काठमाडौं । नाडाका अध्यक्ष धुव थापाको नेतृत्वमा गएको ७ सदस्यीय प्रतिनिधि मण्डलले भन्सार विभागका नवनियुक्त महानिर्देशक कमल भट्टराईलाई स्वागत गर्दै भन्सार सम्बन्धी नीतिगत सुझावहरु पेश गरेका छन् ।
भेटमा अध्यक्ष थापाले नाडाले स्वच्छ व्यवसायमा विश्वास राख्दै आएको भन्दै भन्सार मूल्याङ्कनमा देखिएका विभिन्न समस्याहरुबारे छलफल गरे । सोही क्रममा अध्यक्ष थापाले नेपाल विश्व व्यापार संगठनको सदस्य भइसकेको अवस्थामा भन्सार मूल्याङ्कन सन्दर्भसूचि नै खारेजगरी भन्सारमा माल बस्तुको यथार्थ घोषणा र सही बर्गीकरण गराई भन्सार मूल्याङ्कन पद्धतीलाई यथार्थ र कारोबार मूल्यमा आधारित बनाउने व्यवस्थाका लागि आवश्यक पहल गरिदिन आग्रह समेत गरेका छन् ।


छलफलमा नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठले सरकारले गरेको एम्बुलेन्सको बर्गीकरणमा केही परिमार्जन गरिनुपर्ने बताए । आयातित सवारी साधनहरुको भन्सार जाँचपासमा पनि ढिलाई भइरहेकाले त्यसको समाधानका लागि अनुरोध गरे । अर्का उपाध्यक्ष सुनिल रिजालले एलसी खोलेर सामान आयात गर्दा परिरहेको समस्याहरुबारे बताउँदै एउटै बस्तुमा भिन्नभिन्न भन्सार कार्यालयहरुमा एचएस कोडको परिभाषामा फरक पर्ने गरेको, बे्रक लाइनिङ जस्ता अत्यावश्यकीय बस्तुमा पनि शतप्रतिशत नगद मार्जिन राखि एलसी खोल्नु पर्ने नियमले व्यवसायीहरुलाई समस्या परेकाले त्यसको समाधानका लागि पहल गरि दिनु हुन अनुरोध गरे ।
नाडाका महासचिव सुरेन्द्र उप्रेतीले २०७३ असार २६ गते भन्सार विभाग र नाडाबीच भएको सहमतिबारे जानकारी गराउँदै विभागले अनलाइन पेमेण्टलाई मान्यता दिएसंगै नेपाल राष्ट्र बैंकको चेकलाई पनि मान्यता दिने व्यवस्थाका लागि आग्रह गनरे । महासचिव उप्रेतीले नेपालमा व्याट्री उत्पादनका संभावनाहरु बढ्दै गएको क्रममा सबै किसिमका सवारी साधनहरुमा प्रयोग हुने व्याट्रीहरुको उत्पादनलाई प्रोत्साहित गर्न त्यसका लागि आवश्यक हुने सवै प्रकारका कच्चा पदार्थहरुमा १ प्रतिशत मात्र भन्सार महशुल लाग्ने व्यवस्थाका लागि अनुरोध गरे ।
उक्त अवसरमा बोल्दै महानिर्देशक भट्टराईले भन्सार विभागसंग विगतमा भएको सहमतिमा केही विषय संशोधन गर्नुपरेमा दुवै पक्षको सहमतिमा संशोधन गर्न सकिने बताए । छलफल तथा भेटघाटमा सचिव विक्रम सिंघानिया, सहकोषाध्यक्ष पंकज अग्रवाल र एशोसिएशन सचिव सुरेन्द्र प्रधान लगायतको उपस्थिति थियो ।




Comments are closed.