विसं २०७७ मा रु छ लाख ३३ हजार ३३३ को लागतमा तोरीपानीदेखि ढोलठाना जोड्ने ८०० मिटर पदमार्ग निर्माण भएको थियो । राजबम मल्लको समयमा १६३१ सालदेखि राजाहरु हिउँदका चार महिना बेनी र अरू आठ महिना ढोलठानामा बसेर तत्कालीन पर्वत राज्य सञ्चालन गरेको इतिहास छ । पर्वत राज्य नेपालमा विलय भएको १८४३ सालसम्म ढोलठानामा सो राज्यको राजधानी रहेको थियो ।
नीलबराह सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष सागर बानियाँले ढोलठानामा उद्यान निर्माणका क्रममा भेटिएका प्राचीन सामग्री सुरक्षित राखिएको बताए । उनका अनुसार तत्कालीन दरबार निर्माणमा प्रयोग भएका काठ, चट्नी र नुन पिस्ने सिलौटो, झिङ्गटी, घरका पिल्लर र इँटाहरु भेटिएको थियो ।
समुन्द्री सतहदेखि एक हजार ८८० मिटर उचाइमा अवस्थित ढोलठानाबाट धवलागिरि, अन्नपूर्ण, नीलगिरिलगायत दर्जनौँ हिमाल तथा सूर्योदयको मनमोहक दृश्य अवलोकन गर्न सकिन्छ । अहिले यहाँ बेनी र अन्य ठाउँबाट आएका पर्यटकको चहलपहल बढेको स्थानीयवासी चित्र सेनले बताउनुभयो ।
“नागबेली परेर बगेको म्याग्दी नदीका साथै पर्वत र बागलुङका बजार तथा बस्ती अवलोकन गर्न पाउनु ढोलठानाको थप विशेषता हो,” उनले भने, “सडक, यातायात सुविधा र प्रचारप्रसारसँगै चहलपहल पनि बढेको छ ।” ढोलठानाको पर्यटन प्रवद्र्धन गर्नका लागि शनिबार सो ठाउँको जानकारी दिनेगरी होडिङ बोर्ड राखिएको जेसिजका जिल्ला अध्यक्ष सन्दीप खत्रीले बताए । बेनीदेखि ढोलठाना हाइकिङका लागि उपयुक्त भएको उनको भनाइ थियो ।




Comments are closed.